
पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ ।
पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।
तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताए ।
‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौं’, उनले भने, ‘अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।’
उनका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।