
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका १ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ (डाँका चोरी मुद्दा), लमजुङको दूधपोखरी गाउँपालिका ४ घर भइ काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रितम गुरुङ (चोरी मुद्दा) र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भइ काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीय वविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा) रहेका छन् ।
यसैगरी काभ्रेपलाञ्चोकको ठाँटी चापखोरी घर भएका २२ वर्षीय विक्रम नेपाली (नकवजनि चोरी मुद्दा), दोलखाको मेलुङ गाउँपालिका २ घर भएका भुवन तामाङ (लागुऔषध मुद्दा), सिन्धुलीको फिक्कल गाउँपालिका ३ घर भएको अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा) र भारत घर भएका रोशन साह (लागुऔषध मुद्दा) रहेका परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार उनीहरूलाई आइतबार नै सम्बन्धित कारागार पठाइएको छ ।