
सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा नष्ट भएका मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।
यसअघि साउन २० देखि यो मुद्दा ‘हेर्दाहेर्दै’ मा रहेको थियो । तर, सोमबार सर्वोच्चले २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो ।
मिसिल संकलन भएपछि अदालतले नयाँ पेसी तोकेर सुनुवाइ अघि बढाउनेछ ।
गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना गरेको थियो । उक्त फैसलाविरुद्ध रौनियारसहित ८ जनाले सर्वोच्चमा पुनरावेदन गरेका छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै ११ जनाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । दुवै पक्षको पुनरावेदनलाई एकसाथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ ।