
वर्तमान सरकार गठनसँगै मुलुक नयाँ युगमा प्रवेश गरिएको आकलन गर्न थालिएको छ । हिजो शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहलाई प्रधानमन्त्री पदका लागि गराएको शपथसँगै १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेर कार्यभार सुम्पेका छन् । अब सिंहदरबारमा छरितो सङ्ख्यासँगै नयाँ जोश र जाँगर लिएर नयाँ अनुहार पुगेका छन् ।
जेनजी आन्दोलनपछि मुलुकमा अन्योलको वातावरण सिर्जना भएको थियो । सबैको मनमा अब के हुने हो भन्ने एक किसिमको भय र त्रास थियो । निर्वाचनका लागि अन्तरिम सरकार गठन भए पनि सबैका मनमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने नै थियो । यहाँसम्म कि स्वयं निर्वाचनमा भाग लिने दलहरूसमेत निर्वाचन हुन्छ भन्नेमा विश्वस्त हुन सकिरहेका थिएनन् तर, अन्तरिम सरकारले निर्धारित मितिमै भयरहित वातावरणमा निस्पक्षरूपले निर्वाचन सम्पन्न गरी दायित्व पूरा गर्यो ।
निर्वाचनमा भाग लिने दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले झण्डै दुईतिहाइ (१८२) सिटमा विजय हासिल गरी नयाँ इतिहास रच्यो । पार्टी गठन भएको करिब तीन वर्षमै यति ठूलो जीत हासिल गर्नु रास्वपाको ठूलो सफलता हो । यस निम्ति जनमानसमा पार्टीले बनाएको छवि र पार्टीमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको प्रवेशलाई विशेषरूपमा हेर्ने गरिएको पाइन्छ ।
अब मुलुकमा वषौँदेखि थिग्रिँदै आएको राजनीतिक बेथिति र विसङ्गतिको पर्खाल भत्काउँदै बलियो सरकार गठन भएको छ । नयाँ सरकारले कसरी काम गर्दछ र जनचाहनालाई केकति सम्बोधन गर्न सक्दछ त्यो त हेर्न बाँकी छ ।
तथापि राजनीतिक स्थायित्वको सङ्केत भने पक्कै गरेको छ । पहिलो कुरा त वर्तमान संविधानअनुसार कुनै पनि पार्टीले एकमना सरकार गठन सक्दैन भन्ने आम बुझाइ थियो तर, वर्तमान जनमतले त्यसलाई मिथ्या सावितमात्र गराएन जनताको मन र मत जित्न सके यही संविधानबाटै झण्डै दुई तिहाइको सरकार गठन हुन सक्दो रहेछ भन्ने पुष्टिसमेत गरेको छ ।

दोस्रो कुरा वर्तमान जनमतले जनता अब क्षेत्रीय र जातीयता जस्ता सङ्कीर्ण राजनीतिको घेरामा बस्न चाहँदा रहेनछन् भन्ने सन्देशसमेत प्रवाह भएको छ, जसको जस रास्वपा खासगरी प्रधानमन्त्री बालेन्द्र शाहले पाएका छन् । उनी मधेशका भूमिपुत्र हुन् भने काठमाडौंको नेवारी संस्कृतिमा जन्मे/हुेर्केर राष्ट्रवादलाई शिरमा राखेर हिँडेका मानिस । प्रधानमन्त्री नियुक्त भएपछि उनी शपथग्रहण समारोहमा जसरी प्रस्तुत भएका थिए र त्यतिबेला जेजस्तो झाँकी प्रस्तुत भएका थिए, तिनले पृथिवीनारायण शाहको राष्ट्रवादलाई एकपटक जुरुक्कै उठाएको अनुभव गर्न थालिएको छ ।
यद्यपि मुलुकमा धर्मनिरपेक्षता छ । संविधानत: मुलुक धर्मनिरपेक्ष राष्ट्र हो तर, समाजमा सबैले निर्वाधरूपमा आ–आफ्नो धर्मसंस्कृति र संस्कार अपनाउन पाउँछन् । नेपाल बहुजाति तथा बहुधार्मिक राष्ट्र हो, जुन पृथ्वीनारायण शाहले गरेका राष्ट्रनिर्माणसँगै नेपालको गहना बनेर रहँदै आएका छन् । वर्तमान सरकारको गठन र शपथ ग्रहण समारोहमा भएका शङ्खनाद र वैदिक स्वस्तिवाचन तथा अष्टमङ्गल पाठले त्यसैलाई थप बलियो बनाएको छ अनुभव गर्न सकिन्छ ।

शपथ ग्रहणको महिना, तिथि तथा समयले पनि सनातन मर्यादाअनुसार स्थायित्वको सङ्केत गरेको देखिन्छ । महिनामा चैत आफैँमा पूर्ण महिना हो । वर्षको १२ महिनामा बाह्रौँ महिनामा चैत नै पर्दछ । नवमी तिथिले पनि पूर्णताकै सङ्केत गरेको छ । किनभने एकल अङ्कमा नौ नै पूर्ण अङ्क हो । नौ अघिका अङ्कले अर्को अङ्कको अपेक्षा राखेको हुन्छ भने नौपछिको अङ्कलाई पूर्ण हुन अर्को अङ्क वा शून्यको आवश्यकता पर्दछ ।
पहाडा गणनामा जोडफल नौ नै आउने अङ्क पनि नौ नै हो । नौबाहेक अन्य अङ्कमा यस्तो सम्भव हुन्न तर नौमा भने त्यस्तो चमत्कार पनि सम्भव भएको हुन्छ । जस्तो नौ एकान नौ नै भयो । नौ दुना १८ हुन्छ । यो भनेको पनि अन्तत: नौ नै हो । १+८=१८ । त्यस्तै नौ तियाँ २७ हुन्छ । यसको पनि जोडफल नौ नै आउँछ । २+७=२७ । एवंरीतले नौ दशाङ नब्बेसम्म यही नियमले काम गरेको हुन्छ । हो, दशाङमा शून्यसमेत जोडिएर आएको हुन्छ तर शून्य भनेको शून्य नै हो । ऊ एक्लै अफैँमा केही पनि होइन ।

संयोग नै मान्नुपर्छ शपथग्रहणको साइतको अङ्क पनि शिलशीलाबद्ध भएर आएको छ । जस्तो प्रधानमन्त्री बालेनले १२ बजेर ३४ मिनेटको साइतमा शप थ लिएका छन्, जहाँ एकदेखि चारसम्मको अङ्क शिलशीलाबद्ध भएर आएका छन् । त्यस्तै नौपछि लगत्तै आउने अङ्क १० हो, जसले जोर अङ्क भएर पनि शिलशीलालाई टुट्न दिएको छैन । नौ एकल अङ्कपछि शिलशीलाबद्ध भएर आउने जोर अङ्कमा १० पर्दछ । यसले पनि स्थायित्वको शिलशीलालाई सङ्केत गरेको अनुभूत गर्न सकिन्छ ।
जेहोस् मुलुकले लामो प्रतीक्षा, त्याग, सङ्घर्ष र बलिदानपछि बलियो सरकार पाएको छ । मुलुकले प्रजातन्त्र स्थापनाको करिब ३५ वर्षपछि यति बलियो सरकार पाएको यही नै पहिलो पटक हो । जनताले अब पाँच वर्षम्म ढुक्क भएर मुलुक र जनताको हितमा काम गर्ने जिम्मा नयाँ सरकारको काँधमा दिएका छन् । अब बल सरकारको कोर्टमा गएको छ । त्यसैले अब सरकारले ढुक्क भएर पाँच वर्ष काम गर्नु पनि पर्छ र गर्न पाउनु पनि पर्छ । यो र त्यो निहुँ झिकेर टाङ अड्याउने छुट कसैलाई पनि छैन र दिनु पनि हुँदैन । अन्त्यमा नवनिर्वाचित सरकारलाई बधाई तथा शुभकामना।