
संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनावका बीच व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार निन्दा गरेका छन् ।
इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले युएईको रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले त्यसप्रति गम्भीर चासो देखाएका हुन् ।
“हामीले पहिले घोषणा गरेका थियौँ र व्यवहारमा प्रमाणित गरेका छौँ, हाम्रो क्षेत्र र राष्ट्रिय सार्वभौमिकतामाथि कुनै पनि आक्रमण भएमा प्रत्याक्रमण गर्नेछौँ,” जोल्फाघारीले भने ।
रस अल–खैमाह एक औद्योगिक बन्दरगाह शहर हो । उनले भने, “यदि इरानको अबु मुसा टापु र फारसको खाडीमा रहेको ग्रेटर टुन्बमाथि बारम्बार आक्रमण भयो भने इरानको सेनाले रस अल–खैमाहलाई कडा प्रहार गर्नेछ ।”
संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्यान्ड, चेकिया, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
‘स्ट्रेट अफ हर्मुज’ को सम्भावित अवरोधसहित हालैका घटनाक्रमले विश्वव्यापी व्यापार र ऊर्जा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, “हामी इरानलाई धम्की, बारुदी सुरुङ ओछ्याउने गतिविधि, ड्रोन तथा क्षेप्यास्त्र आक्रमण र स्ट्रेट अफ हर्मुज रोक्ने प्रयास तत्काल बन्द गर्न आग्रह गर्छौँ ।”
यसैबीच, युएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शनिबार इरानबाट प्रक्षेपण गरिएका तीन ब्यालेस्टिक मिसाइल र आठ ड्रोनलाई अवरोध गरेको जनाएको छ ।
आक्रमण सुरु भएयता युएईको हवाई प्रतिरक्षाले ३४१ ब्यालेस्टिक मिसाइल, १५ क्रुज क्षेप्यास्त्र र एक हजार ७४८ ड्रोन सामना गरिसकेको मन्त्रालयले जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानसहित इरानका विभिन्न शहरमा संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता अली खामेनीसहित सैन्य कमान्डर र सर्वसाधारणको ज्यान गएको थियो भने भौतिक संरचनामा क्षति पुगेको थियो ।
बदलामा इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सैन्य आधार तथा सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृंखला सुरु गरेको थियो । यो द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई गम्भीर असर पारेको छ ।