२७ जेठ २०८३, बुधबार
रिपोर्टिङबाट राजनीतिमा

कांग्रेस–एमालेका किल्ला भत्काउँदै संसद्‌मा लुम्बिनीका दुई पत्रकार

फागुन ३०, २०८२
बुटवल
कांग्रेस–एमालेका किल्ला भत्काउँदै संसद्‌मा लुम्बिनीका दुई पत्रकार

पत्रकारितामार्फत् सार्वजनिक सरोकारका विषयमा खबरदारी गर्दै आएका लुम्बिनी प्रदेशका दुई युवा पत्रकार संसदीय राजनीतिमा प्रवेश गरेका छन्। पत्रकारद्वय बर्दियाका ठाकुरसिंह थारू र अर्घाखाँचीका हरिप्रसाद भुसाल स्थापित दलका ‘किल्ला’ भत्काउँदै संसदीय राजनीतिमा उदाएका हुन्।

एक दशकभन्दा बढी समय पत्रकारिता गरेका थारूले प्रतिनिधि सभा चुनावमा बर्दिया–१ बाट ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता सञ्जय गौतमलाई भारी मतान्तरले पराजित गरे। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन्।

कांग्रेस र एमालेको बलियो संगठन र अनुभवी नेताको वर्षौंदेखिको पकड भर्खरै उदाउँदो पार्टी र उम्मेदवारले भत्काइदिएका छन्। अघिल्लो निर्वाचन (२०७९) मा तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेका थारू पराजित भएका थिए।

दुई वर्षमै नाउपा छिन्नभिन्न भएपछि उनी केही समयअघि मात्र रास्वपा प्रवेश गरेका थिए। झन्डै ५० हजार मतसहित कांग्रेसको आधार क्षेत्र भत्काउँदै उनी अब संसद् छिरेका छन्। थारू ४९ हजार ६३१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत मात्र ल्याए। यस्तै, गौतमले १२ हजार ७२२ मत मात्र ल्याउन सके।

चुनावको मिति घोषणा हुनु केही दिनअघि मात्रै थारू रास्वपा प्रवेश गरेका थिए। २०७९ सालमा गौतम निर्वाचित हुँदा तेस्रो भएका थारूले २३ हजार ९९३ मत पाएका थिए।

पत्रकारिताबाट समाजका मुद्दा उठाउँदै आएका थारूले राजनीतिमा प्रवेश गरेको छोटो समयमै संसदीय सफलता हासिल गरेका हुन्। बर्दिया, बढैयाताल गाउँपालिका–५ का थारू शुरूमा एमाले र २०७९ सालमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। एमाले जिल्ला कमिटी सदस्यसमेत भएका उनी कानुन व्यवसाय, कृषि र पत्रकारितामा समेत आबद्ध थिए। एमालेमा नेतावाद हाबी रहेपछि आफू नयाँ पार्टीमा जोडिन पुगेको उनले बताए। ‘मैले स्थापनाकालमा बर्दियाबाट नयाँ पत्रिकामा काम गरेँ,’ उनी भन्छन्, ‘त्यसपछि बाँके र बर्दियाबाट कान्तिपुर दैनिकमा दस वर्षभन्दा बढी २०७९ सम्म काम गरेँ। टिकापुर घटनाको स्थलगत रिपोर्टिङ गर्ने म पहिलो पत्रकार थिएँ। त्यो बेला ज्यानको जोखिम मोलेर रिपोर्टिङ गरेको अनुभव पनि छ।’

थारूका बुबा भिख्खु पञ्चायती व्यवस्थामै प्रधानपञ्च थिए। ‘मैले कृषक भएर पनि काम गरेँ, साइकल र मोटरसाइकलको टायरको पन्चर मर्मत पनि गरेँ,’ नवनिर्वाचित सांसद थारू भन्छन्, ‘सांसद बनेपछि मेरो पहिलो प्राथमिकता सरकारी कार्यालयमा हुने बेथिति अन्त्य गर्न हेल्प डेस्क राख्ने हुनेछ। सेवाग्राहीको काम नगर्ने र अटेर गर्ने कर्मचारी कारबाहीको दायरामा आउनुपर्छ।’

जनतामा अझै पनि एउटा सांसदले वडाअध्यक्षजस्तो काम गर्नुपर्छ भन्ने बुझाइ रहेको उनले बताए। जनतालाई विधायकी भूमिकाबारे जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ।

यता, वामपन्थी किल्ला भत्काउँदै अर्घाखाँचीका युवा पत्रकार भुसालले पनि संघीय संसद्को यात्रा तय गरेका छन्। उनले ३५ हजार २३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका पीताम्बर भुसालले १२ हजार ३७४ मत मात्रै ल्याए। अर्घाखाँची तत्कालीन नेकपा माओवादी र पछि एमालेबाट लगातार चार पटक चुनाव जितेका टोपबहादुर रायमाझीको क्षेत्र हो।

रायमाझी भुटानी शरणार्थी काण्डमा मुछिएर जेलमा परेपछि उनी यो पटक उम्मेदवार बनेका थिएनन्। आफू जान्ने भएदेखिको राजनीतिमा स्थापित पार्टीका उम्मेदवारलाई भुसालले हराइदिए। भुसाल २०७४ मा प्रदेशसभा–१ मा तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए। विवेकशील छाडेर रास्वपा प्रवेश गरेका भुसाल २०७९ मा पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

त्यो बेला उनले ३ हजार २०० मत ल्याएका थिए। केही समयअघि काठमाडौं बसेर जिल्ला फर्केका उनले सन्धिखर्कमा पत्रकारिता गरेका थिए। उनी मिडिया सञ्चालक, लेखक र व्यवसायी हुन्। ‘मैले धेरै वर्ष सक्रिय पत्रकारिता गरेँ,’ उनी भन्छन्, ‘केही वर्ष अध्ययनको सिलसिलामा काठमाडौंमा रहँदा पत्रकारिता गरेँ। अहिले जिल्लाको एउटा एफएम रेडियोको सञ्चालक छु। पत्रकारिता गरुन्जेल पार्टी सदस्य रहिनँ।’

निर्वाचित भएपछि अहिले उनी जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गरिरहेका छन्। जनताको घरदैलोमा पुगेर उनले जनताको अपेक्षा र भरोसालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै हिँडेका छन्। जनताको घरदैलोमा पुग्दा नागरिकले सुशासन र पारदर्शिताको अपेक्षा राखेको बताए। जनताले रास्वपा र आफूप्रति देखाएको भरोसालाई कामबाट पूरा गरेर देखाउने पार्टीका जिल्ला अध्यक्षसमेत रहेका ३७ वर्षीय भुसालको भनाइ छ।

भुसालले विभिन्न लेख र सामाजिक सञ्जालमार्फत जिल्लाको विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा आवाज उठाउँदै आएका थिए। भुसालले सन्धिखर्कमा आर्ट्स व्यवसाय सञ्चालन गरेका छन्। लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव पनि हुन्। जनताको आवाज संसद्‌सम्म सशक्त रूपमा उठाउँदै जिल्लाको हितका लागि निरन्तर पहल गर्ने भुसालले बताए।

salt training

कमेन्ट गर्नुहोस्