२४ जेठ २०८३, आइतबार
उम्मेदवारसँग संवाद

चुनाव जित्नलाई कुनै समस्या छैन, संगठन नै हाम्रो मुख्य आधार हो- गगन थापा [भिडियो]

फागुन २, २०८२
सर्लाही
चुनाव जित्नलाई कुनै समस्या छैन, संगठन नै हाम्रो मुख्य आधार हो- गगन थापा [भिडियो]

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनाव लड्न सर्लाही झरेपछि सिंगो मधेशमा त्यसको चर्चा भइरहेको छ । गगन उम्मेदवार रहेको सर्लाही ४ मा झन् रौनक छ ।

पछिल्लो पटक स्वतन्त्र र त्यसअघि कांग्रेसबाट चुनाव जितेका डा. अमरेशकुमार सिंहसँग सर्लाहीमा गगनको प्रतिस्पर्धा हुँदैछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनमात्र रास्वपा प्रवेश गरेर अमरेश चुनावी मैदानमा छन् ।

कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका गगन सर्लाही आएपछि यो क्षेत्र मधेश मात्र नभइ सिंगो देश र अन्तराष्ट्रिय रूपमा समेत चासोको विषय बनेको छ । टोलटोलमा अहिले चुनावको कुरा भइरहेको छ ।

यसअघि काठमाडौंबाट लगातार चुनाव जित्दै आएका कांग्रेस सभापति थापाले लगातार चौथो जितका लागि सर्लाहीमा मेहनत गरिरहेका छन् । मतदाताका कुरा सुन्ने र कार्यकर्ता भेलामा व्यस्त रहेका थापाले चुनाव जित्न सहज रहेको बताए ।

निर्वाचन क्षेत्र सर्लाहीको मानपुरमा लोकान्तरसँग कुरा गर्दै थापाले संगठन नै चुनाव जित्ने मुख्य आधार रहेको बताए । ‘हामी नयाँ र पुरानाको भाष्य चिर्न खोज्दैछौं । पुरानो संस्थाले समयलाई बुझौं, समय सन्दर्भले जे मागेको छ, त्यसलाई जोडौं भनेर लागेका छौं’ उनले भने ।

आफू सर्लाही आएपछि पार्टीमा असन्तुष्टि व्यक्त गरेर विभिन्न मधेशकेन्द्रित दलमा लागेका मान्छे पनि कांग्रेसमा फर्कन लागेको उनले बताए । ‘कांग्रेस पुरानो र नयाँको भाष्यमा प्रवेश गर्ने नै होइन, हामी ००७ सालको जस्तो भएर आएको हो, ०१५ सालको कांग्रेसले सपना देखाएर दुईतिहाइ मत पाएको थियो । हो; हामी त्यस्तै बनेर आएका छौं’, थापाले लोकान्तरसँग भने ।

चुनाव जितेपछि सांसद हराउने गरेको भन्ने गुनासो आफूले पाएको र त्यसलाई हटाउन सर्लाहीमै सांसदको कार्यालय खोल्ने उनले बताए । ‘तपाईं अहिले जसरी उपलब्ध हुनुभएको छ, पछि पनि उपस्थित हुनुहुन्छ कि हुँदैन भन्ने संशय छ । त्यसलाई हटाउने कोसिस गरेको छु’, थापाले भने ।

कांग्रेस उम्मेदवार थापाले सर्लाहीको योजनाबद्ध विकासका लागि आफूले पहल शुरू गरिसकेको जानकारी दिए ।

सभापति थापाले यसपटकको चुनावमा समानुपातिकको भोटमा मेहनत र प्रत्यक्षमा सुधार गर्ने बताए । ‘कांग्रेसका  १० लाख क्रियाशील सदस्य छन् उनीहरूले २ जनालाई कन्भिन्स गर्दा मात्र धेरै सुधार हुन्छ । यो २० दिनमा हामी त्यो गर्छौं । समानुपातिकमा थप मेहनत गर्नुपर्नेछ, प्रत्यक्षमा सुधार गर्दै जाने हो’, उनले भने ।

कांग्रेस सभापतिको रूपमा देश मिलाउनु पर्ने भएकाले सबैलाई मिलाएर जाने नीति लिने उनले बताए । ‘रूपान्तरित कांग्रेसको पक्षमा मतदातामा उत्साह छ, त्यसलाई मतमा बदल्न कोसिस गरिरहेका छौं’, उनले भने ।

कांग्रेसको चुनावी रणनीतिबारे गगनसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्