
प्रहरीले काठमाडौंमा पेस्तोलसहित २ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-७ स्थित चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका-४ भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका-४ बस्ने ५३ वर्षीय टकबहादुर गुरुङ र बन्दीपुर-७ ठेगाना भई काठमाडौंको टोखा नगरपालिका-८ प्रगतिनगर बस्ने ७० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट लागूऔषध एम्फेटामाइन ३०१ ग्राम ४९० मिलिग्राम, डिजिटल तराजु दुई थान, नाइन एमएम पेस्तोल एक थान त्यसको म्याग्जिन एक थान बरामद भएको ब्यूरोका सूचना अधिकारी एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेकामध्ये दिलबहादुर गुरङ यसअघि पनि पक्राउ परेका मुद्दा चलेका व्यक्ति हुन् । उनलाई २०७२ वैशाख १९ ब्यूरोको टोलीले लागूऔषध चरेश मुद्दामा पक्राउ गरि मुद्दा चलाएको थियो ।
अदालतको आदेशले उनी परी ४ वर्ष कैद र ८० हजार रूपैयाँ जरिवाना भुक्तान गरी छुटेका थिए ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ तथा हात हतियार खरखजना ऐन २०१९ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसपी रेग्मीले बताए ।