०३ असार २०८३, बुधबार

सर्लाहीमा सब इन्जिनियरको हत्या, सुरक्षाको ‘ग्यारेन्टी’ माग गर्दै अदालतको सेवा अवरुद्ध

फागुन ४, २०८२
सर्लाही
सर्लाहीमा सब इन्जिनियरको हत्या, सुरक्षाको ‘ग्यारेन्टी’ माग गर्दै अदालतको सेवा अवरुद्ध

सर्लाही​को मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको ज्यान गएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् ।

जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरूले दोषीलाई कारबाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राख्दै सेवा अवरुद्ध गरेका हुन् ।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए ।

सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुवाको काजकिरिया सकेर मलङ्गवा फर्किएका सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठा बाहिर बोलाएर गोली प्रहार गरेका मृतककी श्रीमती पुनम यादवले बताइन् ।

उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायब उपरीक्षक सरोज राईले बताए ।

गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक राईले बताए । सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्