
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका बालेन्द्र शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका कार्यालय अगाडिको चोकमा एक मतदातासँग चुनावी माहोलबारे कुरा गर्दैगर्दा सुनिरहेका स्कूले विद्यार्थीले फ्याट्ट भन्दिए- यहाँ त सबै घण्टी छाप !
शुरूमा उनले ती विद्यार्थीलाई मैथली भाषामा गाली गरे । जसको नेपाली अर्थ थियो, ‘धेरै जान्ने हुन्छ कहीँको ?’
स्कूले विद्यार्थीले घण्टी छाप भनेपछि ती मतदाताले हाँस्दै स्वीकारे– ‘किन ढाँट्ने ? त्यही हो । अहिले सबैले नयाँ पार्टी, बालेन र घण्टी छाप भनिरहेका छन् ।’
बालेन देशको प्रधानमन्त्री बन्ने कुराले सिंगो मधेश तरंगित बनिरहेको समयमा उनको पुर्ख्यौली गाउँमा चासो नहुने कुरै भएन । बालेन काठमाडौंमै जन्मे हुर्केर राजधानी शहरको मेयर बने ।
काठमाडौं महानगरको मेयर बनेर गरेको कामले महोत्तरीका मतदातालाई समेत आकर्षक गरेको पाइयो । माघ ५ गते जनकपुरमा बालेनले ‘मधेशको छौरा’लाई प्रधानमन्त्री बनाउने हो ? भनेर गरेको सम्बोधन मधेशमा लहर ल्याउन काफी बनेको देखियो ।
‘केही दिन पहिले बालेन सरकार यहाँ आउनु भएको थियो, केहीबेर घरमा बस्नुभयो । पछाडि मन्दिरमा ढोग्नु भयो’, एकडारास्थित बालेनको घरबाहिर भेटिएका अरविन्द साहले भने, ‘बालेन प्रधानमन्त्री बन्ने भन्ने कुराले यहाँका स्थानीय बहुत खुसी छन्, यसपटक मधेशीको छोरा सरकारमा जाने भयो भनिरहेका छन् ।’
जलेश्वर नगरपालिका ८ का विकु कापरले महोत्तरीमा बालेन र घण्टी छापको धेरै चर्चा सुनेको बताए । ‘बालेन प्रधानमन्त्री भएमा यो ठाउँमा विकास हुने हामीले विश्वास लिएका छौं’, कापरले लोकान्तरसँग भने, ‘पडोसीलाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्ने हो ।’

एकडारा ३ की रामछविला यादवले यसपटक बालेनलाई भोट दिने बताइन् । ‘घण्टीमे मोर लगाके बालेनके प्रधानमन्त्री बनाउने हो’, यादवले मैथलीमा भनिन् ।
मधेशका महिलाहरू सितिमिति राजनीतिक कुरा गर्दैनन् । तर, रामछविला र सुमित्रा देवले घण्टीमा भोट हालेर बालेनलाई प्रधानमन्त्री बनाउन चाहेको बताए । ‘हाम्रो ठाउँको छौरा प्रधानमन्त्री बन्दैछ, उसलाई हामीले किन भोट नदिने ?’ सुमित्राले भनिन् ।
बालेनको पुर्ख्यौली घर एकडरा गाउँपालिकाले भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । एकडाराकै स्थानीय उज्ज्वल झा रास्वपाबाट उम्मेदवार बनेका छन् ।
उज्ज्वलको उम्मेदवारीले कुलानन्द झा सम्झिरहेका छन् महोत्तरीबासी
रास्वपाबाट उम्मेदवार बनेका इन्जिनियर उज्जवल झा महोत्तरीको राजनीतिक परिवारका सदस्य हुन् । उज्ज्वलका हजुरबुवा कुलानन्द झा पञ्चायतको समयमा चर्चित नेता हुन्, उनलाई अहिले पनि स्थानीयहरू ‘न्यायप्रेमी नेता’का रूपमा स्मरण गर्छन् ।

जलेश्वर नगरपालिका ५ का चन्द्रनारायण चौधरीले महोत्तरीले अहिलेसम्मकै सक्षम नेता पाउन थालेको बताए । ‘उज्ज्वल झा आफैंमा समाजसेवी र सक्षम युवा हुन्, पढेलेखेको र इन्जिनियर भएकोले विकास गर्ने उनीसँग भिजन पनि छ’, चौधरीले भने, ‘यो इमान्दारीको लाइसेन्सधारी परिवार हो, उज्जवलको समाजसेवी भावनाले उनको हजुरबुवाको झल्को दिन्छ ।’
उज्ज्वल आफैंमा स्थानीयसँग परिचित अनुहार हुन्, त्यसले यहाँका मतदाता उनीसँग प्रभावित छन् । ०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार उठेर तत्कालीन ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई टक्कर दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४ सय १४ मत पाएर विजयी हुँदा स्वतन्त्र उज्ज्वलले ५ हजार ४ सय ८९ मत पाएका थिए । जबकि एमालेका उम्मेदवार तेस्रो बनेका थिए ।

एकडारा ३ भसैलियाका रामहित यादव यसक्षेत्रका मानिस केही समस्या परे जनप्रतिनिधि भन्दा पहिला उज्ज्वललाई खोज्ने गरेको बताउँछन् । ‘सरकारले नदिएपछि मानिसहरू खेती किसानीको समयमा बोर्डरमा खाद (रासायनिक मल) लिन जान्छन् । मल ल्याउँदा प्रहरीले दिक्कत गर्यो भने समाधान गर्ने काम उनले गर्छन्, स्थानीयका दु:खमा सधैं काम लागेका कारण उनीप्रति जनताको भरोसा छ’, यादवले भने ।
स्थानीय बलराम मिश्रका अनुसार झैझगडा मिलाउन बस्ने पञ्चायतीमा कुलानन्द (उज्जवलका हजुरबुवा) झा छुट्दैनथे । ‘कुलानन्द उपस्थित हुन सकेनन् भने उनको बेतको लौरो लगेर भए पनि राखिन्थ्यो, अहिले पनि मानिसहरू कुलानन्दलाई सम्झिरहन्छन् । उनकै नामले पनि उज्ज्वलले भोट पाउँछ’, मिश्रले भने ।
रास्वपा उम्मेदवार झाले चुनाव जितेर गएको खण्डमा विकास निर्माण लगायत जिल्लाका समस्या समाधानका लागि पहल गर्ने बताए । ‘यहाँको विकास निर्माणमा तालमेल मिलिरहेको छैन, इन्जिनियरिङ प्रस्पेक्टबाट काम भएको छैन । अर्को कुरा विगतमा चुनाव जितेर गएकाले वाचा पूरा गरेका छैनन्’ झाले लोकान्तरसँग भने, ‘सांसद नै नभए पनि म सधैं यहाँका जनतासँग छु, चुनाव जितेँ भने अझ व्यवस्थित ढंगले काम गर्छु ।’

किसानले समयमा रासायनिक मल नपाउने, सिँचाइ, खानेपानी, सरसफाइ लगायतको समस्या मतदाताले उठाइरहेको उनले बताए ।
महन्थको विरासतमा लाग्दैछ ब्रेक, मीनाक्षीलाई छैन सहज
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी भएका थिए । ठाकुरले १६ हजार ३ सय ७५ मत पाउँदा जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३ सय २५ मत पाएका थिए । यसपटकको चुनावमा यी दुवै दल प्रतिस्पर्धामा देखिएका छैनन् ।
आफू राष्ट्रियसभामा निर्वाचित भएका महन्थले छोरी मीनाक्षीलाई यसक्षेत्रबाट टिकट दिलाएका छन् । तर मीनक्षीलाई बाउको विरासत जोगाउन फलामको च्युरा चपाउनु सरह रहेको मतदाताहरू बताउँछन् ।
मीनाक्षीलाई भोट दिन्छौं भन्ने मान्छे भेटाउन मुस्किल छ, त्यसो त कांग्रेस, एमाले, नेकपा र मधेशमा नयाँ भनिएको जनमत पार्टीको पनि नाम लिने मान्छे भेटाउन मुस्किल पर्छ । बालेनप्रतिको लहरका कारण अन्य दलका उम्मेदवार छायाँमा परेका छन् ।

मीनाक्षीले टिकट खोसेपछि यसअघिको निर्वाचनमा दोस्रो भएका जसपाका हरिनारायण यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । हरिनारायणले भोट काट्दा मीनाक्षीलाई झनै कठिन हुने मतदाताहरूको बुझाइ छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसका बगरंग नेपाली, नेकपा एमालेबाट मनोजकुमार सिंह, नेकपाबाट राजकिशोर साह सुडी उम्मेदवार छन् । राप्रपाका राजेश्वर, जनमतबाट अरविन्द्र ठाकुर उम्मेदवार छन् ।
चुनाव चिन्ह बस रहेको नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवान उम्मेदवार छन् । मनरा शिसवा क्षेत्रको मुस्लिम बस्तीमा यी उम्मेदवारको चर्चा छ । यसअघिको निर्वाचनमा बसका उम्मेदवारले ४ हजार ९ सय ४९ मत पाएका थिए ।

‘मधेशको छौरा’ प्रधानमन्त्री बन्ने कुराले ल्याएको लहर
जलेश्वर २ का नजरूल अन्सारी यसपटक धेरैले नयाँ दललाई चान्स दिने भन्ने हल्ला (चर्चा) सुनेको बताए । ‘हाम्रो यही ठाउँको नेता बालेन प्रधानमन्त्री बन्ने भन्ने कुराले सबैले घण्टीलाई भोट दिने भनिरहेका छन्’ अन्सारीले भने, ‘मेरो पनि त्यही हो । यसपटक घण्टी छापमा भोट हाल्ने हो ।’
जलेश्वरमा पानपसल सञ्चालन गर्दै आएका रमेश ठाकुरले यसपटक नयाँ दलको चर्चा रहेको बताए । 'रास्वपाप्रति लहर छ उज्ज्वल झाले सहजै चुनाव जित्छन्' उनले भने ।
बजराहीका जोगिन्दर साहले यसपटक नयाँ दलको पक्षमा लहर देखिएको बताए । ‘सबजना घण्टी छाप भनिरहेका छन्, हामीलाई पनि अचम्म लागिरहेको छ’, उनले भने, ‘उही पुरानाहरूलाई बारबार किन भोट दिने भनिरहेका छन् आदमी ।’
राजविराजमा चियापसल सञ्चालन गरेर बसेका राजेन्द्र चौधरी आफ्नो पसलमा आउनेहरूले नयाँ नयाँ भन्ने गरेको सुनेको बताए । ‘भित्र के छ के छ थाहा छैन, भन्नलाई यसपटक नयाँ नयाँ भनिरहेका छन्’ चौधरीले भने । उनले महन्थ ठाकुरप्रति मानिसको सम्मान भए पनि छोरीले भोट पाउने सम्भावना नरहेको बताए ।

मनरा शिसराका मदिज अन्सारीले महोत्तरी ३ मा रास्वपा, कांग्रेस र बस चिन्ह रहेका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको दावी गरे । मुस्लिम बस्तीमा बसछापको पकड रहेको उनले दाबी गरे ।
एकडारा २ का सगारथ महराले यसपटकको भोट नयाँलाई दिने बताए । ‘उज्ज्वल झा यहाँका समाजसेवी हुन्, यसपटक घण्टीले भोट पाउने सम्भावना छ’, महराले भने ।
स्थानीय वैजनाथ साह र रामसुगारथ यादवले यसपटक नयाँ दललाई भोट दिने पक्षमा रहेको बताए । ‘यसअघि हामीले धेरैलाई जिताएर पठायौं, यहाँ गरिबको पक्षमा काम गरेनन् । हामीले खाद पाएनौं’, यादवले भने ।
रामहरेश यादवले मधेशका जिल्लामा रास्वपाले यसपटक राम्रो मत पाउने बताए । ‘भोट त घण्टीले पाउँछन्, उनीहरूले पनि पुराना कांग्रेस-एमाले उम्मेदवारले जस्तै गरे भने अर्कोपटक झापड पाउने छन्’ यादवले भने ।

अत्यन्त कमले मात्र कांग्रेस र जसपाको नाम लिए ।
फागुन २१ को मतदान नजिकिँदै गर्दा अन्य राजनीतिक दलले पनि चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।
हेर्नुहोस् रास्वपा उम्मेदवार उज्वलसँग गरिएको कुराकानी भिडियोमा :