२८ जेठ २०८३, बिहीबार

पुनम अग्रवाल: चाहना प्रसूति रोग विशेषज्ञ बन्ने थियो, तर उद्योगी हुँदै सांसद बनिन्

चैत ७, २०८२
बुटवल
पुनम अग्रवाल: चाहना प्रसूति रोग विशेषज्ञ बन्ने थियो, तर उद्योगी हुँदै सांसद बनिन्

रुपन्देहीकी सफल महिला उद्योगी पुनम अग्रवाल नीति निर्माणको सर्वोच्च पदमा पुगेकी छन् । राजनीति र उद्यमलाई सँगै अगाडि बढाएकी पुनम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । 

भैरहवा निवासी युवा उद्यमी पुनम रास्वपाको समानुपातिकको मधेशी महिलातर्फ एक नम्बरमा थिइन् । निर्वाचन आयोगले प्रदान गर्ने प्रमाणपत्र बुझेसँगै पुनमको उद्योगीबाट भूमिका फेरिएर सांसद बनेको छ । पुनम मानव स्वास्थ्यसँगै खाद्यान्न उत्पादन गर्ने माटो बचाउने गरी प्राङ्गारिक मल पनि उत्पादन गर्दै आएकी छन् ।

रुपन्देहीको रोहणीमा देशकै ठूलो रत्नम अर्गानिक दानेदार मल उद्योग सञ्चालनमा छ । उनी महिला तथा प्रसूति रोग विशेषज्ञ बन्न चाहन्थिन् । उनको यो चाहना पूरा भएन । जीवनको यात्रा उद्योगतिर मोडियो । अहिले सांसद बनेकी पुनमले अब आफूजस्ता युवा देशको बिग्रिएको राजनीति सफा गर्ने ठाउँमा आइपुगेको बताउँछिन् ।

चुनावको बेला उनी पार्टीका उम्मेदवारलाई जिताउन जिल्लाका ५ वटै क्षेत्रमा खटिएकी पनि थिइन । राजनीति सुधार गर्न प्रत्यक्ष र समानुपातिक दुवैतर्फ स्पष्ट बहुमत दिन अग्रवालले जनतासँग आग्रह गरिन् । उनले भनेजस्तै देशभरबाट रास्वपालाई जनताले ठूलो मतसहित विजयी गराए । 

पार्टीलाई जनताले झण्डै दुई तिहाइ मत दिएकाले नागरिकको भरोसा र विश्वास अब बन्ने सरकारले टुट्न नदिने पुनमको विश्वास छ । ‘अबको केही दिनमा मुलुकमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्नेछ’, पुनम भन्छिन्, ‘अब देशमा विकास र परिवर्तनको जनताको चाहना पूरा हुन्छ । मुलुकमा देखिएका समस्याको समाधान हुनेछन् ।’

आफूले कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने पुनम बताउँछिन् । तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले कृषिलाई केन्द्रमा राख्ने उनको भनाइ छ ।

राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्ने पुनमको जनस्तरसम्म पुर्‍याउन योगदान छ । मेडिकल बायोलोजीमा स्नातकोत्तर पुनम रहेक क्षेत्रका विकृतिलाई हटाउन राजनीतिमा पाइला चालेको बताउँछिन् । 

‘२०४६ सालमा प्रजातन्त्रको पुन:स्थापना भएदेखि नै राजनीतिक क्षेत्र अस्थिर रूपमा गुज्रिँदै जानुको परिणाम राज्यको हरेक ठाउँमा विभिन्न विकृतिले जरो गाड्दै जान थालेकाले हो’, उनी भन्छिन्, ‘अब रास्वपाको सरकार बन्दैछ । एक पटक जनताले देशको मुहार फेर्न र सुधारका लागि रास्वपालाई जनताले पूर्ण विश्वास गर्नुभएको छ । अब हामी जनताको विश्वासलाई कामबाट देखाउन चाहन्छौं ।’

पुनम यसअघि हुने भनिएको रुपन्देही–३ को उपनिर्वाचनको आकांक्षी समेत थिइन् । तर, जेनजी आन्दोलनपछि आमनिर्वाचन घोषणा भएसँगै उपचुनाव भएन ।

रास्वपाले यसअघि हुने भनिएको उपनिर्वाचनका बेला उम्मेदवार छान्दा होस् वा समानुपातिक उम्मेदवार छान्दा किन नहोस्, उनले साढे दुई वर्षकी छोरी बोकेर दौडिरहिन् । सुत्केरी अवस्थामा समेत उनले पार्टी राजनीतिलाई केन्द्रमा राखिन् । यही कारण पनि पार्टीभित्र र बाहिर उनको लोकप्रियता बढिरहेको थियो ।

रास्वपाले समानुपातिक उम्मेदवार छान्न देशभरका कार्यकर्ता सहभागी हुन पाउने गरी आन्तरिक मतदान गरेको थियो । जसमध्ये मधेशी महिला उम्मेदवारमा अग्रवालले सर्वाधिक १४ हजार ७४५ मत पाएर पहिलो बनेकी थिइन् । 

लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेकी पुनम पार्टीले अघि सारेका एजेन्डा, पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को कुशल नेतृत्व र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणले गर्दा रास्वपालाई जनताले विश्वास गरेको दाबी गर्छिन् । 

उनी भन्छिन्, ‘म पार्टीको सिपाही थिए । सँगै अहिले सांसद पनि बनेकी छु । मैले शुरूआतदेखि नै सोहीअनुसार काम गर्दै आएकी छु ।’ 

विगतमा विभिन्न मेडिकल कलेजमा पढाएको अनुभव रहेकी उनी प्रस्ट वक्ताको रूपमा समेत परिचित छन् । उनले राष्ट्रिय स्तरका सम्मान समेत पाइसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्