०४ साउन २०८३, सोमबार

अबको सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ- कांग्रेस

शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारप्रति कांग्रेसको आभार
फागुन २१, २०८२
काठमाडौं
अबको सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ- कांग्रेस

नेपाली कांग्रेसले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको भन्दै ‘आभार, सम्मान र बधाई’ प्रकट गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको उल्लेख गरेका छन् ।

‘निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु’, विज्ञप्तिमा लेखिएको छ । 

यस्तै, विज्ञप्तिमार्फत् कांग्रेसले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति नागरिकको गहिरो विश्वासलाई पुष्टि गरेको उल्लेख गरेको छ । 

साथै, अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको पनि उल्लेख गरिएको छ । 

‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं । निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं‚’ कांग्रेसले भनेको छ । 

साथै, कांग्रेसले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ ।

null
 

कमेन्ट गर्नुहोस्