२५ जेठ २०८३, सोमबार
प्रधानमन्त्रीको निर्देशन

मन्त्रीलाई बालेनको निर्देशनः 'काम गर्न नसके राजीनामा दिनू, अर्को मान्छे आउँछ'

चैत १३, २०८२
काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पहिलो क्याबिनेट बैठकमा मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको पहिलो बैठकमा उनले काम गर्न नसके मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका हुन् ।

बालेनले द्रुत गतिमा काम गर्न निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए । 

‘रास्वपा र मन्त्रीहरूको काम गर्ने स्पीड बढी हुन्छ‚’ बालेनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘मलाई आशा छ, तपाईंहरूले काम गर्न सक्नुहुन्छ । यदि गर्न सकिन्न भन्ने लाग्छ भने राजीनामा दिनू, अर्को मान्छे आउँछ।’ 

बालेनले सबै मन्त्रीहरू लोकसेवा पास गरेसरह रहेकाले अब्बल भएको भन्दै प्रशंसा समेत गरेको ती मन्त्रीले जानकारी दिए । 

सो क्रममा प्रधानमन्त्री बालेनले मज्जाले काम गर्न र जनसेवा तथा नागरिक सर्वोच्चतालाई आधार मान्न निर्देशन दिएका थिए ।

बालेनको भनाइ उद्धृत गर्दै ती मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रीहरूलाई निर्देशन दिँदै कानूनी बाधा र अड्चन देखाएर काम रोक्ने गल्ती नगर्न भनेका थिए ।

साथै, बालेनले गलत निर्देशन कसैको नमान्न र सही काम कुनै पनि हालतमा नरोक्न निर्देशन दिएको पनि उनले बताए ।

‘गलत निर्देशन कसैको पनि नमान्नू, कानूनलाई बाधा देखाएर काम भएन नभन्नू‚’ बालेनको निर्देशन उद्धृत गर्दै ती मन्त्रीले भने ।

काम गर्ने क्रममा कुनै कानूनले बाधा पुर्‍याए दुईतिहाइ आफूहरूसँग रहेको र तुरुन्तै कानूनी सुधार गर्ने भन्दै बालेनले कानूनी अड्चन देखाएर काम नअड्काउन निर्देशन दिएका थिए । 

‘अन्तिममा उहाँले नेपाल हाँसेको हेर्न पाऊँ भन्नुभयो‚’ ती मन्त्रीले लोकान्तरसँग भने ।

हेर्नुहोस्, भिडियो : 

salt training

कमेन्ट गर्नुहोस्