![देशैभर बालेन र घण्टीको लहर छ, सर्लाही–४ मा १० हजार मतान्तरले चुनाव जित्छु– अमरेशकुमार [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Amreshkumar_Singh_WMNquf2jN5.jpg)
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही–४ यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासोको विषय बनेको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चर्चित उम्मेदवार डा. अमरेशकुमार सिंह पनि चुनावी मैदानमा छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ पछि धेरैको ध्यान सर्लाही–४ मै छ। विशेष महाधिवेशनबाट सभापति बनेलगत्तै गगनले ‘मधेसलाई जोड्न भन्दै’ सर्लाहीबाट चुनाव लड्ने निर्णय गरेका थिए। कांग्रेस सभापति थापा आएपछि सर्लाही–४ को रौनक बढेको हो।
युवा मात्र नभई महिला, वृद्धवृद्धा र स्कुले विद्यार्थीसमेत सर्लाही–४ मा भइरहेको चुनावी चहलपहलबारे गफ गरिरहेका भेटिन्छन्। अमरेशले पटक–पटक चुनाव जितेको क्षेत्रमा गगनको प्रवेशले सर्लाही–४ मात्र होइन, मधेसका जिल्ला र देशकै ध्यान आकृष्ट गरेको छ। यस्तो बेला रास्वपा उम्मेदवार सिंह भने यसपटकको प्रतिस्पर्धालाई विगतको भन्दा अझ सहज रूपमा लिएको बताउँछन्।
सर्लाहीको दक्षिणी भेग बलरास्थित आफ्नै निवासमा लोकान्तरसँग कुरा गर्दै सिंहले १० हजारको फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गरे। 'कांग्रेस सभापति मेरो क्षेत्रमा आउनुभएको छ, म उहाँलाई स्वागत गर्छु। मेरो घरमा आउनुभयो भने खाना खुवाउँछु तर मत दिन मिल्दैन। उहाँ मधेशको बेटा बन्न आउनुभएको छ, म जन्मजातै यहाँको धर्तीपुत्र हुँ,' अमरेशले भने।
स्वतन्त्र सांसदका रूपमा विगतमा आफूले गरेको कामबाट जनता खुसी रहेको उनले बताए। 'मधेशमा भएको असमान बजेट वितरणप्रति मैले संसद्मा विद्रोह गरेको हुँ। भ्रष्टाचारको विरोधमा संसद्भित्र सर्ट खोलेको हुँ। विगतमा गरेका कामकै कारण मलाई चुनाव जित्न गाह्रो छैन,' उनले भने, 'मेरो प्रतिस्पर्धीलाई यहाँका पाँचवटा टोलको नाम थाहा छैन। मतदातासँग कुरा गर्न दोभासे चाहिन्छ।'
पछिल्ला तीन निर्वाचन लगातार जितेका अमरेशले यसपटकको चुनाव मधेशका लागि केही विशेष रहेको बताए। 'मधेश र पहाडको खाडल मेटिएको छ। काठमाडौंमा विरोध गरेर मधेशवादी बन्ने र श्रीमतीलाई समानुपातिक सांसद बनाउने मधेशी पार्टीको पसल बन्द हुँदैछ,' उनले भने।
मधेशमा रास्वपा र बालेनप्रतिको लहर बढेकाले आफूलाई चुनाव जित्न कुनै समस्या नरहेको उनको भनाइ छ। 'हिजो एक्लै लड्दा पनि जनताले जिताएका हुन्, जतिबेला मेरो चुनाव चिह्न परिचित थिएन। यसपटक त म एउटा राष्ट्रिय पार्टीको उम्मेदवार हुँ। घन्टीको लहर देशभरि चलिरहेको समयमा मलाई चुनाव जित्न पहिलाभन्दा सहज छ,' उनले भने।
पार्टी सभापतिलाई सर्लाही–४ नफाप्ने उनले तर्क गरे। 'गजेन्द्रनारायण सिंह पार्टीको सभापति भएका बेला महन्थ ठाकुरले चुनाव हराउनुभएको थियो। महन्थ तमलोपाको सभापति भएको बेला मैले चुनाव हराएको थिएँ। यो क्षेत्र पार्टी सभापतिलाई फाप्ने ठाउँ होइन,' अमरेशले दाबी गरे।
फागुन २१ को चुनावबाट रास्वपाले बहुमत ल्याउने दाबी गर्दै उनले नयाँ सरकारले केही महत्त्वपूर्ण निर्णय लिने बताए। 'यसपटक केवल सरकार परिवर्तन मात्र होइन, सत्ता परिवर्तन गर्न आन्दोलन भएको हो। जसरी २०४६ सालमा पञ्चायत फालेर बहुदल आयो र २०६३ सालपछि गणतन्त्र आयो,' अमरेशले भने, 'बालेनको नेतृत्वमा सरकार बनेपछि सुशासनको पक्षमा ठोस काम हुनेछ।'
नेपाली सेना लगायत राष्ट्रिय संस्थामा गरिएको दलीयकरण अन्त्य गरेर सुशासनका लागि काम थाल्ने उनले बताए। 'न्यायपालिका, संवैधानिक निकाय र सुरक्षा निकायमा भइरहेको दलीयकरण अन्त्य गरेर राष्ट्रको पक्षमा काम गर्छौँ। संविधानको सही कार्यान्वयनका लागि सत्ता परिवर्तन गर्छौँ,' उनले भने।
अमरेशसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा: