
सिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको छ । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रूपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ ।
बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको अनुसन्धानबाट खुलेको छ ।
सिटिजन्स बैंकका सूचना अधिकारी नारायण राज अधिकारीले कर्मचारीले घरकै पैसा चलाए जसरी नक्कली कागजात बनाएर अनियमितता गरेको स्वीकार गरेका छन् ।
लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘रोजी कणेलले अनअथोराइज्ड हिसाबले ट्रान्जेक्सन गरेको र बदमासी गरेको सत्य हो । उनले अपरेसन इन्चार्जको जिम्मेवारीमा रहेर अनइथिकल काम गरिन् । यो एक प्रकारले घरको पैसा चलाए जस्तै केस हो ।’
घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज कणेललाई मुख्य आरोपी बनाइएको छ । उनीसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको हो ।
सूचना अधिकारी अधिकारीका अनुसार, रोजी कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् र उनले हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकी छिन् ।
बैंकले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बैंकबाट निवेदन प्राप्त भएको र अनुसन्धान भइरहेको पुष्टि गरे ।
प्रहरीले पनि बैंकलाई पत्र पठाएर सबै कर्मचारीको विस्तृत विवरण मागिसकेको छ ।
बैंकका सूचना अधिकारी अधिकारीले प्रहरीले बैंकसँग थप विवरण र अनुसन्धान प्रतिवेदन मागेको र प्रक्रिया अघि बढेको जानकारी दिए ।
अधिकारीले ग्राहकको निक्षेपमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । ‘यो बैंकभित्र गरिएको बदमासी हो, सेवाग्राहीलाई यसबाट कुनै समस्या हुँदैन, उनीहरूको पैसा सुरक्षित छ,’ उनले भने ।
बैंकिङ प्रणालीभित्रै बसेर आफ्नै कर्मचारीले गरेको यो ठूलो परिमाणको हिनामिनाले वित्तीय क्षेत्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
बैंकले अहिले आन्तरिक र कानूनी दुवै प्रक्रियाबाट रकम असुली र दोषीलाई कारबाही गर्ने प्रयास गरिरहेको जनाएको छ ।