०९ असार २०८३, मंगलबार

पश्चिम एसियाको तनावका बीच पनि भारतको अर्थतन्त्र मजबुत रहने रिपोर्टको निष्कर्ष

चैत २, २०८२
काठमाडौं
पश्चिम एसियाको तनावका बीच पनि भारतको अर्थतन्त्र मजबुत रहने रिपोर्टको निष्कर्ष

पश्चिम एसियामा बढ्दो सैन्य तनाव र विश्वव्यापी जोखिमका अवस्थाबीच पनि भारतको समग्र आर्थिक अवस्था मजबुत रहने देखिएको छ। श्रीराम वेल्थ नामक संस्थाले सार्वजनिक गरेको एक प्रतिवेदनले तत्काल बजारमा उतार–चढाव देखिए पनि भारतको बलियो विदेशी मुद्रा सञ्चिति र व्यवस्थापनयोग्य व्यापार घाटाले बाह्य झट्कालाई सामना गर्न पर्याप्त आधार प्रदान गर्ने जनाएको छ।

प्रतिवेदनका अनुसार भारतसँग ७०० अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ। साथै व्यापार घाटा र चालु खाताको घाटा नियन्त्रणयोग्य अवस्थामा रहेका छन्। मुद्रास्फीति र ब्याजदर अपेक्षाकृत कम तथा राजकोषीय घाटा पनि सीमित भएकाले समग्र अर्थतन्त्र स्थिर अवस्थामा रहेको उल्लेख गरिएको छ।

रिपोर्टमा भनिएको छ, 'भारतका समष्टिगत आर्थिक सूचकहरू विदेशी मुद्रा सञ्चिति (७०० अर्ब डलरभन्दा बढी), व्यवस्थापनयोग्य व्यापार तथा चालु खाताको घाटा, कम मुद्रास्फीति र ब्याजदर तथा सीमित राजकोषीय घाटा समग्र अर्थतन्त्रलाई मजबुत बनाउने अवस्थामा छन्।'

यद्यपि, पश्चिम एसियाको तनावको प्रभाव वित्तीय बजारमा तुरुन्तै देखिएको छ। निफ्टी– ५० सूचकांक घटेको छ भने भारतीय रुपैयाँ पनि कमजोर भएको छ। इरानले हर्मुज स्ट्रेटबाट तेल ढुवानी अनौपचारिक रूपमा रोकेको भनाइ सार्वजनिक भएपछि कच्चा तेलको मूल्य ८.१० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

यसका कारण कच्चा तेलमा निर्भर उद्योगहरू जस्तै रसायन, पेन्ट तथा उड्डयन क्षेत्रमा लागत दबाब बढ्ने देखिएको छ।

भारतीय रिजर्भ बैंक (आरबीआई)ले आर्थिक वर्ष २०२६ को दोस्रो अर्धवार्षिक अवधिका लागि कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलर र विनिमय दर १ अमेरिकी डलर बराबर ८८ भारतीय रुपैयाँ रहने अनुमान गरेको छ।

श्रीराम वेल्थका अनुसार कच्चा तेलको मूल्य १० प्रतिशतले बढेमा मुद्रास्फीति करिब ३० आधार बिन्दुले बढ्न सक्छ भने आर्थिक वृद्धिदर १५ आधार बिन्दुले घट्न सक्छ।

त्यस्तै, रुपैयाँ ५ प्रतिशतले अवमूल्यन भएमा मुद्रास्फीति करिब ३५ आधार बिन्दुले बढ्न सक्ने अनुमान गरिएको छ। तर, आरबीआईले विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्ने भएकाले रुपैयाँको अवमूल्यन सीमित रहने प्रतिवेदनले जनाएको छ। साथै, क्षेत्रीय तनाव कम भएमा स्थानीय मुद्रा पनि स्थिर हुने अपेक्षा गरिएको छ।

इतिहासमा भएका भूराजनीतिक संकटहरूको तथ्यांक हेर्दा यस्ता घटनापछि पहिलो महिनामा बजार औसतमा ३.५ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म घट्ने देखिए पनि दीर्घकालीन रूपमा बजारले पुनः सुधार र वृद्धि गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनले औंल्याएको छ।

रिपोर्टले विगतका घटनाको अध्ययनका आधारमा छ महिनाको अवधिमा बजारको प्रवृत्ति सकारात्मक रहने देखिएको जनाएको छ। यद्यपि, हालको तनाव अघिल्ला द्वन्द्वभन्दा लामो समयसम्म रहन सक्ने भए पनि आगामी पाँचदेखि छ साताभित्र स्थिति केही सहज हुन सक्ने अनुमान गरिएको छ।

पश्चिम एसियाको अस्थिरताले भारतमा प्रत्यक्ष प्रभाव पार्ने पनि प्रतिवेदनले जनाएको छ। मध्यपूर्व क्षेत्रमा करिब ९० लाख भारतीय बसोबास गर्छन्, जसले भारतमा आउने कुल विप्रेषणमध्ये करिब ३८ प्रतिशत योगदान गर्छन्।

त्यस्तै, उक्त क्षेत्र भारतका लागि व्यापारिक दृष्टिले पनि महत्वपूर्ण छ। भारतको करिब १५ प्रतिशत निर्यात र २१ प्रतिशत आयात यही क्षेत्रसँग सम्बन्धित छ। संयुक्त अरब इमिरेट्स, इराक र साउदी अरेबिया भारतसँगको द्विपक्षीय व्यापारका प्रमुख साझेदार देशका रूपमा रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्