
गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।
सोमबार अपरान्ह गुरुङले प्रहरी मुख्यालयमा पुगेर प्रहरी संग्रहालय, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर र पोलिग्राफ सेक्सन लगायतको निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि निर्देशन दिँदै उनले भने, ‘सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको छ, आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्नुहोला ।’
प्रधान कार्यालयको अडिटोरियम हलमा प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आईजीपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिह्न लगाउने सिस्टम बनाइने बताए । उनले भने, 'नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने सिस्टम हामी बनाउँछौं ।'
गृहमन्त्री गुरुङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए ।

उनले भने, ‘आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधन स्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्नुहोला ।’
प्रहरीलाई थप साधन स्रोत युक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको समेत व्यवस्था गर्ने तयारी गृहले गरेको उनले जानकारी गराए । उनले भने, ‘प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुन्छ, सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल, प्रविधिमैत्री एवं साधन स्रोत सम्पन्न बनाउन म प्रतिबद्ध छु ।’
गुरुङले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताए । उनले भने, ‘ढुक्कले काम गर्नुस्, प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा मेरो कुनै पनि तहबाट हस्तक्षेप हुँदैन ।’
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने बताए ।
उनले भने, ‘संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धि सँगै साधन स्रोतको उपलब्धताका साथ निर्भीक भएर प्रहरीले काम गर्छ ।’
निरीक्षण कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ र प्रहरीका उच्च अधिकारीहरू सहभागी थिए ।