![म मन्त्री वा प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन, देश परिवर्तन गर्न आएको हो : ऋषि धमाला [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Amreshkumar_Singh_7CZeo9joV3.jpg)
सञ्चार कर्ममा भिन्न पहिचान बनाएका ऋषि धमला पत्रकारिताको भारी बिसाएर चुनावी मैदानमा होमिएका छन्। धादिङमा जन्मिएर र काठमाडौंलाई कर्मथलो बनाएका धमला चुनाव लड्न भने मधेश झरेका छन्। जेनजी आन्दोलनपश्चात् उनको संरक्षकत्वमा 'जनादेश' नामको पार्टी पनि बन्यो। आफ्नै श्रीमतीलाई फ्रन्टलाइनर बनाएर उनले पार्टी खोले र आफू संरक्षक बसे। पार्टी खुलेको केही समयमै उनले प्रभु शाहसँग सहकार्य गर्दै आम जनता पार्टीबाट चुनाव लड्ने निधो गरे। श्रीमती एलिजा गौतमलाई समानुपातिकतर्फ १ नम्बरमा राखिएको छ। हाल धमला दम्पती चुनाव प्रचार गर्दै रौतहट क्षेत्र नम्बर ४ मा घुमिरहेका छन्।
प्रचारप्रसारको क्रममा पनि अनेक क्रियाकलाप गर्दै सबैको ध्यान खिच्न सफल भएका उनै धमलासँग रौतहट क्षेत्र नम्बर ४ पुगेर लोकान्तरका अजय अनुरागी र रोमन आचार्यले संवाद गरेका छन्। प्रस्तुत छ, धमलासँग गरिएको संवाद:
पत्रकारिता छाडेर राजनीतिमा किन आउनुभयो?
म राजनीतिमा आउनुपर्ने चार/पाँच वटा कारण छन्। मैले ३५ वर्ष पत्रकारिता गरेर प्रश्न सोधेँ। फिल्डमा गएर बुम समातेँ। जनताको माग सम्बोधन भएन भनेर खबरदारी गरेँ। सडक किन पिच भएन, भ्रष्टाचार किन भयो, देशमा सुशासन किन भएन र किन देश बनेन भनेर प्रश्न गरेँ। बेथिति, अन्याय र अत्याचार किन बढ्यो? नेताहरूको व्यक्तिगत स्वार्थमा देशको राजनीति केन्द्रित भयो भनेर प्रश्न सोधेँ। चुनाव जितेर गएपछि जनताको पीडाबारे कसैले मतलब गरेन। २०४६ सालमा पत्रकारिता गर्दा नै प्रजातन्त्रको लागि म सात दिन हिरासतमा बसेको मान्छे हो।
संविधान बन्यो तर, त्यो सबैलाई स्वीकार्य भएन। त्यसतर्फ म जान चाहन्न। त्यसपश्चात् कांग्रेस–एमाले सरकार, कहिले माओवादी, कांग्रेस र एमालेका सरकारहरू बनिरहे। बहुमतको सरकार पनि नबनेको होइन। मैले पत्रकारिताको माध्यमबाट धेरै प्रश्नहरू सोधेँ, ती प्रश्नको चित्तबुझ्दो जवाफ कोहीबाट पनि आएन। नेताहरूले खाली झुट बोले। "मैले काम गरेको छु, जनता खुसी छन्, विकासको लहर हेर्न जानुहोस् न" भन्दै स्टुडियोबाट कराए। विकास हेर्न म गाउँ-गाउँ देशैभरि गएँ र म यहाँ चुनाव लड्न आएँ।
तपाईंले आम जनता पार्टी किन रोज्नुभयो? धादिङको मान्छे चुनाव लड्न रौतहट नै किन आउनुभयो?
जेनजी आन्दोलनपश्चात् मलाई राजनीतिमा आउनुपर्छ भनेर धेरै पार्टीबाट अफर आएको थियो। गिरिजाप्रसाद कोइरालाले २०६४ मै धादिङबाट उम्मेदवार बन्नुहोस् भनेर प्रस्ताव गर्नुभएको थियो। मैले मानिनँ। २०७० सालमा सुशील कोइरालाले धादिङबाट चुनाव लड्नुहोस् भन्नुभएको थियो, मैले मानिनँ। २०७४ सालको निर्वाचनमा प्रचण्ड र केपी शर्मा ओलीले बोलाएर चुनाव लड्न आउनुहोस् भन्नुभएको थियो, मैले मानिनँ। २०७९ सालमा धेरै पार्टीले प्रस्ताव गरेका थिए, मैले त्यसबेला पनि मानिनँ।
रास्वपाले अहिले पत्रकार तथा सेलिब्रेटीहरूलाई चुनाव लड्ने अफर दिएको छ। तपाईंलाई प्रस्ताव आएन?
गरेको थियो। बालेन शाहले मलाई २ पटक बोलाएर "तपाईं आउनुहोस्, हाम्रै पार्टीबाट चुनाव लड्नुहोस्" भन्नुभएको थियो। हामीले पनि जेनजी आन्दोलनपश्चात् जनादेश पार्टी खोलेका थियौँ। जनादेश पार्टी र आम जनता पार्टीबीच एउटा सहमति भयो, मोबाइल चिह्न लिने। अहिले म मोबाइल चिह्न लिएर मात्र आएको हो। मैले चुनाव चिह्न सापट लिएको हो।
अहिले पनि तपाईं जनादेश पार्टीकै नेता हो?
हो। म आजको दिनमा प्रमुख संरक्षक जनादेश पार्टीकै हो। रमण कर्णजी जनादेश पार्टीकै अध्यक्ष हो। त्यसैले हामी एउटा सहकार्यमा छौँ।
अरू दलहरूसँग सहकार्य गर्ने अवसर हुँदाहुँदै प्रभु शाहको नयाँ दलसँग सहकार्य गर्ने जोखिम किन लिनुभयो?
रौतहटमा प्रभु शाहले राम्रो काम गर्नुभएको छ। मैले उहाँसँग सहकार्य गर्नुपर्ने तीन वटा कारण छ। उहाँकी श्रीमती मौलापुर नगरपालिकाको मेयर भएर शिक्षा, स्वास्थ्य सबै फ्री गर्नुभएको छ। कुनै घरमा पैसा अभावमा दिदीबहिनी र चेलीले बिहे गर्न पाएनन् भने २५ हजार दिएर भए पनि विवाह गराइदिने वातावरण छ। प्रभु शाहले भ्रष्टाचार अन्त्यको कुरा गर्नुभयो। दलतन्त्रको कुरा गर्नुभयो। त्यसकारण म रौतहटमा आएको छु। शिक्षामा समस्या छ। स्वास्थ्यमा समस्या छ। अस्पताल राम्रो छैन, नागरिकले उपचार पाउँदैनन्। म धेरै ठाउँमा गएको छु। मन रुन्छ।
गिरिजाप्रसाद कोइरालाले २०६४ सालमै मलाई उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो। २०७० मा सुशील कोइरालाले, २०७४ मा प्रचण्ड र केपी ओलीले पनि भन्नुभयो। मैले मानिनँ। २०७९ मा धेरै पार्टीले प्रस्ताव गरे, मैले मानिनँ। जेनजी आन्दोलनपछि बालेन शाहले मलाई दुई पटक बोलाएर हाम्रै पार्टीबाट चुनाव लड्नुहोस् भन्नुभएको थियो, मैले मानिनँ।
यो सबै समस्याको अपजस प्रभु शाहले पनि लिनु पर्दैन र?
उहाँले आफ्नो क्षेत्र बनाउनुभयो। उहाँले क्षेत्र नम्बर ४ मा पनि रोडहरू बनाउनुभएको छ। उहाँले पनि जिम्मेवारी लिनुपर्ला। तर, क्षेत्र नम्बर ४ बाट जित्ने नेताहरूले काम गरेनन्। माधव नेपालले चुनाव जितेर प्रधानमन्त्री बन्नुभयो। तर काम भएन।
तपाईंले यहाँ रोजगारी दिनुहुन्छ?
म रोजगारी दिन्छु। उद्योगधन्दाको कुरा गरेको छु। मैले बहुराष्ट्रिय कम्पनीहरूलाई यहाँ ल्याउने कुरा गरेको छु।
ल्याउन सक्नुहुन्छ?
किन नसक्ने? त्यसको योजना र कार्यक्रम छ। म त्यसै राजनीतिमा आएको त होइन नि! म त धेरै जोखिम उठाएर आएको हुँ। किनभने यहाँ न पार्टी संगठन छ न मेरो जन्मस्थान हो। मैले ३५ वर्षको पत्रकारिता यात्रा विराम गरेर आएको छु।
विराम कि पूर्णविराम हो पत्रकारिता यात्रा?
विराम हो।

हारे फेरि फर्कने?
होइन, पूर्णविराम भनेको छु। कहाँ फर्किनु, पत्रकारितामा नफर्कने। म चुनाव हार्दै हार्दिनँ, तर म पत्रकारितामा फर्किन्न। पूर्णविराम नै हो। फुल टाइम जनताको सेवा गर्ने। रौतहटमा मेडिकल कलेज बनाउने मेरो एजेन्डा हो। धेरै पार्टीले अफर गरे पनि सबै अफर छोडेर यहाँ आएको हो। म राजनीतिक दलको होइन, देश र जनताको झन्डा बोक्छु।
घरदैलो गर्नुभयो, जनताले के भने?
ऋषि धमलालाई स्वागत गर्छौं भन्नुभयो। "पहिले तपाईंको कुरा मिडियामा सुनेका थियौँ, अहिले आफैँ आउनुभयो" भन्छन्।
तपाईं यहाँ आएर बढी स्टन्ट गर्नुभयो भनिरहेका छन् नि?
मैले तपाईंसँग भेटेर कुरा गरेको स्टन्ट हो र? जनतासँग भेटेर कुरा गर्नु स्टन्ट हो र?
जोकरजस्तो गर्नुभयो भनिरहेका छन् नि!
होइन, लोकतन्त्रमा भन्ने अधिकार छ। म त जनतासँग जोडिएको छु। यहाँका जनता साइकल चढ्छन्, साइकल चढ्नु गलत हो त? यहाँका जनता रिक्सा र ट्याम्पु चढ्छन्, त्यो गलत हो? जनताले कसरी काम गरिरहेका छन्, अनुभव लिनुपर्छ। नेता जनताको लागि हुनुपर्यो नि। जनता चाहिँ काम गरिरहने, नेता हेरेर हाइहाइ गरिरहने हुनुभएन।
त्यो स्टन्ट होइन?
होइन। त्यो वास्तविकता हो। म हाम्रा देशका नेताहरूलाई "आउनुहोस्, जनताको पीडा, उखु किसानको पीडा बुझ्नुस्" भन्न चाहन्छु। उखु काट्दा उस्तै समस्या छ, हेर भन्न चाहन्छु। अर्को कुरा, सेलिब्रेटीले जे गर्दा पनि समाचार बन्छ। राजेश हमालले आएर चटपटे खानुभयो वा बनाउनुभयो भने न्युज बन्दैन? बन्छ। म सेलिब्रेटी हो, मैले जे गर्दा पनि न्युज बन्छ। म होटल गएर भात खाँदा पनि न्युज बन्छ। म जनतासँग बसेर खाना खान्छु।
जेनजीको एजेन्डा रास्वपाले बोकेको होइन र?
होइन। जेनजीको एजेन्डा बोकेकै ऋषि धमलाले हो। ऋषि धमलाले तीन वर्षदेखि भ्रष्टाचार बढ्यो, सुशासन छैन र कुशासन छ भनेको हो। नेताहरूले बिगारे भनेको ऋषि धमलाले हो।
रविजीहरू सरकारमा गइसकेको होइन र? केपी शर्मा ओलीसँग सहकार्य गरेको होइन र? शेरबहादुर देउवासँग कुरा र ओली-देउवासँग सहकार्य गरेकै हो नि उहाँहरूले। प्रचण्ड प्रधानमन्त्री र रविजी उपप्रधानमन्त्री बनेकै हो। तर जेनजीहरूको आन्दोलनलाई सेफ ल्यान्डिङ गराउने चाहिँ ऋषि धमला हो।
रविजीलाई जेलमा भेट्न गएको होइन र तपाईं?
म गएको थिएँ। रविजीलाई छुटाउनुपर्छ भनेर गएको हो। रविजीलाई भेटेर रिहा गर्न मैले पहल गरेको हो। त्यसबेला उहाँलाई सरकारले दुई वटा मुद्दा लगाउँदा मैले सरकारले फिर्ता लिन सक्छ भनेको थिएँ। सरकारले फिर्ता लियो।
त्यो फिर्ता लिनु ठिक हो?
अहिले त्यसतर्फ जान चाहन्नँ। म चुनावमा छु, वैकल्पिक शक्तिको पक्षमा छु।
जनता जान्न चाहन्छन् ऋषिजी...
होइन, जनता जान्न चाहन्छन्। नयाँ शक्तिहरूको बीचमा सहकार्य गर्नुपर्छ। नयाँ शक्तिहरूलाई मिलाएर लानुपर्छ।
रास्वपा नयाँ शक्ति हो? नयाँ शक्ति भनेको को हो?
नयाँ शक्ति भनेको कांग्रेस, एमाले र माओवादीको विकल्पको पार्टी बनेर आउन थालेको छ। आम जनता पार्टी, जनादेश पार्टी, रास्वपा, उज्यालो नेपाल पार्टी आयो नि त!
व्यक्ति पुरानै छन् त?
ऋषि धमला, बालेन शाह, कुलमान घिसिङ, हर्क साम्पाङ के नयाँ होइनन्? नयाँ शक्ति हो नि! यी शक्तिबीच सहकार्य हुनुपर्छ। मेरो चाहना देश बनाउने हो।
तपाईं परिवारवादको विरोधी, परिवारवाद हाबी भयो भन्ने जेनजीको पनि एजेन्डा थियो। तर तपाईंको पार्टीमा पनि एलिजा म्याम समानुपातिकको एक नम्बरमा हुनुहुन्छ। तपाईं प्रत्यक्ष उम्मेदवार। यो परिवारवाद होइन?
आम जनता पार्टीको उहाँ समानुपातिक उम्मेदवार हो र उहाँ पार्टी उपाध्यक्ष हो। म जनादेश पार्टीको संरक्षक हो। उहाँलाई आम जनता पार्टीले राखेको हो। म जनादेश पार्टीको उम्मेदवार हो। जनादेश पार्टीले समानुपातिक उम्मेदवारको लिस्ट छुट्टै बुझाएको छ। हामी श्रीमान–श्रीमती फरक-फरक पार्टीको हो। हाम्रो दुई पार्टीको सहकार्य हो। हाम्रो घोषणापत्र चाहिँ एउटै हुन्छ। चुनावमा गठबन्धन भएको छ नि!

घुमाइफिराइ परिवारवाद नै हाबी भयो नि?
होइन, म परिवारवादको विरोधी हो। तर कुनै पनि मान्छेले आफ्नो चाहनाअनुसार राजनीति गर्छ भने त्यो उसको चाहना र रुचिको कुरा हो। त्यसलाई मैले रोक्न मिल्दैन। परिवारवादलाई सबै गलत व्याख्या गर्नु पनि हुँदैन। गलत काम गरेर शक्तिको दुरुपयोग गर्न भएन। जनताको सेवा गर्न चाहन्छ भने एउटै परिवारबाट १० जना राजनीतिमा आए पनि हुन्छ।
रौतहट ४ मा कोसँग प्रतिस्पर्धा छ?
म जनतालाई विश्वास गर्छु। फागुन २१ मा जनताले जसलाई प्रतिस्पर्धी देख्छन्, त्यो नै आधिकारिक हुन्छ। अहिले मेरो प्रतिस्पर्धी कोही पनि छैन।
जनताले तपाईंलाई बाहिरको मान्छे भन्यो भने?
बाहिरको मान्छे भन्ने हुँदैन। म देशभरि जहाँबाट पनि चुनाव लड्न सक्छु। नेपालको संविधानले नागरिकलाई १६५ क्षेत्रमध्ये जुनसुकै क्षेत्रबाट चुनाव लड्न पाउने गरी पूर्ण अधिकार दिएको छ। त्यसैले देशको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ऋषि धमला रौतहटमा आएको छ।
अब घर यहीँ बनाउने तपाईं?
म अहिले यहीँ बहालमा बसेको छु। घरै बनाएर भए पनि ऋषि धमलाले रौतहट छोड्दैन। जनतालाई सम्पन्न बनाउन, अधिकार दिलाउन, विकास र समृद्धिको यात्रामा अगाडि बढाउन तथा युवाहरूलाई रोजगारी दिलाएर यो देशको विकास र परिवर्तनको एजेन्डा रौतहटबाट सुरु गरेर जनताको मुहार परिवर्तन गर्न सक्छ भन्ने सन्देश दिनु छ।
जित्नुभयो भने सञ्चारमन्त्री बन्ने?
होइन, म अहिले मन्त्री खान्नँ। ऋषि धमला मन्त्री वा प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन। देशलाई सुधार्न र परिवर्तन गर्न आएको हो। एउटा व्यक्तिले चाह्यो भने परिवर्तन गर्न सक्छ भन्ने सन्देश दिन आएको हो।
एउटा सांसदले मात्र गर्न सक्छ?
किन सक्दैन? मान्छे इमानदार भएर चाह्यो र एकजना मान्छे इमानदार भयो भने देश रूपान्तरण गर्न सक्छ।
हेर्नुहोस्, भिडियो