२३ जेठ २०८३, शनिबार

अब एउटै 'युनिभर्सल भ्याक्सिन'ले सबै किसिमका रुघाखोकी र फ्लुबाट जोगाउने

फागुन ८, २०८२
काठमाडौं
अब एउटै 'युनिभर्सल भ्याक्सिन'ले सबै किसिमका रुघाखोकी र फ्लुबाट जोगाउने

अमेरिकी वैज्ञानिकहरूले सबै प्रकारका रुघाखोकी, फ्लु, कोभिड र फोक्सोमा हुने ब्याक्टेरियल संक्रमण विरुद्ध सुरक्षा दिने नयाँ किसिमको खोप (नाजल स्प्रे) विकास गरेको  दाबी गरेका छन् ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अन्वेषकहरूले विकास गरेको यो 'युनिभर्सल भ्याक्सिन'ले भविष्यमा एलर्जीको समस्यालाई समेत कम गर्न सक्ने बताइएको छ। 

यो खोपले परम्परागत खोपहरूले जस्तो शरीरलाई कुनै एउटा निश्चित संक्रमणसँग लड्न मात्र तालिम दिँदैन, बरु शरीरको प्रतिरक्षा प्रणालीलाई नै सधैँ 'अलर्ट' अवस्थामा राख्ने बीबीसीको समाचारमा उल्लेख छ । 

यो अनुसन्धानलाई चिकित्सा विज्ञानमा २०० वर्षयताकै ठूलो परिवर्तन मानिएको छ। नाकबाट दिइने यो स्प्रेले फोक्सोमा रहेका सेता रक्तकोषिका (म्याक्रोफेज) लाई सक्रिय बनाउँछ, जसले गर्दा कुनै पनि भाइरस वा ब्याक्टेरियाले आक्रमण गर्ने बित्तिकै शरीरले तत्काल प्रतिकार गर्छ।

 जनावरहरूमा गरिएको परीक्षणमा यस खोपको प्रभाव करिब तीन महिनासम्म देखिएको र यसले भाइरसको संक्रमणलाई एक हजार गुणासम्म कम गरेको पाइएको छ।

विज्ञहरूले यस उपलब्धिलाई 'अत्यन्तै उत्साहजनक' र 'ठूलो फड्को' भनेका छन्। यद्यपि, यो खोपको मानिसमा परीक्षण हुन अझै बाँकी छ। अनुसन्धानकर्ता बाली पुलेन्द्रनका अनुसार, यदि यो मानिसमा सफल भयो भने भविष्यमा आउन सक्ने नयाँ महामारी र हिउँदमा लाग्ने मौसमी रुघाखोकी विरुद्ध लड्न यसले निकै ठूलो सहयोग पुर्‍याउनेछ।

 तर, प्रतिरक्षा प्रणालीलाई सधैँ उच्च सतर्कतामा राख्दा शरीरमा कुनै नकारात्मक असर पर्छ कि पर्दैन भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्