
मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवन र झैझगडा भइरहेको भन्ने सूचनापछि खटिएको प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ।
बुधबार राति झैझगडाको सूचनापछि प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर सोधपुछ गर्दा तामाङमाथि नै बियर बोत्तल, खुकुरी र बन्चरो प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिका-१२ हात्तीगौडा बस्ने १९ वर्षीय सनिस तितुङको पेटमा लागेको छ। घटनामा प्रहरी सहायक निरीक्षक तामाङ र तितुङ मध्यम घाइते भएको र उनीहरूलाई सीएमसी चुरेहिल अस्पताल मकवानपुर लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि डीएसपी पुष्कर बोगटीको कमाण्डमा थप टोली खटिएको थियो। टोलीले घटनामा संलग्न थप दुई जना; हेटौंडा-१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।
उनीहरू दुई जना र गोली लागेर घाइते भएकासहित तीनै जनाको पृष्ठभूमि आपराधिक गतिविधिमा संलग्न, लागुऔषध, ज्यान मार्ने उद्योग र चोरीमा पनि संलग्न रहेको देखिएको डीएसपी बोगटीले जानकारी दिए ।