
यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ ।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए ।
उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ ।
यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले रु ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् ।
गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् ।
यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाई गरेको छ ।
गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु ३३ लाख २६ हजार ३२० कमाई गरेको छ भने गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । चलचित्र ‘काजी’ ले रु ४० लाख ८८ हजार १७५ कमाएको छ ।
गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा रु एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।