
मेक्सिकोमा सबैभन्दा खोजी गरिएका अपराधी तथा शक्तिशाली 'जालिस्को न्यू जेनेरेशन' कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा सुरक्षा कारबाहीमा मारिएका छन् ।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आइतबार जालिस्को राज्यको तापाल्पामा सेनासँग भएको भीषण भिडन्तमा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राजधानी मेक्सिको सिटी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। अमेरिकी गुप्तचर निकायको सहयोगमा गरिएको सो विशेष अपरेशनमा अन्य चार कार्टेल सदस्य पनि मारिएका छन् । यस्तै केही सैनिक घाइते भएका छन्।
एल मेन्चोको मृत्युको खबर सार्वजनिक भएलगत्तै उनको समूहले मेक्सिकोका विभिन्न आठ राज्यमा हिंसात्मक गतिविधि गरेको बीबीसीले जनाएको छ। अपराधीहरूले सडकमा बस तथा गाडीहरू जलाएर अवरोध सिर्जना गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमण समेत गरेका छन्। पर्यटकीय क्षेत्र पुएर्टो भालार्टा लगायतका स्थानमा उडानहरू रद्द गरिएका छन् भने जनजीवन प्रभावित भएको छ। स्थितिलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन 'सेल्टर-इन-प्लेस' चेतावनी जारी गरेको छ।
५९ वर्षीय पूर्व प्रहरी अधिकारी एल मेन्चोले विश्वकै खतरनाक र क्रूर लागूऔषध सञ्जाल चलाउँदै आएको समाचारमा उल्लेख छ ।