![युवा स्वरोजगार, उद्यमशीलता र सामाजिक न्याय मेरो प्रमुख एजेण्डा हो- भगबती चौधरी [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/bhagawati_BhygVEI5fd.jpg)
सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी भगबती चौधरी नेकपा (एमाले)की नेतृ हुन् । विद्यार्थी जीवनदेखि नै समाजसेवा र राजनीतिमा सक्रिय चौधरी संविधानसभा सदस्य र पूर्वमन्त्रीसमेत हुन् । महिला अधिकार, सामाजिक न्याय, वातावरण संरक्षण र सीमान्तकृत समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी उनी यसपटक युवा स्वरोजगार, उद्यमशीलता र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा छिन् । प्रस्तुत छ चौधरीको राजनीतिक यात्रा, संसदीय अनुभव, विकासका प्राथमिकता र आगामी योजनाबारे उनीसँग गरिएको कुराकानी :
तपाईंको राजनीतिक यात्रा कहिलेबाट कसरी शुरू भयो ?
म सुनसरीको गढी गाउँपालिका–२, औराबनीमा सामान्य घरपरिवारमा जन्मिएको हुँ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्दागर्दै समाजसेवा र राजनीतिलाई जीवनको कर्म बनाउने निर्णय गरेँ । सामाजिक न्याय, महिला अधिकार, वातावरण संरक्षण, महिलाहरूमा वित्तीय पहुँच स्थापित गर्दै र सीमान्तकृत समुदायको पक्षमा बोल्दै सार्वजनिक जीवनमा प्रवेश गरेकी हुँ । २०४८ सालमा नेकपा एमालेको सदस्यता लिएँ र २०५८ सालमा संगठित सदस्य बनेँ ।
तपाईंलाई राजनीतिमा लाग्न सबैभन्दा बढी के कुराले प्रेरित गर्यो ?
जनताको बहुदलीय जनवादका प्रणेता स्वर्गीय मदन भण्डारीका विचारबाट गहिरो प्रभाव पारेको छ । उहाँको सादा जीवन तथा विचारबाट प्रेरित भएर जनमुखी, इमान्दार र नैतिक राजनीतिमा लाग्ने अठोट गरेँ । र आज पर्यन्त म यी विषयहरूबाट डग्मगाएको छैन ।
संविधान सभा सदस्य र मन्त्रीको रूपमा तपाईंको भूमिका कस्तो रह्यो ?
२०६४ सालमा पहिलो संविधान सभामा विज्ञ सदस्य भएर संविधान लेखनको जिम्मेवारी पाएँ । त्यसपछि वन तथा भू–संरक्षण मन्त्रीको रूपमा पनि काम गर्ने अवसर मिल्यो । यसलाई मैले राजनीतिक सिकाईका रुपमा लिए । पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा बालबालिका ऐन, ज्येष्ठ नागरिक ऐनको मस्यौदा, समाज कल्याण परिषद् सुधार र नेपाल रेडक्रस सोसाइटी सुधारमा काम गर्न सकेँ । आफ्नो क्षेत्रको विकास गर्न, जनताका अपेक्षा र आवश्यक्ता पुरा गर्न लागि परेँ, फलस्वरूप साढे ३ वर्षमा यो क्षेत्रमा करिब डेढ अर्बको बजेट ल्याउन सफल भएँ ।
संसदीय भूमिकालाई सिंहावलोकन गर्दा कस्तो रह्यो ?
यो साढे तीन वर्षको संसदीय यात्रामा मैले स्थानीय, माग र मुद्दा र समस्यासँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय वस्तुहरू संसद्मा उठाएको छु । सुनसरी क्षेत्र नं. ३ का धेरै समस्यालाई संसद्मा प्रस्तुत गर्दै सरकार समक्ष पुर्याउने काम गरेँ । ऐन, कानून बनाउने सवालमा शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न भूमिहीन नागरिकलगायत धेरै विषयमा मैले आवाज उठाएको छु । आफैंले आफ्नो भूमिका वर्णन गर्नु गाह्रो काम हो तर, जनताले मेरो भूमिकालाई सकारात्मक ढंगले मुल्यांकन गर्नुभएको छ ।
विजयकुमार गच्छदारसँगको लामो प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?
म इमान्दार र नैतिक राजनीतिमा विश्वास गर्छु । राजनीतिलाई पेशा र व्यवसाय बनाएको छैन । दुईपटक पराजित हुँदा पनि हरेस खाइनँ । २०७९ सालमा जनताले मलाई ऐतिहासिक मतान्तरले विजयी बनाउनुभयो । यो जनताको जित थियो र, अब पुनः फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छु । जनताले मलाई पुनः निर्वाचित गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
सांसद र मन्त्री भएपछि सुनसरी–३ मा के–कस्ता परिवर्तन देख्नुभएको छ ?
तपाईलाई जानकारी गराउँ यो क्षेत्र विगत ३० वर्षदेखि विकास पर्खिएर बसेको क्षेत्र हो । यहाँका सहरी क्षेत्रमा केही विकास भए पनि यो क्षेत्र जिल्लाकै सबैभन्दा बढी पिछडिएको क्षेत्र हो । अब ३० वर्ष नभएको विकास साढे ३ वर्षमै गर्न त सकिन्न । तथापि, मेरो पहलमा सडक, पुल, खानेपानी, विद्यालय, सामुदायिक पार्क निर्माणका योजना आएका छन् । सामुदायिक विद्यालयको पूर्वाधारमा सुधार भएको छ । समग्रमा भन्नुपर्दा यो क्षेत्रका जनताले विकासको अनुभूति गर्न थाल्नुभएको छ ।
व्यक्तिगत रूपमा पनि धेरै सहयोग गर्नुभएको सुनिन्छ ?
हो, राज्यको भूमिकासँगै व्यक्तिगत पहलबाट आफ्नो व्यक्तिगत पहलमा यसै वर्ष १ सय गरिब, विपन्न नागरिकलाई सुरक्षित घर बनाउन सकेँ । आउँदा दिनमा अरू ५०० घर निर्माणका लागि काम भइरहेको छ । सांसद, मन्त्री नहुँदा पनि एकल महिलालाई सम्मानपूर्ण जीवन बाच्न सुरक्षित घर निर्माण गरें । दिनेश चौधरी आधारभूत विद्यालयमार्फत गरिब, विपन्न समुदायका १३० भन्दा बढी बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएकी छु । उद्यमशीलतामार्फत हजारौँ महिला दिदीबहिनीलाई स्वरोजगार बनाउन सफल भएको छु । बाढी पहिरोको बेला होस् या कठ्याँग्रिँदा शीतलहर जुनसुकै बेला म यहाँका जनताका घरदैलोमा पुग्ने गरेको छु । समाज सेवा र राजनीतिमार्फत सधैं जनता समक्ष जोडिनु नै मेरो लक्ष्य हो ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा तपाईंको मुख्य एजेन्डा के हुन् ?
युवा तथा महिला स्वरोजगार, उद्यमशीलता, व्यवसायीक कृषि, आत्मनिर्भर अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय मेरो प्रमुख एजेण्डा हो । धेरैले मुलुक बनेन भन्छन्, आलोचना र गुनासोहरू गर्छन् तर, म आलोचना र गुनासोबाट टाढा रहेर एजेण्डाको राजनीति गर्छु । आवाज विहीनहरूको आवाज बन्दै यो क्षेत्रको विकास गर्नु नै मेरो लक्ष्य हो । पछिल्लो समय जेन–जी युवाहरूको माग र मुद्दाहरूलाई संसद्मा लगेर सम्बोधन गर्नु, उहाँहरूका भावना र विचारलाई उठान गर्नु अपरिहार्य छ । त्यसका लागि एउटा संगठित र सूव्यवस्थित पार्टी र व्यक्तिको खाँचो छ । जुन नेकपा एमालेले मात्र गर्न सक्दछ ।
राजनीतिलाई तपाईं कसरी बुझ्नुहुन्छ ?
मैले पटक पटक भनिसकेँ, मलाई राजनीति गरेर कमाउनु छैन । राजनीतिलाई विशुद्ध समाजसेवा र देशसेवाको भावनासँग जोड्नुपर्छ । स्वार्थको राजनीति क्षणिक हुन्छ ।
अन्त्यमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
समृद्ध सुनसरी–३ र समाजवाद उन्मुख नेपाल निर्माणका लागि तपाईंहरूको साथ र विश्वास आवश्यक छ । म सधैं जनताको सेवामा समर्पित रहनेछु । एक पटक पुनः विश्वास गर्नुहोस् । तपाईंको मतलाई खेर जान दिनेछैन ।