
बलिउड अभिनेता सलमान खानको प्रतिक्षित चलचित्र 'मातृभूमि' को प्रदर्शन मिति सरेको छ । आगामी अप्रिलको सुरुवातमै प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्म अब प्राविधिक र केही दुःखद कारणले गर्दा पछि धकेलिएको हो ।
इन्डिया टुडेका अनुसार फिल्मको प्रदर्शन मिति सर्नुको मुख्य कारण यस चलचित्रका मुख्य भिलेन तथा 'इन्डियन आइडल ३' का विजेता गायक एवं अभिनेता प्रशान्त तामाङको आकस्मिक निधन हो ।
नेपाली मूलका चर्चित कलाकार प्रशान्तको गत जनवरी ११ मा ४३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । उनको निधनले फिल्म निर्माण टोली ठुलो समस्यामा परेको छ ।
फिल्म स्रोतका अनुसार प्रशान्त तामाङले 'मातृभूमि' मा भिलेनको निकै शक्तिशाली भूमिका निभाएका थिए । उनले फिल्मका धेरै महत्त्वपूर्ण दृश्यहरूको छायांकन गरिसकेका थिए, तर केही मुख्य एक्सन दृश्यहरू खिच्न बाँकी नै थियो । ती दृश्यहरूका लागि दुईवटा सेड्युल तय गरिएका थिए, जुन प्रशान्तको निधनका कारण अधुरै रहेका छन् ।
अहिले निर्माण पक्षका सामु ठुलो चुनौती खडा भएको छ । सुरुवातमा उनको ठाउँमा अर्को कलाकार राखेर पुनः छायांकन गर्ने सोचिए पनि सलमान खानको व्यस्त कार्यतालिका र उनको फिल्मको 'लुक' का कारण त्यो सम्भव देखिएको छैन ।
यस्तो अवस्थामा निर्माण टोलीले बाँकी दृश्यहरूमा प्रशान्तकै अनुहार 'सुपरइम्पोज' गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स र भीएफएक्स प्रविधिको प्रयोग गर्नेबारे पनि छलफल गरिरहेको छ । यद्यपि, यसका लागि प्रशान्तको परिवारबाट अनुमति लिनुपर्ने हुन्छ ।
अपूर्वा लाखियाको निर्देशनमा बनेको यस फिल्ममा सलमान खानका साथै चित्रांगदा सिंह मुख्य भूमिकामा देखिनेछिन् । स्क्रिप्टमा केही परिवर्तन र प्राविधिक कार्यहरू बाँकी रहेकाले अब यो फिल्म आगामी अगस्ट १५ (भारतीय स्वतन्त्रता दिवस) को अवसर पारेर प्रदर्शन हुन सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।