२४ जेठ २०८३, आइतबार
फेक रेस्क्युमा नयाँ खुलासा

नेपालकै बेइज्जत गराउने घटना, अस्पतालदेखि हेली कम्पनीसम्मको मिलेमतोमा 'लुट' !

चैत १०, २०८२
काठमाडौं

हेलिकप्टर कम्पनीहरूको मिलेमतोमा हिमाली क्षेत्रमा पदयात्राका क्रममा पर्यटकलाई जबर्जस्ती स्वास्थ्य समस्या देखाएर चार्टर्ड फ्लाइटमा उद्धार गरी रेस्क्यू फ्लाइट भन्दै बिमा रकम हत्याउने गरेको पाइएको छ ।

पर्यटक उद्धारको नाममा बिमा रकम दाबी गर्दै गैरकानूनी रूपमा आर्थिक लाभ लिन रेस्क्यू कम्पनी र अस्पतालले धन्दा चलाइरहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  सीआईबी) ले लामो अनुसन्धानपछि केही यस्ता तथ्य बाहिर ल्यायो, जसले यहाँ वर्षौंदेखि अवैध रूपमा करोडौं रुपैयाँ असुली गर्दै आए, तिनको होसहवास उडेको छ ।

माउन्टेन रेस्क्यू सर्भिस प्रालि, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट प्रालि र नेपाल चार्टर्ड सर्भिस प्रालिको कर्तुत सीआईबीले बाहिर ल्याइदिएको छ ।

यी रेस्क्यू कम्पनीसँग मिलेर काठमाडौंका प्रतिष्ठित मानिएका एरा इन्टरनेसनल हस्पिटल, स्वाकोन इन्टरनेसनल हस्पिटल र श्रीद्धि इन्टरनेसनल हस्पिटलले उपचारका नाममा बिमा रकम हत्याउन फर्जी डकुमेन्ट बनाएको पाइएको छ ।

जबर्जस्ती बिरामी बनाइएका पर्यटकले आफ्ना देशमा रहेका कम्पनीमा गरेको बिमा बापतको रकम अमेरिकी डलरमा रेस्क्यू कम्पनीका खातामा ल्याउने गरेको देखिन्छ ।

सीआईबीको अनुसन्धानबाट हालसम्म बिरामी भनिएका पर्यटकबाट बिमाबापत एक करोड ९६ लाख ९८ हजार दुई सय ७९ अमेरिकी डलर रेस्क्यू कम्पनीको खातामा गएको देखिन्छ ।

अचम्मको कुरा त, रेस्क्यू कम्पनीहरूले विमानस्थलको ओरिजिनल रेकर्डलाई समेत तलमाथि पारेको पाइएको छ ।

मनाङ एयरका क्याप्टेन पी चौलागाईँ र अल्टिच्युट एयरका क्याप्टेन आनन्द थापाको हस्तारक्षरलाई समेत कीर्ते बनाएर यी कम्पनीहरूले कागजात तयार गरेको देखिन्छ ।

उद्धारक संस्थाहरूले पर्यटकलाई बिरामी बनाउन उनीहरूको खानामा बेकिङ सोडा मिसाउने, दूषित पानी मिसाउने र सडेगलेको खानेकुरा खुवाउने गरेको पाइयो । पर्यटकहरूलाई स्वाभाविकरूपमा औषधि सेवन गराएर शरीरमा पानीको मात्रा कम गराई लेक लाग्ने जस्ता लक्षणहरू कृत्रिम रूपमा उत्पन्न गराउने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

सामान्य टाउको दुखेका बिरामीलाई समेत गाइडहरूले उद्धार नगरे ज्यान जान सक्छ भनी तर्साएर जबरजस्ती हेलिकप्टर चार्टर्ड गर्न बाध्य पारेको देखिन्छ ।

रेस्क्यू मापदण्ड अनुसार एउटा हेलिकप्टरमा एकजना मात्रै बिरामी ल्याउनुपर्नेमा चार/पाँच जनाले चाटर्ड गरेको हेलीमा छुट्टा–छुट्टै उडान गरेको भन्दै पूर्ण बिमा शुल्क असुली गरेको पाइएको छ ।

बढीमा चार हजार अमेरिकी डलर पर्ने उडानको १२ हजार डलरसम्मको नक्कली बिल बनाएर रेस्क्यू कम्पनी र अस्पतालले बिमा रकम असुलीका लागि पठाउने गरेको पाइएको छ ।

अचम्म त के छ भने रेस्क्यू कम्पनीहरूले कहिले काहीँ उडान नै नगरी फरक तथा कीर्ते व्यहोराको उडान म्यानिफेस्टो र लोड सीट तयार पारेर रेस्क्यू फ्लाइट गराएको देखाइएको छ ।

पर्यटकको स्वास्थ्यमा खेलबाड गर्न अस्पतालले सामान्य अवस्थालाई पनि अत्यन्त जोखिमपूर्ण देखाउन अक्सिजन लेभल ५०–५१ प्रतिशत मात्र रहेको भनी झुटो विवरण तयार गरेको देखिन्छ ।

बिमा रकम हात पार्न आवश्यक नभएका महंगा परीक्षणहरू सीटी स्क्यान, एमआरआई र अनावश्यक रूपमा आईसीयूमा भर्ना गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।

माउन्टेन रेस्क्यू र एभरेस्ट एक्सपिरियन्सबाट नक्कली उद्धार भई आएका विदेशी पर्यटकको उपचारबापत स्वाकोन अस्पतालले एक अर्ब तीन करोड ९८ लाख ३७ हजार दुई सय ६२ रुपैयाँ प्राप्त गरेको देखिन्छ ।

सीआईबीले स्वाकोन अस्पतालको बैंक खाता जाँच गर्दा बिमाबापत दाबी गरी प्राप्त रकम मध्येबाट एभरेस्टका सञ्चालक सुवास केसीले ५३ लाख ९६ हजार, यसै अस्पतालका शेयर होल्डर मुक्ति पाण्डेले ७० लाख ८९ हजार, विवेक पाण्डेले १३ लाख ७१ हजार, जयराम रिमालले दुई करोड ७५ लाख र स्वाकोनकै सञ्चालक श्याम सुन्दर कँडेलले ८१ लाख रुपैयाँ प्राप्त गरि आपराधिक लाभ लिएको तथ्य खुलेको छ ।

त्यतिमात्रै होइन, नक्कली उद्धार कार्यको उपचारबापतको बिमा रकम अस्पतालका सञ्चालकहरूले बाँडीचुँडी खाएको तथ्य सीआईबीले बाहिर ल्याएको छ ।

फेक रेस्क्यू गरिएका बिरामीको उपचार गराउने स्वाकोन अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनाको कर्तुत मैले यसअघिकै एपिसोडमा चर्चा गरिसकेको छु । उनी श्रीद्धि इन्टरनेसनल अस्पतालका समेत सञ्चालक हुन् ।

यसरी हुँदै आएको थियो संगठित अपराध

नेपाल चार्टर सर्भिस प्रालिले फेक रेस्क्यूमार्फत ल्याएका बिरामी श्रिद्धी इन्टरनेसनलमा पुर्‍याउने काम गर्दै आएको थियो ।

बिरामीको उपचार गराएको देखाएर बिमाबापत रकम असुली गर्ने यो अस्पताल ८९ जना पर्यटकबाट बिमाबापत दुई लाख १२ हजार ६८८ अमेरिकी डलर भुक्तानी लिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

एभरेस्ट एक्सपिरियन्सले पनि स्वाकोनमै बिरामी भनिएका पर्यटकलाई उपचार गराएर ७३ जनाबाट एक लाख ७० हजार ६९० अमेरिकी डलर बिमाबापत भुक्तानी लिएको देखिन्छ ।

माउन्टेन रेस्क्यूले स्वाकोन इन्टरनेसनल अस्पतालमा बिरामी पठाउने र झुटा बिल बनाएर बिमाबापत रकम असुली गर्ने गरेको देखियो ।

एभरेस्ट एक्सपिरियन्सले नियमित तथा चाटर्ड गरेर ल्याएका पर्यटकलाई पेसेन्जर कार्गो म्यानिफेस्टो र लोडसीटभन्दा फरक पारी कीर्ते कागज बनाउने गरेको देखिन्छ । एकै उडान भएका पर्यटकलाई फरक–फरक उडानबाट ल्याइएको भन्दै स्वाकोनमा उपचार गराएर रेस्क्यूबापत दुई लाख ३७ हजार ७२७ अमेरिकी डलर र १४ हजार पाँच सय यूरो बुझेको अनुसन्धानले देखाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया लगायत ३२ जनाविरुद्ध संगठित अपराध र केहीलाई सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।  

नक्कली उद्धारका गतिविधिले नेपालको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा अपमान पुर्‍याउने र होच्याउने यस्ता गतिविधिलाई रोक लगाउन सीआईबीको अनुसन्धानले बल पुग्ने देखिन्छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया ३२ जनाविरुद्ध संगठित अपराध, राष्ट्रहित प्रतिकूल काम गरेको र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेको छ । सोमबारबाट थुनछेक बहस सुरु भएको छ । हाल पक्राउ परेका ९ जना पक्राउ परेका छन् । २३ जना फरार छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्