
इरानका राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलले मंगलबारै उनको मृत्यु भएको दाबी गरेपछि इरानले बुधबार औपचारिक रूपमा पुष्टि गरेको हो ।
इजरायलले आफ्नो हवाई आक्रमणमा लारिजानी मारिएको जनाएको थियो । तेहरानमा सोमबारदेखि मंगलबार बिहानसम्म भएको व्यापक आक्रमणमा उनको मृत्यु भएको बताइएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा लारिजानीले इस्लामिक क्रान्ति र देशका लागि लामो समय सेवा गरेको उल्लेख गर्दै ‘सम्मानपूर्वक शाहदत प्राप्त’ गरेको जनाइएको छ ।
लारिजानी इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनी का निकट मानिन्थे र युद्ध रणनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए । केही साताअघि अमेरिका–इजरायल आक्रमणमा खामेनीको मृत्यु भएपछि मध्यपूर्वमा तनाव झनै चर्किएको छ ।
यसैबीच, इजरायलले नयाँ सर्वोच्च नेता मोजतबा खामेनी लाई पनि निशानामा राख्ने संकेत दिएको छ । इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले उनलाई खोजी गरी आवश्यक कारबाही गर्ने बताएका छन् ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले स्ट्रेट अफ हर्मुजमा तेल ढुवानीका विषयमा सहयोगी राष्ट्रहरूको असहयोगको आलोचना गर्दै अमेरिका आफैं सक्षम रहेको बताएका छन् ।