
लामो प्रयासपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा शुरू भएको छ ।
सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले १२ करोड लगानीमा मशिन खरिद गरेको थियो ।
शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाको शुरू गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्य रहेको छ ।
एमआरआई सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘यसलाई नमूना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । ‘एमआरआई मशिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘एक हजार दुई सय शय्याको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’
अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अबको तीन वर्षभित्र प्रादेशिक अस्पताल देशकै ठूलो र सुविधासम्पन्न अस्पताल हुने बताए ।