२८ जेठ २०८३, बिहीबार
सामाजिक अभियन्तादेखि संसद्सम्म

सामाजिक क्षेत्रमा काम गर्दागर्दै संसदीय राजनीतिमा ज्ञानु

चैत ७, २०८२
बुटवल
सामाजिक क्षेत्रमा काम गर्दागर्दै संसदीय राजनीतिमा ज्ञानु

समाजमा व्याप्त अन्धविश्वास, असमानता र बेथितिविरुद्ध बुलन्द आवाज उठाउँदै आएकी ज्ञानु पौड्याल संसदीय राजनीतिमा प्रवेश गरेकी छन्। सामाजिक क्षेत्रमा काम गर्दागर्दै ज्ञानु संसदीय राजनीतिमा प्रवेश गरेकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ खसआर्यबाट उनी प्रतिनिधि सभा सदस्य बनेकी हुन्। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै एक वर्षअघि मात्रै उनी रास्वपाको राजनीतिक यात्रामा जोडिएकी थिइन्।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय ५५ वर्षीया पौड्यालको संघीय संसद्मा प्रवेशले भैरहवावासी खुसी छन्। अब समग्र मुलुकको विकास, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने ज्ञानु बताउँछिन्। रूपन्देहीको पर्यटन प्रवर्द्धन, राज्यको ठूलो लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, महिला उद्यमशीलताको विकास, सहकारी क्षेत्रका विविध समस्याको समाधान, पूर्वाधार विकाससँगै मानवीय पुँजी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ। ‘सामाजिक क्षेत्र र उद्यमशीलताको यात्राबाट राजनीतिमा आएकी छु,’ सांसद पौड्याल भन्छिन्, ‘अबको नयाँ राजनीतिक यात्रालाई पनि आफ्नो इमानदारी र नागरिकको भावनाअनुसार अघि बढाउनेछु। गएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) को आन्दोलनको मर्मसहित जनताको अथाह विश्वासलाई रास्वपा र बालेन नेतृत्वको सरकारले न्याय गर्नेछ।’ महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा काम गर्ने पनि ज्ञानुले सोच बनाएकी छन्।

ज्ञानु समानुपातिक होइन, प्रत्यक्ष चुनाव लडेर सांसद बन्न चाहन्थिन्। रूपन्देही क्षेत्र नम्बर–३ मा आम निर्वाचनअघि हुने भनिएको उपनिर्वाचनमा उनी रास्वपाको छनोटमा पनि परेकी थिइन्। तर, अन्तिममा पार्टीले हाल रूपन्देही–३ बाट निर्वाचित डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। ‘जेनजी’ आन्दोलनले प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि उपनिर्वाचन हुन सकेन। त्यसपछि त्यही क्षेत्रमा अघिल्लो पटक सिफारिस भएका लेखजंगलाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि उनी समानुपातिकतर्फ बसेकी थिइन्।

ज्ञानुको व्यक्तित्व, स्थानीय स्तरमा सक्रियता, सामुदायिक प्रभाव जस्ता कारणबाट प्रभावित भएर पार्टीले आफूलाई समानुपातिक सूचीमा राखेको ज्ञानु बताउँछिन्।

द्वन्द्व प्रभावित, अभावमा परेका गर्भवती, सुत्केरी, हिंसामा परेकाहरूको संरक्षण र उद्धारमा उनी भेटिने गर्थिन्। सामाजिक क्षेत्रमा वर्षौँ काम गरेकी उनले यही कर्ममा लगाव राख्नुमा परिवारको प्रभाव गाँसिएको छ। दर्जनौँ संघसंस्थाको नेतृत्व गर्दै आफूलाई उनले स्थापित पनि गरेकी थिइन्। सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी उनले बाल्यकालपछि बर्दियाको अंशुवर्मा माविबाट विद्यालय तहको अध्ययन पूरा गरिन्। एसएलसीपछिको उच्च शिक्षा कर्णालीको सुर्खेतबाट पूरा गरिन्। उनी भैरहवाका दिनेश पौड्यालसँग विवाह बन्धनमा बाँधिएसँगै उनको कर्मथलो रूपन्देही बन्न पुग्यो। उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन्। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा घर भएकी उनी २०४६ सालमा सरकारी सेवाअन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी थिइन्।

९ वर्षजति सरकारी सेवामा काम गरेकी उनी सरकारी जागिर छाडेर पोखरामा लागूऔषध रोकथाम गर्ने काममा लागिन्। त्यससँगै सामाजिक क्षेत्रमा उनको रुचि बढ्दै गयो। समाजसेवामा ज्ञानुको ढोका फराकिलो बन्दै गएपछि आईएनएस, वाच लगायतका दर्जनौँ संस्थामा सफलतापूर्वक काम गरिन्। नमुना एकीकृत विकास परिषद् नामक संस्था खोलेर गर्भवती र सुत्केरीका लागि काम गर्न थालिन्। ‘सुरुमा म सरकारी सेवामा प्रवेश गरेँ,’ ज्ञानु भन्छिन्, ‘तर मेरो रुचि र दक्षता सामाजिक क्षेत्रमा थियो। अहिले फरक र नीति निर्माण तहमा पुगेकी छु। जनताको पक्षमा काम गर्ने सोच र योजना छ। नागरिकले रास्वपाप्रति देखाएको अगाध सद्भावलाई तलमाथि हुन दिने छैन।’

मुलुकमा शान्ति स्थापना भएपछि शान्ति समिति रूपन्देहीको १ वर्ष संयोजक भएर काम गरिन्। शान्ति समितिको नेतृत्व गर्दा जिल्लामा धेरै द्वन्द्व प्रभावितको घाउमा मलम लगाएको उनी बताउँछिन्। उनी आर्थिक सशक्तीकरणमा काम गर्दै आएको देशकै धेरै सेयर सदस्य रहेको जनउत्थान सहकारीकी अध्यक्ष पनि हुन्। जनउत्थान सहकारीमा २६ हजार सेयर सदस्य छन्। महिलाको क्षेत्रमा सामाजिक काम र आर्थिक समृद्धिलाई सँगसँगै लैजान पौड्यालले महत्त्वपूर्ण काम गर्दै आएकी छन्।

कोरोना महामारीको समयमा किसानको तरकारी खेतबारीमा कुहिन थालेपछि कृषि एम्बुलेन्स सञ्चालन गरी ४२ लाख रुपैयाँको तरकारी उपभोक्ताको घरघरमा पुर्‍याएर बिक्री गरियो। यो कामको पहलकदमी पौड्यालले नै गरेकी थिइन्। शान्ति समिति रूपन्देही उत्कृष्ट घोषित भएपछि ज्ञानु २ लाख रुपैयाँबाट पुरस्कृत भइन्।

सफल नेतृत्वको लागि अध्ययन र व्यवस्थापन दुवै आवश्यक पर्ने ज्ञानुको भनाइ छ। ‘आफ्नो नेतृत्व कालमा जसले सफलता प्राप्त गर्छन्, उनीहरू आफ्नो जीवनपछि पनि सबैको स्मरणमा रहिरहन्छन् । त्यसैले राम्रो काम गर्नुपर्छ।’ रास्वपा नेतृत्वमा बन्न लागेको सरकारले देशलाई कम्तीमा पाँच वर्ष स्थिरता दिने उनको भनाइ छ।

सरकारले सुशासन र जवाफदेहितासहित सामाजिक र आर्थिक सफलता बढाउँदै जानेछ। ज्ञानुसँगै रूपन्देहीबाट रास्वपाको समानुपातिकतर्फ श्रद्धा कुँवर, मञ्जु भुसाल, पुनम अग्रवाल र अमृत विक छन्। त्यस्तै रूपन्देहीका ५ वटै क्षेत्रमा रास्वपाले जित निकालेर 'क्लिन स्वीप' गरेको छ। क्षेत्र नम्बर १ मा पार्टीका महामन्त्री सुनील लम्साल, क्षेत्र नम्बर २ मा सुलभ खरेल, क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ मा कन्हैया बनिया र क्षेत्र नम्बर ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन्।

salt training

कमेन्ट गर्नुहोस्