२९ जेठ २०८३, शुक्रबार

मध्यपूर्वमा विकसित घटनाक्रमको प्रभाव विश्वकप फुटबलमा

फागुन १८, २०८२
काठमाडौं
मध्यपूर्वमा विकसित घटनाक्रमको प्रभाव विश्वकप फुटबलमा

मध्यपूर्वमा विकसित पछिल्लो विश्व राजनीतिक घटनाक्रमको प्रभाव यसै वर्ष आयोजना हुने फिफा विश्वकप फुटबलमा पनि पर्ने देखिएको छ । 

शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको थियो । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको थियो ।

अहिले पनि दुवै पक्षले एक–अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । परिणामस्वरूप मध्यपूर्व अशान्त बनेको छ । 

त्यसको प्रभाव विश्वकप फुटबलमा पनि पर्ने देखिएको छ । विश्वकप फुटबल आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । 

एसियाली क्षेत्रबाट इरान यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । आगामी विश्वकपको प्रारम्भिक चरणमा इरानको तीनवटै खेल अमेरिकामै परेको छ । 

विश्वकपमा इरान समूह ‘जी’ मा परेको छ । उक्त समूहमा इजिप्ट, बेल्जियम र न्युजिल्यान्ड पनि छन् । इरानले पहिलो खेल जुन १५ तारिखमा न्युजिल्यान्डसँग लस एन्जल्समा खेल्नेछ । 

यसैगरी, इरानले आफ्नो दोस्रो खेल जुन २१ तारिखमा सोही स्थानमा बेल्जियमसँग खेल्नेछ । इरानले तेस्रो खेल जुन २६ तारिखमा इजिप्टसँग अमेरिकाकै सियाटलमा खेल्नेछ । 

इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजका अनुसार, पछिल्लो घटनाक्रमपछि इरानले आगामी विश्वकपमा सहभागिता जनाउने सम्भावना निकै कम छ । 

‘अब इरानले विश्वकप खेल्ने सम्भावना निकै कम छ,’ उनले भनेका छन् । ट्रम्प प्रशासनले इरानी फुटबल समर्थकमाथि यसअघि नै अमेरिका प्रवेशमा रोक लगाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्