२३ असार २०८३, मंगलबार
चुनावी ग्राउन्ड जिरो

लमजुङमा घण्टीको चर्चा, आफ्नै किल्लामा चुनाव जित्न पृथ्वीसुब्बालाई ‘महाभारत’ !

लमजुङमा घण्टीको चर्चा, आफ्नै किल्लामा चुनाव जित्न पृथ्वीसुब्बालाई ‘महाभारत’ !

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई यसपटक चुनाव जित्न ‘महाभारत’ रहेको देखिएको छ । 

लमजुङका बेँसीशहर, सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिकाका विभिन्न वडामा पुगेर ३०० भन्दा बढी मतदातासँग कुराकानी गर्दा गुरुङ निकै रक्षात्मक रहेको हामीले पायौं । 

अघिल्लोपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई पराजित गरेका गुरुङ जेनजी आन्दोलनपछि आलोचनाको केन्द्रमा रहेको देखिन्छ ।

लमजुङ पुग्दा स्थानीय मतदाताले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, जेनजी आन्दोलनको समयमा दिएको अभिव्यक्ति आदिलाई लिएर पीएसको आलोचना गरिरहेको पाइयो । 

२०७९ मा गुरुङ ३४ हजार ९८५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेससहितको गठबन्धनका माओवादी उम्मेदवार देवप्रसाद गुरुङले ३१ हजार ७९१ मत ल्याएका थिए । रास्वपाका धर्मराज केसीले ९ हजार ३३ र राप्रपाका बालचन्द्र श्रेष्ठले १ हजार २३४ मत पाएका थिए ।

अघिल्लोपटक पीएसभन्दा झण्डै २५ हजार कम मत ल्याएका रास्वपाका धर्मराज केसीले यसपटक कडा चुनौती दिएको देखिन्छ ।

यो क्षेत्रमा एमाले र रास्वपाका अलवा नेपाली कांग्रेसले गमप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट हरिजंग तामाङ, राप्रपाबाट केविन्द्रजंग गुरुङसहित १२ उम्मेदवार छन् ।

के भन्छन् मतदाता ?

सुन्दरबजार नगरपालिका ६ का गोपी श्रेष्ठले एमालेले केही नगरेको गुनासो गरे । ‘एमालेले केही गरेन । रास्वपा उम्मेदवार युवा र योग्य छन् । भोट हाल्ने दिनसम्म के हुन्छ, हेरौं ।’

गोपी श्रेष्ठ ।

सुन्दरबजार ४ पछारथोक दुराडाँडाका दीपक अधिकारीले पनि बाहिरी माहोल घण्टीको भए पनि भोट हाल्ने दिनसम्म के हुन्छ ? भन्दै संशय व्यक्त गरे । आफ्नो वडा भने एमालेले जितेको उनको भनाइ थियो ।

सुन्दरबजार ६ कै शंकर खनालले घण्टीको चर्चा बढी रहेको बताए ।

शंकर खनाल ।‘भित्र गएपछि के गर्छन् थाहा छैन, तर चर्चाचाहिँ घण्टीको बढी छ’, उनले भने । उनले आफूले कसलाई भोट हाल्ने खुलाउन चाहेनन् ।

साधुराम पण्डित ।

सुन्दरबजारकै ठाँटीचौरका साधुराम पण्डितले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले माहोल राम्रो बनेको बताए । ‘योग्यता/क्षमता राम्रो भएका उम्मेदवार छन् । वातावरण इन्जिनियर हुन् । जिते केही गर्लान् कि भन्ने आश छ’, पण्डितले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै नयाँलाई एकपटक हेरौं भन्ने धारणा बनेको बताए ।

अलिफ दिन मिया ।

सुन्दरबजारकै मिलनचोकका अलिफ दिन मिया र सायरा मियाले पनि घण्टीमा भोट हाल्ने बताए । ‘अहिलेसम्मकाले केही गरेनन्, नयाँलाई एकपटक हेरौं न भन्ने विचार छ’, सायराले भनिन् ।

अलि दिनले आफ्नो टोल पहिले कांग्रेसको गढ भए पनि अहिले घण्टीको माहोल रहेको बताए । 

 इन्दिरा अधिकारी ।

सुन्दरबजार- ४ सत्रसय फाँटकी इन्दिरा अधिकारीले गाउँ-ठाउँका समस्याबारे एमालेलाई पटक-पटक भने पनि समाधान नभएको बताइन् । यसपटक घण्टीलाई भोट हाल्ने उनको भनाइ थियो ।

चन्द्रबहादुर बराल ।

सोही ठाउँमा भेटिएका चन्द्रबहादुर बरालले हारे पनि पीएसले कुनै न कुनै पद पाउने बताए ।

‘पीएस गुरुङ ठूलो नेता हुन् । उनले हारे पनि कुनै न कुनै पद पाउँछन् । पीएसले यहाँका घर-घर चिन्या छन्, रास्वपाका धर्म केसीले कतिपय गाउँ पनि चिन्या छैनन्’, उनले भने ।

अघिल्लोपटक चुनाव हारेदेखि गाउँमा नदेखिएका केसी यसपटक चुनावका बेला मात्र गाउँ आएको उनको भनाइ थियो ।

मध्यनेपाल नगरपालिका ६ का रामे सार्कीले यसपटक घण्टीमा भोट हाल्ने बताए । 

मध्यनेपाल १ का रुद्रबहादुर मझकोटीले गाउँ-ठाउँका युवाले जे भन्छन्, आफूले त्यही गर्ने बताए । आफ्नो छोरालाई क्यान्सर हुँदा गाउँका युवाले पैसा उठाएर उपचार गरिदिएकाले यसपटक युवाको बचन ननाघ्ने उनको भनाइ थियो ।

रुद्रबहादुर मझकोटीसमेत ।

‘केटाहरूले रुख भने रुख, घण्टी भने घण्टी र सूर्य भने सूर्यमा भोट हाल्छु’, उनले भने ।

मध्यनेपाल ६ भोर्लेटारका के सिंह गुरुङले आफ्नो ठाउँमा नेकपा र कांग्रेस धेरै रहेको बताए । केही युवा भने घण्टी भनेर हिँडेको उनको भनाइ थियो ।

‘बजार एरियामा माओवादी (हाल नेकपा) र यता कांग्रेस बढी छन्’, गुरुङले भने, ‘केही युवा घण्टी भनेर पनि हिँडेका छन् । हाम्रो के हुन्छ थाहा छैन ।’ पहिले एमालेलाई मत दिएको उनले खुलाए ।

मध्यनेपाल ६ का प्रदीप शाहले एमालेका पीएस गुरुङले चुनाव हार्ने विश्लेषण गरे ।

प्रदीप शाह ।

‘पहिले हामीले पीएसलाई भोट दिएको हो, यसपटक फुस्किन्छन्’, उनले भने, ‘अब हाम्रो भोट घण्टीलाई हो ।’

मध्यनेपाल ३ का गंगाबहादुर थापा मगरले आफूलाई चुनावी माहोलबारे खासै थाहा नभएको बताए । गाउँ-ठाउँमा जता भन्छन्, त्यतै मत हाल्ने उनको भनाइ थियो ।

मध्यनेपालकै मिलनटोलका गंगा रानाभाटले कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने सुनाए ।

‘यहाँ ३ दलको प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘कांग्रेसले राम्रो उम्मेदवार उठाएको छ । इमान्दार छन् ।’

मध्यनेपाल ६ भोर्लेटारका पदमबहादुर रानाभाटले जसलाई भोट दिए पनि केही नहुने भन्दै आक्रोश पोखे । 

‘चुनावमा यस्तो गर्छौं, उस्तो गर्छौं भन्छन्, तर गर्दैनन्’, उनले भने, ‘कसैले केही गर्दैनन्, दु:ख नगरी खान पाइन्न ।’

श्रीप्रसाद रेग्मीसमेत ।

उनीसँगै भेटिएका श्रीप्रसाद रेग्मीले नेपालको अहिलेसम्मको राजनीति देखेर दिक्दार भएको बताए । उनले आफू शुरूआति कालदेखि नै तत्कालीन माओवादीमा आवद्ध भएको खुलाए ।

मध्यनेपाल १० थानसिङका प्रेमबहादुर कुँवरले अहिलेसम्म कसलाई भोट दिने भनेर निर्णय नगरेको बताए । ‘भोट माग्न कोही आएका छैनन् । पहिले एमालेलाई भोट दिँदै आएको हो, अब के हुन्छ हेरौं’, उनले भने ।

प्रेमबहादुर कुँवर र नेत्रबहादुर गुरुङ ।

उनीसँगै रहेका नेत्रबहादुर गुरुङले भने आफूले कांग्रेसलाई मत दिँदै आएको खुलाए ।

राइनास नगरपालिका ६ धमिलीकुवाका चन्द्रमान श्रेष्ठले लमजुङमा घण्टी बज्ने सम्भावना रहेको बताए । 

चन्द्रमान श्रेष्ठ र किशोर चिलवाल ।

‘अहिलेसम्म चुनावी माहोल त सुनसान छ । घण्टी बज्छ कि भन्ने छ’, उनले भने, ‘सबैको तामासा हेरियो । मोबाइलमा हेरियो । समाचारमा पनि हेरियो ।’

राइनासकै ३३ वर्षीय किशोर चिलवालले पहिला एमालेको झण्डा नै बोकेर हिँडे पनि यसपटक रास्वपालाई मत दिने बताए । 

‘पहिला एमालेको झण्डा नै बोकेर हिँडेको हो । यसपटक घण्टीमा भोट हाल्छु । एक दिन धर्म केसीलाई सहयोग गर्न अभियानमा पनि हिँडियो । बाइकमा आफैं पेट्रोल हाल्यौं, खाजा आफ्नै पैसाले खायौं’, उनले भने ।

राइनास ५ तीनपिप्लेकी कृष्णमाया न्यौपानेले पहिला आफ्नो ठाउँमा माओवादी धेरै रहे पनि यसपटक घण्टीको चर्चा रहेको बताइन् । ‘यो धेरै माओवादी भएको वडा हो’, अहिले घण्टीकै चर्चा बढी छ’, उनले भनिन् ।

कृष्णमाया न्यौपाने ।

आफूलाई माओवादी पृष्ठभूमिको बताएकी उनले छोराछोरीले भनेको मान्ने बताइन् । ‘छोराछोरी र नातिनातिनाले घण्टीमा भोट हाल्नुस् भनेका छन् । भनेको मान्नुपर्‍यो । उनीहरूको भविष्य पनि हेर्नुपर्‍यो’, न्यौपानेले भनिन् ।

सुन्दरबजार ९ भोटेओडारका निपेन्द्र श्रेष्ठले भोट नहाल्नेहरू मात्र घण्टी भनेर हिँडेको बताए ।

‘सबैले जित्छु भन्या छन् । भोट हाल्ने जति प्राय: आफ्नै सिद्धान्तमा छन्, नहाल्नेलेचाहिँ घण्टी भन्दै हिँडेको देख्छु’, श्रेष्ठले भने । 

उनीसँगै रहेका इन्द्रलाल श्रेष्ठको पृष्ठभूमि एमाले रहेछ । उनले यसपटक पीएस गुरुङलाई गाह्रो रहेको बताए । 

‘जेनजी आन्दोलनको कुराले पीएसलाई गाह्रो छ भन्ने छ', उनले भने, ‘तैपनि गोप्य मतदान हो, के हुन्छ, भन्न सकिन्न ।’

बेँसीशहर नगरपालिकामा पर्ने रामचोकटारका पदमकुमार श्रेष्ठले पुराना दलसँग अघाएको बताए । ‘पहिला कांग्रेस हो, त्योसँग अघायौं । माओवादीलाई पनि भोट दिएकै हो । सबैसँग आत्तियौं । अब जो माग्न आउँछ, उसैलाई दिने’, उनले भने ।

पदमकुमार श्रेष्ठ ।

दोर्दी गाउँपालिका ४ नौथर शेराका विष्णु घिमिरेले कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने सुनाए । सोही ठाउँकी लालमाया गुरुङले चुनावी माहोलबारे खुलेर कुरा गर्न चाहिनन् । ‘म त भोट बेच्ने हो’, ठट्यौली पारामा उनले भनिन् ।

दोर्दी ४ का विराज गुरुङले स्थानीय चुनावको जस्तो माहोल नरहेको बताए । ‘यसपटक खासै चहलपहल छैन । के हुन्छ भन्न सकिँदैन’, उनले भने ।

दोर्दी गाउँपालिकाकै सुकमाया गुरुङले पनि कांग्रेस, एमाले र रास्वापबीच प्रतिस्पर्धा हुने बताइन् । ‘यहाँ कांग्रेस र एमाले हो । अहिले नयाँ भन्ने पनि छन्’, गुरुङले भनिन् ।

सुकमाया गुरुङ, सुरेन्द्र गुरुङसमेत ।

दोर्दी ७ फलेनीका सुरेन्द्र गुरुङले विकास निर्माणसम्बन्धी गुनासो राखे । हालै भएको पिचतिर हेर्दै उनले भने, ‘यहाँ एक लेयर मात्र पिच भएको छ । बर्खासम्म पनि टिक्दैन’, उनले भने ।

दोर्दी ४ का कल्याण अधिकारीले आफू साविक नौथर गाविसमा एमालेका ५ संस्थापक सदस्यमध्ये एक भए पनि अहिले रास्वपालाई मत दिने बताए । 

कल्याण अधिकारी ।

‘पीएस २०४३ मा जनपक्षीय उम्मेदवार हुँदादेखि साथ दिएको हुँ । पछिल्लो समय स्वतन्त्र हिसाबले बसेको थिएँ । बालेन शाह रास्वपामा प्रवेश गरेपछि मैले पनि त्यसतर्फ मन बनाएको छु’,उनले भने, ‘एमालेमा कार्यकर्ताको संरक्षण भएन । नयाँलाई स्वागत र पुरानालाई सम्मान गर्नुपर्नेमा त्यसो हुन सकेन ।’

बेसीँशहर– ११ रामचोकबेसीका विष्णु रानाले आफ्नो ठाउँमा कांग्रेस नै धेरै रहेको बताए । उम्मेदवारका हिसाबले पनि कांग्रेसकै अब्बल रहेको उनको भनाइ थियो । 

‘हाम्रो टोलमा धेरै त कांग्रेस नै छन् । योग्यताको हिसाबले पनि कांग्रेसकै उम्मेदवार योग्य हुन् । शिक्षा र कृषिको आधुनिकीकरणका पक्षपोषक हुन्’, रानाले भने ।

बेँसीशहर १० बाँझोखेतका राजेन्द्र तामाङले तामाङ उम्मेदवार भएका कारण नेकपालाई मत दिने बताए ।

राजेन्द्र तामाङ ।

‘हाम्रोमा एमाले धेरै छन् । सेकेन्डमा माओवादी हो । माओवादीले तामाङ उम्मेदवार उठाएको छ । हाम्रो भोट त्यतै जान्छ’, उनले लोकान्तरसँग भने ।

बेँसीशहर ७ बेसीँशहर बजारका रामबहादुर श्रेष्ठले कति एउटै पार्टीलाई मत दिने भन्ने हल्ला आफूले सुने पनि चुनावी माहोलबारे खासै थाहा नभएको बताए ।

गोपाल घिमिरे ।

बेँसीशहर बजारकै गोपाल घिमिरेले यसपटक घण्टीले जित्न सक्ने विश्लेषण सुनाए ।

‘यसपटक घण्टीले जित्न सक्छ । पुराना नेताको काम देखेर जनता वाक्कदिक्क भएका छन् । २०४३ देखि उम्मेदवार बनेका पीएसले केही लछारपाटो लगाउन सकेनन्’, उनले भने, ‘यसपटक उम्मेदवारका हिसाबले घण्टीका ठीक छन् । विद्वान हुन् ।’

बेँसीशहरकै धनबहादुर अधिकारीले चर्चा घण्टीको बढी भए पनि आफूले मत परिवर्तन नगर्ने संकेत गरे । उनले विगतदेखि नै एमालेलाई मत दिँदै आएका रहेछन् ।

‘यहाँ खास प्रतिस्पर्धा त कांग्रेस र एमालेको हो । तर, अहिले रास्वपा पनि छैन भन्न मिल्दैन । अघिल्लोपटक एमालेले गठबन्धनविरुद्ध एक्लै उठेर जितेको हो’, उनले भने ।

सुन्दरबजार ६ का लोकबहादुर थापाले आफ्नो ठाउँमा पहिले कांग्रेस–एमाले बढी रहे पनि यसपटक घण्टीको हल्ला चलेको बताए । सोही वडाका मीन मगरले जसले राम्रो काम गर्छ, उसैलाई मत दिने बताए ।

‘हामी त हेर्ने हो, जसले राम्रो गर्छ त्यसलाई मत दिने हो । बाहिर भन्दै हिँड्ने कुरा भएन, हारेको दिन भोट नपाउनेले थाहा पाइहाल्छ’, मगरले भने ।

सुन्दरबजार २ का मनबहादुर परियारले यसैले जित्छ भन्न सक्ने अवस्था नरहेको बताए ।

‘पहिलेदेखि एमाले–कांग्रेसले जित्दै आएको हो । त्यस्तो राजनीति त म जान्दिनँ, अलि–अलि घण्टी भनेको सुनिन्छ । रुख, सूर्य, तारा र घण्टीकै प्रतिस्पर्धा हुन्छ’, उनले भने ।

प्रणयबहादुर देवकोटा ।

सुन्दरबजार ६ भिजनचोकका प्रणयबहादुर देवकोटाले उम्मेदवारकै वडा भएकाले घण्टीको माहोल रहेको बताए ।

सुन्दरबजार भिजनचोकका कृष्णहरि अधिकारीले घण्टीले जित्ने दाबी गरे । प्रतिस्पर्धा भने रुखसँग हुने उनको अनुमान थियो ।

कृष्णहरि अधिकारी ।

सुन्दरबजार ९ भोटेओडारकी पार्वती तिवारीले एमालेले आफ्नो मत जोगाए जित्न सक्ने विश्लेषण गरिन् । ‘एमालेका क्रियाशीलहरूले मात्र दिए भने पनि पीएसले जित्छन्, घण्टीले भोट कति काट्छ भन्ने हो,’ उनले भनिन् ।

मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारका सीतारमण रानाभाटले ‘अहिले चुनावमा सबै दलहरू तितरबितर भएको बताए । ‘कुनै पनि दलको पहिलेको जस्तो पकड देखिँदैन । यसअघि जितेका पृथ्वीसुब्बा गुरुङको माहोल जेनजी आन्दोलनपछि बिग्रिएको छ । भन्न त अधिकांशले घण्टी भन्दै हिँडेका छन्, मत हाल्ने बेलासम्म कतातिर माहोल जान्छ, थाहा हुन्न ।’

मध्यनेपाल ८ स्याउलीबजारका प्रेम गुरुङले आफ्नो ठाउँ एमालेको गढ भए पनि यसपटक घण्टीलाई मत दिने बताए । ‘पहिलेदेखिको गढ भए पनि अहिले एमाले घटिरहेका छन् । घण्टी बजाउने हो । हाम्रो गाउँतिर सबै घण्टी मात्रै भन्छन् । घण्टीले जित्छ । पुरानाले केही गरेनन् । एक चान्स त दिऊँ ।’

मध्यनेपाल ८ की ४३ वर्षीया महिलाले एक भोट घण्टी र एक भोट हलोमा दिने बताइन् । ‘एक भोट घण्टी, एक भोट हलोलाई हो । राप्रपाले जित्दैन, तर पनि दिने हो । आफ्नो आस्था भएको पार्टी हो । घण्टीले फिक्स जित्छ ।’

मध्यनेपाल ६ भोर्लेटारका लालबहादुर भुजेलले गाउँमा शान्त माहोल रहेको बताए ।

‘पार्टीहरू आफ्नो सुरमा छन् । सबैतिर शान्त छ । यहाँ जाने, त्यहाँ जाने, त्यसमा भोट हाल्ने जस्तो तछाडमछाड छैन । नवयुवाहरू घण्टीमा जान्छन् होला । परिवर्तनको पक्षमा माहोल बनिरहेको छ,’ उनले भने ।

लमजुङको बेसीशहर ।मध्यनेपाल ६ की नमिता लामिछानेले एकपटक नयाँलाई हेर्ने बताइन् । उनले गाउँमा स्वास्थ्योपचारको उचित सुविधा नभएको गुनासो गरिन् ।

‘विकास त भयो, तर यहाँ एउटा गतिलो हस्पिटल छैन । सानो उपचारका लागि पोखरा जानुपर्ने बाध्यता छ । एउटा हेल्थपोस्ट छ । त्यसले ठिकै हो तर, हातखुट्टा भाँचिदा यहीँ उपचार हुँदैन । एउटा हस्पिटल बनाइदिए ठूलो राहत हुन्थ्यो । मध्यननेपाल नगरपालिकामा एउटा राम्रो हस्पिटल नहुनु दुर्भाग्य हो’, उनले भनिन् । 

राइनास नगरपालिका ५ तीनपिप्लेका सान्तोष अधिकारीले नयाँ भनिएको दलको कुनै भिजन नरहेको भन्दै आलोचना गरे । 

‘यसअघि पनि एउटा पार्टीको बलियो ठाउँ भन्दाभन्दै माओवादीले जितेको हो । माओवादीको जस्तै लहर आउने हो भने नयाँले जित्न पनि सक्छ । तर, न संगठन छ, न सिस्टम छ, न भिजन छ, न कहाँ जाने भन्ने छ । थोरै तलमाथि गर्न सकेमा उस्तै परे कांग्रेसले जित्न पनि सक्ने सम्भावना छ’, उनले भने । 

तीनपिप्लेकै इस्लानदिन मियाले मतदाता नभएकाहरूले मात्र घण्टी भन्दै हिँडेको बताए ।

‘भोटर कार्ड नभएका, विदेशमा भएका, पार्टीबाटै टिकट नपाएकाहरू घण्टी भन्दै हिँडेका छन् । यहाँ अगाडि एमाले, कांग्रेस र तारा नै आउँछन्,’ उनले भने ।

राइनास ५ कै मदन न्यौपानेले सबैको आ–आफ्नै विश्लेषण रहेको भन्दै पहिलाको मत जोगाउन सके पृथ्वीसुब्बाले जित्ने विश्वास व्यक्त गरे ।

लमजुङको बेसीशहर ।

दोर्दी गाउँपालिका २ अर्चलबोटका नवीन अधिकारीले घण्टीको माहोल बनेको बताए ।

‘यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस, रास्वपा र एमालेकै हुन्छ । यहाँका अधिकांश एमाले उम्मेदवारसँग रुष्ट छन् । एमालेले जित्दै आएको ठाउँमा हारिहाल्छ भन्न सकिन्न, तर जित्न पनि गाह्रो छ । हाम्रो दोर्दी मात्रै हेर्ने हो भने घण्टीको माहोल राम्रो बनेको छ । घण्टी आउने सम्भावना देखिन्छ’, उनले भने । 

दोर्दी ८ का मीनकुमार तामाङले घण्टीको माहोल बनिरहेको बताए ।

‘घण्टीको माहोल बनिरहेको छ । मैले देखेको घण्टी र रूखको प्रतिस्पर्धा हुन्छ । अहिले नयाँलाई चान्स दिने भनेको पार्टी र उम्मेदवार दुवैलाई हो । आन्दोलनपछि पार्टीहरूको सबै बिग्रियो, अब पुराना दलबाट जो उठे पनि भोट दिँदैनन्’, उनले भने । 

बेसीँशहर नगरपालिका ११ रामचोक बुद्धिमान श्रेष्ठले कांग्रेस, एमाले र घण्टीका उम्मेदवारहरू मत माग्न आएको बताए । ‘भोटका लागि एमाले, कांग्रेस र घण्टीका मान्छे आएका थिए । कांग्रेसहरू सैद्धान्तिक छन् । कसैलाई केही भनेर हुँदैन,’ उनले भने ।

बेसीँशहर ११ कै सोनबहादुर मिजारले आफ्नो ठाउँमा घण्टीको माहोल बनेको बताए ।

बेसीँशहर २ मा फलफूल पसल सञ्चालान गर्दै आएका ६० वर्षीय वृद्धले अहिले कांग्रेस, एमाले र घण्टीको चर्चा सुने पनि कसले जित्छ, भन्न नसकिने बताए ।

शेरबहादुर गुरुङ ।

बेसीँशहर १० का शेरबहादुर गुरुङले सूर्य र भाले (मंगोल नेसनल अर्गनाइजेसन)का उम्मेदवारमध्ये कसलाई मत दिने भनेर सल्लाह भइरहेको बताए ।

बेसीँशहर ७ भीमसेनस्थानका परमेश्वर पियाले घण्टीको माहोल रहेको बताए । पुराना दल र तिनका नेतासँग वाक्कदिक्क भएर जनताले घण्टी भनिरहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्