
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान क्रमशः घटाउँदै लैजाने विषयमा विचार भइरहेको बताएका छन् ।
शनिबार इरान र इजरायलबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा इरानी सञ्चारमाध्यमहरूले नतांजस्थित परमाणु समृद्धिकरण केन्द्रमा आक्रमण भएको जनाएका छन् ।
यही बेला ट्रम्पले सामाजिक सञ्जालमार्फत एक टिप्पणी जारी गर्दै अमेरिका आफ्ना लक्ष्य नजिक पुगेको दाबी गरेका छन् । उनले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरु मार्गको सुरक्षा अब अन्य देशहरूले जिम्मा लिनुपर्ने उनको भनाइ छ । उक्त जलमार्ग लगभग बन्द हुने अवस्थामा पुग्दा विश्व ऊर्जा संकटको खतरा बढेको छ ।
युद्ध चौथो सातामा प्रवेश गर्दा ट्रम्प र उनको प्रशासनबाट अमेरिकी उद्देश्यबारे मिश्रित सन्देशहरू आएका छन्, जसले पारम्परिक अमेरिकी सहयोगीलाई प्रतिक्रिया जनाउन कठिन बनाएको छ ।
२४ घण्टाभित्रै ट्रम्पले एकातर्फ इरानको खतरा कम हुँदै गएको भन्दै युद्ध अन्त्यतर्फ लैजान सकिने संकेत दिएका छन् भने अर्कोतर्फ अमेरिकी मरीन फौजसँगै सैनिक उतार्न प्रयोग हुने विशेष जल–सैन्य सवारी युद्ध भइरहेको क्षेत्रतर्फ पठाइएका छन्, जसको उद्देश्य स्पष्ट छैन ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, ‘इरानको आतंकवादी शासनसँग सम्बन्धित मध्यपूर्वमा हाम्रो सैन्य प्रयास क्रमशः घटाउने विषयमा विचार गरिरहेका बेला हामी आफ्ना लक्ष्य पूरा गर्ने निकै नजिक पुगेका छौं ।’
उनले थपेका छन्, ‘होर्मुज जलडमरु मार्गको सुरक्षा त्यसको प्रयोग गर्ने अन्य देशहरूले गर्नुपर्छ- संयुक्त राज्य अमेरिका होइन । आवश्यक परे हामी सहयोग गर्नेछौं, तर इरानको खतरा समाप्त भएपछि त्यो आवश्यक नपर्न सक्छ ।’
नतांज परमाणु केन्द्रमा आक्रमण
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युद्ध विस्तार हुन सक्ने संकेतप्रति अमेरिकी नागरिकहरू पनि चिन्तित देखिएका छन् ।
इरान तथा छिमेकी खाडी राष्ट्रहरूको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि तेलको मूल्य ५० प्रतिशतसम्म बढेको छ, जसले विश्व आर्थिक संकटको जोखिम बढाएको रोयटर्सले जनाएको छ ।
ट्रम्पले नाटो सहयोगी राष्ट्रहरूलाई युद्धबारे परामर्श नगरिएको भन्दै होर्मुज जलडमरु मार्ग खुलाउन सहयोग नगरेकोमा ‘डरपोक’ व्यवहार देखाएको आरोप समेत लगाएका छन् ।
युद्ध जारी रहँदा इरानी सञ्चारमाध्यमहरूले शनिबार बिहान अमेरिकी–इजरायली सेनाले शाहिद अहमदी–रोशन नतांज समृद्धिकरण केन्द्रमा आक्रमण गरेको बताएका छन् ।

प्राविधिक विज्ञहरूले रेडियोधर्मी चुहावट नभएको र आसपासका बासिन्दा जोखिममा नरहेको बताएका छन् । इजरायलले भने यस्तो आक्रमणबारे जानकारी नभएको जनाएको छ ।
इजरायलले बेरुतमा पनि आक्रमण गर्दै इरान समर्थित हिज्बुल्लाहलाई लक्षित गरेको जनाएको छ । मार्च २ मा हिज्बुल्लाहले तेहरानको समर्थनमा इजरायलमाथि आक्रमण गरेपछि यो युद्धको सबैभन्दा घातक विस्तार मानिएको छ ।
शनिबार इजरायलले तेहरान, राजधानीपश्चिमको कराज र इस्फहानमा पनि आक्रमण गरेको जनाएको छ । रामसार शहरमा एक आवासीय भवनमा भएको आक्रमणमा एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेबनानमा आक्रमण गर्नुअघि इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरका सात क्षेत्रमा खाली गराउन चेतावनी दिएको थियो । दक्षिणी लेबनानमा चार जना हिज्बुल्लाह लडाकु मारिएको, जसमा एक जना स्थल युद्धमा र तीन जना ट्यांक आक्रमणबाट मारिएको इजरायलले जनाएको छ ।
इजरायली आक्रमणमा लेबनानमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
इजरायलमा बिहानैदेखि साइरन बज्दा मिसाइल आक्रमणको चेतावनी दिइएको थियो र लाखौं मानिस शरणस्थलमा पुगेका थिए । तत्काल मानवीय क्षतिको विवरण भने आएको छैन ।

इरानले हिन्द महासागरस्थित अमेरिकी–ब्रिटिश सैन्य आधार डिएगो गार्सियातर्फ दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरे पनि लक्ष्यमा नलागेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
युरोपमा ग्यास मूल्य तीव्र वृद्धि
इरान–इजरायल आक्रमणका कारण युरोपका महत्त्वपूर्ण ग्यास पूर्वाधार प्रभावित भएपछि यस साता प्राकृतिक ग्यासको मूल्य ३५ प्रतिशतसम्म बढेको छ । युरोपेली संघले माग नियन्त्रण गर्न भण्डारण लक्ष्य घटाउने र क्रमशः पुनः भण्डारण शुरू गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको फाइनान्सियल टाइम्सले जनाएको छ ।
विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरल ग्यास आपूर्ति हुने होर्मुज जलडमरु मार्ग अधिकांश जहाजका लागि प्रभावकारी रूपमा बन्द भएको छ ।
अमेरिकाका युरोपेली सहयोगीहरू, जापान र क्यानडाले जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक प्रयासमा सहभागी हुने बताएका छन् । तर जर्मनी र फ्रान्सले पहिले युद्ध रोक्नुपर्ने स्पष्ट पारेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी समाचार संस्था क्योदोसँग कुरा गर्दै जापानसम्बद्ध जहाजहरूलाई जलमार्ग प्रयोग गर्न अनुमति दिन तयार रहेको बताएका छन् । जापानको करिब ९० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुन्छ ।

आपूर्ति बढाएर मूल्य घटाउने प्रयासस्वरूप ह्वाइट हाउसले ३० दिनका लागि इरानी तेलमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ, जसबाट करिब १४ करोड ब्यारेल तेल बिक्री गर्न सकिनेछ । यसअघि पनि रुसको तेलमा यस्तै सहुलियत दिइएको थियो ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिक्रिया
मुस्लिमहरूले ईद उल-फित्र र इरानीहरूले नौरोज पर्व मनाइरहेका समयमा इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले चुनौतीपूर्ण सन्देश दिएका छन् ।
सार्वजनिक रूपमा नदेखिएका खामेनीले इरानीहरूले एकता र प्रतिरोधका साथ शत्रुलाई अव्यवस्थित बनाउने प्रहार गरेको दाबी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नौरोजको अवसरमा इरानी नेतृत्वलाई शुभकामना दिँदै मस्को इरानको भरपर्दो साझेदार रहेको बताएका छन् ।
तर इरान–रुस सम्बन्धमा सहयोगको स्तरबारे विवाद रहेको छ । केही इरानी स्रोतहरूले १९७९ को इस्लामिक क्रान्तिपछि सबैभन्दा ठूलो संकटका बेला मस्कोबाट पर्याप्त सहयोग नपाएको बताएका छन् ।