
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो ।
दुर्गा नेपाली सांगीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोताबीच स्थापित नाम हो । खासगरी- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ दुर्गाको स्वरमा लोकप्रिय बनेको गीत हो ।
दाजु बद्री खरेल र दुर्गा खरेलको सांगीतिक जोडी बद्री-दुर्गाको नामले चिनिँदै आएको छ । यसपल्ट भने दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडी लिएर आएका छन् । कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जने छन् ।
संगीतकार गोपाल योञ्जनको सामिप्यमा हुर्किएका दुर्गाले सानो छँदा अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जन लगायतका अनेकौं स्वनामधन्य सर्जकका सृजनाको रसास्वादन गर्न पाए ।
गीतकार नरदेन रुम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जुर्यो । उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए । जसमा गीत संगीतका सर्जकहरू अम्बर गुरुङ, गोपाल योञ्जन, बलु बराइली, एम.बी. सुन्दास, नरदेन रुम्बा, फटिकधर ब्राम्हण आदिका रचनाहरू समेटिएका छन् ।
यसपालिको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘स्वरांकित हुन नपाएका पुराना सांगीतिक रचनाहरूलाई सम्बर्द्धन गर्नु पनि पलेँटीको उद्देश्य हो । त्यही भएर यसपालिको पलेँटीमा दुर्गा खरेलको स्मृतिमार्फत् दार्जिलिङका पुराना सृजनालाई समेट्ने प्रयास गरेका छौँ ।’
पहिलोपल्ट सन् २००८ मा पलेँटी कसेको सम्झना गर्दै दुर्गा खरेल भन्छन्- ‘यसभन्दा पहिले दुईचोटी हामी आफ्नो संगीतमा विभिन्न गीतकारका गीतहरू लिएर उपस्थित भएका थियौं । यसपल्ट भने मेरो वैयक्तिक सम्झनामा रहेका दार्जिलिंगे संगीतकारका गीतहरू लिएर पलेँटीमा प्रस्तुत हुँदैछु । यो कार्यक्रम मेरो जीवनका अत्यन्तै महत्त्वपूर्ण कार्यभित्र पर्छन् । पहिलेझैँ यसपल्ट पनि दर्शक, श्रोताको माया पाउनेमा पूर्ण विश्वास छ ।’
पलेँटी कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार; २७ र २८ तारिख; शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
'आर'सालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था गरिएको छ । त्यसका निम्ति पलेँटीको वेबसाइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।