
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी १५ औं महाधिवेशनतर्फ अघि बढिसकेको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनको गाडी अगाडि बढिसकेको र अब नरोकिने बताए ।
आफूले सभापतिका रूपमा बिनाकुनै पूर्वाग्रह सबैलाई भेटेर महाधिवेशन गराउने बताए ।
‘को विशेष महाधिवेशनमा आएको, को नआएको यसको हिसाब हुनेछैन । सभापतिका रूपमा सबै नेताहरूलाई समेटेर लैजाने मेरो प्रयास हुनेछ । विशेष महाधिवेशन एउटा विशेष परिस्थितिमा भएको थियो । अब नियमित महाधिवेशनको गाडी अगाडि बढ्यो, रोकिँदैन’, थापाले भने ।
उनले विशेष महाधिवेशन सही थियो कि थिएन भन्ने नियमित महाधिवेशनले नै निर्णय गर्ने पनि बताए ।
थापाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको प्रस्तावित कार्यतालिका पनि प्रस्तुत गरेका छन् ।
प्रस्तावित कार्यतालिका अनुसार जस अनुसार यही चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता फारम सबै तहमा पुर्याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने उल्लेख छ ।
यस्तै, २०८३ वैशाख १ गतेदेखि मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ ।
प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्ने, सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड वितरण गर्ने र वैशाखभरि वडामा एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने कांग्रेसको प्रस्ताव छ ।
जेठ १ देखि १५ सम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा क्रियाशील सदस्यता विवरण बुझाउनुपर्नेछ ।
कार्यतालिका अनुसार क्षेत्र र जिल्लाले इन्ट्री गरेर जेठ २५ गतेसम्म सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरि केन्द्रमा पठाउने अवधि पनि जेठ मसान्तसम्म प्रस्ताव गरिएको छ ।
प्रस्तावित कार्यतालिका अनुसार असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरि टुंगो लगाउने भनिएको छ ।
जस अन्तर्गत प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र विवाद र सदस्य भएका स्थान पहिचान गरि सदस्यता रुजु तथा अध्ययन गर्ने एवं अन्तिम टुंगो लगाउने भनिएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई असार १५ सम्म बुझाइसक्नुपर्नेछ ।
यसैगरी, साउन ६ गते वडा अधिवेशन गर्ने, साउन १२ गते गाउँपालिका, नगरपालिका अधिवेशन गर्ने र साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने भनिएको छ ।
यसैगरी, साउन ३० गते क्षेत्रीय अधिवेशन, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने गगनको प्रस्ताव गरिएको छ ।
सभापति थापाले बैठकमा प्रस्ताव गरे अनुसार कांग्रेसको १५ औं महाधिवेशन भदौ २४, २५ र २६ गते काठमाडौंमा हुनेछ । उनले महाधिवेशनमा सहभागी हुन सबै नेता, कार्यकर्तालाई अनुरोध पनि गरे ।