मधेश आन्दोलनका कमान्डर तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशको छोरो प्रधानमन्त्री बन्नु ठूलो उपलब्धि भएको बताएका छन् ।
सर्लाही- २ बाट पराजित भएका नेता महतोले मधेश पूरै बालेन शाहमय हुनुमा मधेशी अनुहार पहिलोचोटि प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख कारण रहेको बताए ।
‘मधेशी अनुहारको रूपमा प्रधानमन्त्री आउनु भनेको नेपालको इतिहासमा पहिलोचोटि हो । कार्यकारी पदमा मधेशीको छोरा पुग्नु एउटा परिवर्तन त हो नै, ऐतिहासिक उपलब्धि पनि हो,’ महतोले लोकान्तरसँग भने, ‘तर, त्यसले चाहिँ मधेशको मुद्दा सम्बोधन भई नै हाल्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यहाँ चाहिँ अब बालेनको भूमिकामाथि निर्भर गर्छ। उहाँको पार्टी रास्वपाको भूमिकामाथि पनि निर्भर गर्छ ।’
बालेन प्रधानमन्त्री हुनु पनि मधेशवादी भावनाकै उत्कृष्ट चाहना रहेको उनले बताए ।
‘एउटा त मधेशी अनुहार यो देशमा पहिलोचोटि प्रधानमन्त्री बन्ने सम्भावना जुन व्यक्त गरिएको थियो, त्यो मधेशवादी भावनाकै उत्कृष्ट चाहना हो,’ महतोले लोकान्तरसँग भने, ‘त्यो हामी मधेशवादीले देखाएकै सपना हो । र, त्यो सपना बालेनलाई मतदान गरेपछि पूरा गर्ने अवस्था जनताले देख्यो नि त । त्यसैले मधेशवादकै, यो त मधेशी जनताकै भावनालाई क्यास गरेको हो उनीहरूले । बालेन प्रधानमन्त्री हुन्छन् भन्ने सपनाको प्रतीकको रूपमा मतदान भएको छ नि त ।'
जनताले बालेनसँग आशावादी भएर मतदान गरेको उनले बताए ।
‘मधेशवादीले लडेर अहिलेसम्म जे जति दिलाउन सके, त्यो त जनताको अगाडि छँदैछ, तर त्यतिले पुगिरहेको छैन । त्यो सपना पनि बालेनले पूरा गराउँछ भनेर जनताले आशा गरेर मतदान गरेको छ,’ उनले थपे, ‘यो त मधेशवादलाई नै अगाडि बढाउनलाई, मधेशवादमा उठाइएका सवालहरूलाई नयाँ ढंगले बालेनले पूरा गर्छ भनेर जनताले आशा गरेर मतदान गरेको छ नि त ।’
तर, अब बालेनको अग्निपरीक्षा शुरू हुने उनले बताए ।
‘बालेन आफैंमा प्रधानमन्त्रीको उम्मेदवार, प्रधानमन्त्री हुनु होला, हुनु पनि पर्छ,’ महतोले लोकान्तरसँग भने, ‘तर, रास्वपा पार्टीको प्रमुख उहाँ होइन । अब त्यो पार्टीको भूमिका कस्तो हुन्छ ? त्यो पार्टीले मधेशीको अनुहार देखाएर मत संकलन त गरेको छ, तर अब त्यो मतको सदुपयोग हुने हो कि होइन ? त्यो हेर्न बाँकी छ ।’
रास्वपाले पनि विगतका कांग्रेस, एमाले र माओवादीजस्तै गर्ने हो कि भन्ने आशंका रहेको उनले बताए । ‘अब रवि लामिछानेले पनि त्यही गर्ने हो कि ? त्यो एउटा चिन्ताको विषय त हो । तर, ठूलो अवसर पनि हो यिनीहरूका लागि । जनताले जुन भरोसा र विश्वास गरेर बालेनको अनुहार हेरेर मतदान गरेको हो, त्यसअनुसार काम होला कि नहोला, त्योचाहिँ हेर्न बाँकी छ ।’
हेर्नुहोस्, भिडियो :