२६ जेठ २०८३, मंगलबार

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

फागुन ७, २०८२
म्याग्दी
चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।

चिमखोलामा निर्माण भएको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी तुँदी पावरले तीन वटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत विनियोजन भएको १० लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए ।

उनका अनुसार अमर मावि चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक/एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो ।

विद्यालयमा प्रविधिमैत्री पठनपाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडा अध्यक्ष पाइजाले बताए ।

विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टीभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माविका प्रअ खबहादुर थापाले बताए ।

विद्यार्थीमा सिकाई उपलब्धि बढाउन र शिक्षकहरूलाई सिर्जनशील तथा प्रविधीमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो ।

सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गराउन विद्यार्थीले अध्ययनमा रुचि देखाउने र सिकाई उपलब्धि वृद्धि हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्