देशका विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आइरहेका छन्। प्रतिनिधि सभा निर्वाचनअघिदेखि नै काठमाडौं उपत्यकासहित बाहिरका शहरहरूमा ग्यासको अभाव हुन थालेको हो।
काठमाडौं उपत्यकाका कुनै पनि ग्यास डिपोमा तत्काल ग्यास पाउने अवस्था छैन। यसका साथै डिलरहरूमा ग्यास आउनासाथ सकिने गरेको छ। यति मात्र होइन, केही स्थानमा त बिहानैदेखि लाइन लागेर उपभोक्ताहरूले ग्यास लिइरहेका छन्।
मध्यपूर्वमा जारी इजरायल–इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउने त्रासले खाना पकाउने ग्यासको माग बढेको हो।
पछिल्लो समय बजारको नियमित खपतभन्दा बढी माग भइरहेका कारणले ग्यास सहज रूपमा नपाइएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।
ग्यास नपाइने मनोविज्ञानका कारण उपभोक्ताहरूले आवश्यकभन्दा बढी ग्यास 'स्टक' राखिदिँदा आपूर्ति बढे पनि बजारमा समस्या देखिएको उनको भनाइ छ।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि दिनदिनै ग्यास अभावका गुनासोहरू आइरहेका छन्। आपूर्तिमा समस्या देखिएका कारण बजारमा सहज रूपमा ग्यास नपाएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए।