२५ असार २०८३, बिहीबार

मेक्सिकोमा बढ्यो अराजकता, मृत्यु भएकाहरुको शव समेत तोडफोड

फागुन १४, २०८२
काठमाडौं
मेक्सिकोमा बढ्यो अराजकता, मृत्यु भएकाहरुको शव समेत तोडफोड

मेक्सिकोको सिनलोआ राज्यस्थित कुलियाकान सहर यतिबेला लागूऔषध तस्करहरूको आपसी युद्धका कारण 'रणमैदान' मा परिणत भएको छ। 

बीबीसीले तयार पारेको एक स्थलगत रिपोर्टअनुसार शक्तिशाली 'सिनलोआ कार्टेल' भित्रको आन्तरिक कलह र विखण्डनले गर्दा सहरमा डर र हिंसाको वातावरण सिर्जना भएको छ।

मेक्सिकोका सबैभन्दा खोजी गरिएका ड्रग डन नेमेसियो ओसेगुएरा सर्वान्टेस मारिएपछि हिंसा थप चर्किएको हो। नेतृत्वको शून्यताका कारण कार्टेलका विभिन्न समूहहरूबीच वर्चस्व कायम गर्न भीषण लडाइँ सुरु भएको छ।

वर्षौंदेखि कुलियाकानमा प्यारामेडिकको रूपमा कार्यरत ५३ वर्षीय हेक्टर टोरेसका अनुसार अहिले सहरमा जताततै र सधैँ त्रासको अवस्था छ। उनले पछिल्लो डेढ वर्षमा हिंसाका घटनाहरूमा ७० प्रतिशतले वृद्धि भएको बताए।

सहरका विद्यालय, अस्पताल र यहाँसम्म कि अन्त्येष्टि गरिएका स्थानहरूमा समेत आक्रमण भइरहेका छन्। बीबीसीका संवाददाता क्वेंटिन सोमर्भिलले रिपोर्ट गरेअनुसार सहरका गल्ली र व्यापारिक भवनहरूमा दिनदहाडै गोलीबारी हुने गरेको छ । जहाँ निर्दोष नागरिकहरूले ज्यान गुमाइरहेका छन्।

कार्टेलको यो युद्ध यति क्रूर बनेको छ कि मारिएका व्यक्तिहरूको शवलाई विभत्स रूपमा तोडफोड गरेर सार्वजनिक स्थलमा छाड्ने गरिएको छ। कतिपयको टाउकोको छाला निकालिएको र आँखा निकालिएको अवस्थामा शवहरू भेटिएका छन् । जसको साथमा अर्को समूहलाई चेतावनी दिने सन्देशहरू राखिएका हुन्छन्।

यस हिंसाको बीचमा कैयौँ मानिसहरू बेपत्ता भएका छन्। बेपत्ता छोराको खोजीमा लागेकी रेनाल्डो पुलिडो जस्ता सयौँ आमाहरू अहिले आफ्ना सन्तानको अवशेष खोज्न सहरका खाली मैदान र सम्भावित सामूहिक चिहानहरूमा भौँतारिरहेका छन्। उनीहरूले अहिलेसम्म सयौँ शवहरू फेला पारे पनि आफ्ना प्रियजनको अवस्थाबारे अझै अनभिज्ञ छन्।
हिंसाको मुख्य जड घातक लागूऔषध 'फेन्टानाइल' को व्यापार रहेको पाइएको छ। कार्टेलका सदस्यहरूले अमेरिकी बजारमा यो लागूऔषध आपूर्ति गरेर अर्बौँ डलर कमाउने गरेका छन्। 

बीबीसीसँगको कुराकानीमा एक तस्करले सरकारले जतिसुकै कडाइ गरे पनि फेन्टानाइलको उत्पादन र आपूर्ति नरोकिने दाबी गरे।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सिनलोआमा भइरहेको हिंसालाई कार्टेलभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम बताएकी छिन्। सरकारले हजारौँको संख्यामा सेना परिचालन गरे पनि सहरमा हत्या र अपहरणका घटनाहरू कम भएका छैनन्।

सन् २०२६ को विश्वकप फुटबलको आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोका लागि यो बढ्दो हिंसा र लागूऔषध तस्करी ठूलो चुनौतीको रूपमा देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्