२७ जेठ २०८३, बुधबार
कांग्रेसको नयाँ नेतृत्वको सकस

पार्टी पराजयपछि गगनको विकल्प– राजीनामा कि अविलम्ब नियमित महाधिवेशन ?

चैत ३, २०८२
काठमाडौं

केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँग संवाद गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सभापति पदबाट राजीनामा दिने बताएको विषय बाहिर आयो ।

नयाँ बानेश्वरमा भएको एक भेटघाटमा थापाले पार्टी सभापतिबाट राजीनामा दिन चाहेको बताएको विषय बाहिर आएपश्चात् पक्ष–विपक्षमा बहस भइरहेको छ ।

२१ फागुनमा भएको निर्वाचनबाट कांग्रेस इतिहासकै कमजोर बन्न पुगेको छ । प्रत्यक्षमा १८ र समानुपातिकमा २० सहित ३८ सीट बोकेर कांग्रेस संसद्मा उपस्थित हुनेछ ।

तीन वर्षअघि खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमतनजिक पुग्दा नेपालकै पुरानो दल कांग्रेस भने नमज्जाले खुम्चिन पुगेको छ ।

२३ र २४ भदौको जेनजी विद्रोह अघिसम्मको पहिलो दल कांग्रेस एकदमै थोरै सिटका साथ दोस्रो स्थानमा खुम्चिँदा पार्टीभित्र उकुस-मुकुसको स्थिति आएको छ ।

२१ फागुनको चुनावको कमान्डर पार्टी सभापतिको नाताले गगन आफैं हुन् । उनी २७ देखि ३० पुससम्म दबाब, विवाद र जटिल परिस्थितिमा विशेष महाधिवेशन गर्दै सभापति बनेका थिए ।

२०७९ को निर्वाचनमा पार्टीलाई पहिलो दल बनाएका शेरबहादुर देउवालाई हटाएर गगन सभापति बने । देउवासँगै धेरै पुराना नेताहरूलाई कांग्रेस राजनीतिबाट बिदा गर्दै गगन सभापति बने पनि कांग्रेसले अपेक्षित नतिजा ल्याउन सकेन ।

यतिसम्म कि 'सभापति देउवाले लीड गरे वा बोले धेरै मत घट्छ' भन्ने भाष्य पनि बनाइयो । देउवा र पुराना नेताको टीमले भोट मागेनन् । उपसभापति विश्वप्रकाश शर्मा चुनावी कमान्डर बन्दा सभापति गगन थापा चुनाव लड्न मधेश झरे ।

उनैले सर्लाही– ४ बाट निर्वाचन हार्दा पहाडी जिल्लाहरूले कांग्रेसको इज्जत केही हदसम्म जोगाइदियो । त्यसैले यो सर्वनाश हारका कारण पार्टी सभापतिबाट राजीनामा दिने विषय बहसमा आएको हो ।

राजनीतिक विश्लेषक प्राध्यापक राजेश गौतम इतिहास लेख्ने र पार्टीभित्र पद्धति विकास गर्ने हो भने सभापति थापाले राजीनामा दिएर नियमित महाधिवेशनबाट पुनः सभापति बन्नेतर्फ लाग्नुपर्ने धारणा राख्छन् ।

'अहिलेको परिस्थितिमा उहाँले अधिवेशन गर्ने प्रयास गर्नुभएको छ, समाधान खोज्न पनि काम गर्नुभएको छ, यो कुरा नकार्न मिल्दैन । तर, नैतिकताको दृष्टिले एकपटक व्यवस्थित रूपमा राजीनामा दिएर अघि बढ्नु उचित हुन्छ, जस्तो मलाई लाग्छ,' गौतमले लोकान्तरसँग भने, 'राजीनामा दिएर पनि आउने अधिवेशनमा फेरि उठ्न पाइहालिन्छ । राजनीति यहीँ समाप्त हुने होइन । त्यसैले इतिहासमा एउटा राम्रो उदाहरण कायम गर्नका लागि पनि उहाँले नैतिक आधारमा राजीनामा दिएर आगामी अधिवेशनतर्फ अघि बढ्नु राम्रो हुन्छ भन्ने मेरो धारणा हो ।'

२१ फागुनको निर्वाचनमा कांग्रेस पार्टीभित्र असन्तुष्टिको पोको बोकेर लडेको थियो । पुस ३० मा विशेष महाधिवेशन गरेर माघ ६ गते सबै निर्वाचन क्षेत्रमा गगनले टिकट बाँडेका थिए । १०६ नयाँ अनुहार चुनावी मैदानमा उतारेका थिए ।

मधेशको भोट समानुपातिकमा पनि चाहिन्छ भन्दै निर्वाचन लड्न सर्लाही झरे । भिजन १० ल्याए । 'बदल्यौं कांग्रेस, बदल्छौं देश' भन्दै 'अबकी बार सय पार' को नारा पनि लाग्यो । केन्द्रीय समिति बैठकले गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्‍यो । यद्यपि उनी आफैंले भने चुनाव जित्न सकेनन् ।

विशेष महाधिवेशनबाट बनेको सभापति, भावी प्रधानमन्त्री तथा पार्टीको सर्वनाश हार भइरहँदा उनको राजीनामा माग्ने आफ्नै दलबाट एकपछि अर्को निस्किए । सामाजिक सञ्जालभरि उनको राजीनामा माग्ने काम भयो । विशेष गरेर हिजोको विशेष महाधिवेशनका विरोधीहरूले गगनको राजीनामा माग्दै हिँडिरहेकै छन् । यस्तोमा गगन थापा र उनको नेतृत्वमा रहेको सिंगो कार्यसमितिको मनोविज्ञान चाहिँ के छ त? यो प्रश्नमा पार्टी सहमहामन्त्री डा. डिला संग्रौला अहिले आरोप–प्रत्यारोप भन्दा पनि नियमित महाधिवेशन सम्पन्न गर्न अघि बढ्नुपर्ने बताउँछिन् ।

'चुनाव आयो, हामीले लड्यौं, तर अपेक्षित नतिजा प्राप्त गर्न सकेनौं । त्यो त छोटो समयको अवस्था थियो । त्यसैले अहिले आवश्यक कुरा भनेको शान्त ढंगले समीक्षा गरेर पार्टीलाई फेरि एक ठाउँमा उभ्याउनु हो,' उनले लोकान्तरसँग भनिन्, 'अहिलेको निकास भनेको नियमित महाधिवेशन नै हो । कसले राजीनामा दिने, को कहाँ जाने भन्ने बहसभन्दा पनि सबै कुरा नियमित महाधिवेशनबाटै तय हुन्छ ।'

कांग्रेस अहिले प्रतिपक्षमा रहन र प्रतिपक्षीका रूपमा सशक्त बन्नका लागि पार्टीभित्र एकता आवश्यक रहेको उनको भनाइ छ ।

'पार्टी एकतालाई मजबुत बनाउने सूत्र भनेको नियमित महाधिवेशन नै हो,' उनले थपिन् ।

पार्टी एकताका लागि पुरानो संस्थापन पक्षको भने फरक मत छ । पार्टीको अहिलेको अवस्था आउनुमा गगन थापा र विश्वप्रकाश शर्मा जिम्मेवार रहेको आरोप सो पक्षका नेताहरूले लगाइरहेका छन् ।

निर्वाचन भनेको युद्धजस्तै भएकाले पनि युद्ध घोषणा भएपछि सेनापति र सिपाहीबीच विभाजन ल्याउनु ठूलो ऐतिहासिक भूल भएको तर्क उनीहरूको छ ।

देउवा सभापति रहँदा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका नेता मीन विश्वकर्माले 'अब सच्चिने कि सक्किने' भन्ने मोडमा पार्टी पुगेको बताए ।

'सक्किने भनेको एक पक्षले अर्को पक्षलाई अस्वीकार गरेर अघि बढ्ने बाटो हो । तर, सच्चिने भनेको विगतका गल्तीहरू स्वीकार गरेर सुधार गर्ने हो । हिजो हामीले अरूलाई गलत भनेका थियौं, तर त्यो मात्र सत्य रहेन, त्यसैले अब विगतका गल्ती र कमजोरी स्वीकार गर्दै अघि बढ्नुपर्छ,' उनले भने, 'चुनावमा जे भयो, त्यो भयो । विशेष महाधिवेशन र त्यससँग जोडिएका विवादहरूलाई बिर्सिएर, पहिले तय भएको कार्यतालिकाअनुसार पुस मसान्तसम्मको अवस्था र वैशाखको अधिवेशनको कार्यतालिकालाई आधार मानेर पार्टीलाई अगाडि बढाउनुपर्छ ।'

विश्वकर्मा अब तुरुन्तै नियमित महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राख्छन् । नियमित महाधिवेशन गगनको नेतृत्वमा नभई १४ औं महाधिवेशनको नेतृत्वले गर्नुपर्ने उनको तर्क छ ।

'यसबीचमा कसैले कसैलाई कारबाही गर्ने वा दण्डित गर्ने जस्ता काम नगरी, सबैलाई खुला वातावरण दिनुपर्छ,' उनले थपे, 'जसले जे गरेको भए पनि त्यसलाई बिर्सिएर अघि बढ्ने हो भने मात्र पार्टीलाई जोगाउन सकिन्छ । अहिले पार्टीलाई बचाउने मुख्य बाटो यही नै हो ।'

विश्लेषक राजेश गौतम गगन थापाले भविष्यमा पनि सक्रिय राजनीति गर्ने हो भने अहिलेको विवाद र दोषारोपणको बोझ बोकेर अघि बढ्न गाह्रो हुने धारणा राख्छन् ।

कांग्रेसका दुवै पक्ष बसेर आत्मसमीक्षा गरी नियमित महाधिवेशनमा अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

'कांग्रेसलाई एकताबद्ध राख्नका लागि यही बाटो उपयुक्त हुन्छ,' उनी थप्छन्, 'कमसेकम सहानुभूति र सहकार्यको वातावरण बनाउँदै आगामी अधिवेशनमा गगनजीलाई एउटा उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत गर्ने सम्भावना पनि खोज्न सकिन्छ । यदि त्यसरी सहमतिमा अघि बढ्न सकियो भने कांग्रेस फेरि एक ढिक्का भएर अगाडि बढ्न सक्छ ।'

यसरी जान नसके पार्टीभित्रको विभाजन कायम रहिरहने खतरा हुने र गिरिजाप्रसाद कोइराला तथा शेरबहादुर देउवाबीच देखिएको ६०–४० को विभाजनजस्तो अवस्था दोहोरिने उनको विश्लेषण छ ।

'सबै समस्याको समाधान भनेको सकेसम्म छिटो नियमित महाधिवेशन गर्नु हो । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर पार्टीलाई एकताबद्ध बनाउनु आवश्यक छ । अन्ततः आजसम्म जे–जस्तो अवस्था सिर्जना भयो, त्यो भुल्दै सबै मिलेर पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्नुपर्छ,' उनी भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्