१५ असार २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

फागुन २८, २०८२
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ४९ वर्षीया कमला देवी सुनुवार छन् । उनले क्रोएशिया पठाइदिने भन्दै दुई जनाबाट चार लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोप छ ।

यसैगरी, सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २९ वर्षीया सविना खड्का पनि पक्राउ परेकी छन् । उनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट एक लाख रूपैयाँ ठगी गरेको आरोप प्रहरीले जनाएको छ ।

काठमाडौं दक्षिणकाली नगरपालिका–९ स्थायी घर भई हाल टोखा नगरपालिका–११ बस्ने ४१ वर्षीय अम्बर गुरुङलाई पनि पक्राउ गरिएको छ । उनले क्रोएशिया पठाइदिने भन्दै एक जनाबाट ५० हजार रूपैयाँ लिएको आरोप छ ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्