२४ जेठ २०८३, आइतबार
बालेन सरकारको फेरिँदो शैली

न्यायाधीश नियुक्तिको शैली नै फेरिने, न्यायपरिषद् पुनरसंरचनाको गृहकार्य

चैत १७, २०८२
काठमाडौं

बालेन शाह नेतृत्वको सरकारले न्यायाधीश नियुक्तिमा हुने राजनीतिक प्रभाव घटाउन 'न्याय परिषद्'को संरचना पुनरवलोकन गर्ने तयारी गरेको छ ।

परिषदमा न्यायाधीशहरूको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत वा बहुमत हुने गरी सुनिश्चित गर्ने तयारी भएको हो ।

'न्याय परिषद्' को संरचना र न्यायाधीश नियुक्ति प्रक्रियामा राजनीतिक प्रतिनिधित्व हावी हुँदा योग्यता र निष्ठाभन्दा दलीय निकटताका आधारमा न्यायाधीश छानिने प्रवृत्ति रहँदै आएको छ ।

न्यायाधीश नियुक्तिको वस्तुनिष्ठ मापदण्ड र 'रोस्टर' सार्वजनिक नहुँदा योग्य कानून व्यवसायी एवं कर्मचारीहरू पछि पर्ने परिपाटी देखिएको छ ।

न्याय सेवाका कर्मचारी र कानून व्यवसायीहरूबीच न्यायाधीश नियुक्तिमा उचित सन्तुलन नमिल्दा व्यावसायिक मनोबल समेत कमजोर हुन पुगेको छ ।

न्यायाधीशको कार्यसम्पादनको वैज्ञानिक र वस्तुनिष्ठ मूल्यांकन गरी सोही आधारमा पदोन्नति गर्ने पद्धतिमा कमी देखिएको छ ।

त्यसैगरी, आचरणविपरीत कार्य गर्ने न्यायाधीशहरूलाई कारबाही गर्ने प्रक्रिया राजनीतिक दबाब र प्रभावका कारण फितलो वा छनोटपूर्ण हुँदै आएको आरोप लाग्दै आएको छ ।

त्यसैले बालेन शाह नेतृत्वको सरकारले न्यायाधीश नियुक्तिमा हुने गरेको विगतको विकृतिलाई अन्त्य गर्न 'एक्सन' लिन लागेको हो ।

त्यसका लागि न्याय परिषदको संरचनालाई नै परिवर्तन गर्ने गृहकार्य थालिएको छ  । तर, त्यसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन गरेरै भएपनि न्यायपरिषदको संरचना परिवर्तन गर्ने सरकारको तयारी देखिन्छ ।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिसकेको  छ ।

समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

रास्वपाले चुनावमा जारी गरेको वाचा पत्रमा संविधान संशोधन गर्ने उल्लेख थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले पेश गरेको सुशासन मार्गचित्रको प्रतिवेदनबमोजिम सरकारले 'एक्सन' लिन लागेको हो ।

न्याय परिषदमा न्यायाधीशहरूको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत वा बहुमत हुने सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, न्यायाधीश नियुक्ति प्रक्रियालाई पूर्णरूपमा योग्यतामा आधारित र पारदर्शी बनाउन पनि सुझाव दिइएको छ ।

त्यसका लागि न्यायाधीश नियुक्ति गर्दा 'अब्जेक्सन-हियरिङ' अर्थात् गुनासो सुनुवाइसहितको अनुमानयोग्य प्रणाली लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्याय सेवाका कर्मचारी र अधिवक्ताबाट नियुक्त हुने प्रतिशत स्पष्ट तोक्नुपर्ने सुझाव दिइएको छ । र, न्याय सेवाका कर्मचारीको हकमा ज्येष्ठता र योग्यतालाई प्रमुख मानक बनाउनुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी, सर्वोच्च अदालतका न्यायाधीशका लागि सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने भनिएको छ । उच्च तथा जिल्ला अदालतमा समेत जापानको मोडल जस्तै प्रत्येक १० वर्षमा पुनर्नियुक्ति वा प्रभावकारिता परीक्षणको संवैधानिक अभ्यास शुरू गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी, अधिवक्ताबाट न्यायाधीश नियुक्त गर्दा वरिष्ठताका अलावा उनीहरूले बहस गरेका मुद्दाको संख्या, विषयगत विज्ञता र पेशागत निष्ठालाई आधारभूत मानकका रूपमा अवलम्बन गर्न सुझाव दिइएको छ ।

त्यसबाहेक विशिष्ट प्रकृतिका मुद्दाहरू जस्तै, उपभोक्ता, बाल न्याय, सूचना प्रविधिका लागि छुट्टै अदालत गठन नगरी जिल्ला अदालतभित्रै विज्ञ न्यायाधीशहरूको 'रोष्टर' बनाई विशिष्टीकृत बेञ्चबाट निरूपण गर्नुपर्ने सुझाव दिइएको छ । अहिले सर्वोच्च अदालतकै आदेशबमोजिम छुट्टै उपभोक्ता अदालत र बाल अदालत गठन भएर सुनुवाइ भैरहेको छ ।

स्थानीय न्यायिक समिति र अदालतबीचको कार्यविभाजन र क्षेत्राधिकार बाझिने अवस्थाको अन्त्य गरी स्थानीय न्याय सम्पादनलाई आधिकारिक र विश्वसनीय बनाउन कानूनमा परिमार्जन गर्न समेत प्रतिवेदनमा सुझाव दिइएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल भने पहिलो कुरा त न्यायपालिका स्वतन्त्र र न्यायाधीशले कानूनसम्मतरूपले निर्धक्कसाथ न्याय गर्नुपर्ने अवस्था हुनुपर्ने बताउँछन् । त्यसका लागि सक्षम न्यायाधीशहरूको नियुक्ति हुनुपर्ने उनी बताउँछन् ।

अहिलेको न्यायपरिषदमा राजनीतिक व्यक्तिकै बहुमत भएको हुनाले निष्पक्षतापूर्वक काम गर्ने न्यायाधीशहरू त्यहाँ पुग्न अप्ठ्यारो भएको उनले बताए ।

राजनीतिक भागबण्डाबाट न्यायाधीश नियुक्त हुने विकृति अन्त्य गर्न, न्यायपालिकाप्रतिको निष्ठा जोगाउन तथा पक्षपातबाट मुक्त हुन पनि अहिलेको न्यायपरिषदको पुनर्संरचना हुनु आवश्यक रहेको उनको कथन छ ।

अर्कातर्फ, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भने यथेष्ट अध्ययन गरेर मात्रै न्याय परिषद्को संरचना चलाउनुपर्ने बताउँछन् ।

सबैभन्दा पहिले न्यायिक क्षेत्रका मानिसहरू, कानुनी क्षेत्रका विज्ञहरूलाई राखेर एउटा आयोग वा समिति गठन गर्नुपर्ने उनको सुझाव छ । सो समितिले दिने रिपोर्टको आधारमा पुनर्संरचना गर्न सकिने उनले बताए ।

परिषदमा प्रधानमन्त्रीबाट नियुक्त हुने एक विज्ञ, नेपाल बारबाट एक विज्ञ र कानून मन्त्री गरी तीन सदस्यलाई कसरी राख्ने भन्ने प्रश्न उठेको उनले बताए ।

प्रधानमन्त्रीबाट जाने विज्ञ र कानून मन्त्री दुइटै एकै प्रकृतिको भएको उनको तर्क छ ।

संविधानको धारा (१५३) मा न्याय परिषदको प्रावधान छ । संविधानको धारा १५३ को उपधारा (१)मा न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिश गर्न वा परामर्श दिन न्याय परिषद रहने उल्लेख छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा उक्त न्यायपरिषद रहने गरेको छ । संघीय कानून तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश १ जना, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा नियुक्त गरेको एकजना कानूनविद, नेपाल बार एसोसिएसनको सिफारिशमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्तासहित ४ जना सदस्य रहने प्रावधान छ ।

न्याय परिषदले न्यायाधीश नियुक्तिका साथै कुनै न्यायाधीशको सम्बन्धमा पर्ने उजुरीसँग सम्बद्ध मुद्दाको अध्ययन गरी प्रतिवेदन पेश गर्न सक्छ ।  कतिपय अवस्थामा उजुरीको प्रारम्भिक छानबिन गर्दा विशेषज्ञबाट विस्तृत छानबिन गर्नुपर्ने देखिएमा परिषदले जाँचबुझ समिति नै पनि गठन गर्छ ।

महाअभियोगको कारबाहीबाट पदमुक्त हुनसक्ने न्यायाधीशबाहेक अन्य न्यायाधीशले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेमा न्यायपरिषदले अनुसन्धान गरी कानूनबमोजिम मुद्दा समेत चलाउन सक्ने संवैधानिक अधिकार न्यायपरिषदलाई प्राप्त छ ।

त्यसैगरी, न्याय परिषदले संविधानबमोजिम सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधीश र उच्च अदालतका मुख्य न्यायाधीश पदमा नियुक्त हुन योग्यता पुग्ने व्यक्तिहरूको अद्यावधिक अभिलेख तयार गर्नुपर्ने समेत उल्लेख छ ।

तर, विगतको अभ्यास हेर्दा हरेकपटक न्यायपरिषदले गर्ने  न्यायाधीशको नियुक्ति विवादरहित हुनसकेको छैन ।

न्यायपरिषदमा रहने पदाधिकारीहरूको भागबण्डाबाट आ-आफू निकटका व्यक्तिलाई छनोट गर्ने गरेको पाइएको छ ।

अदालतमा हुने भ्रष्टाचारबारे समेत सुझाव

अदालतका कर्मचारी र बिचौलियाको सेटिङमा मुद्दाको पेशी र इजलास प्रभावित पार्ने 'बेन्च शपिङ' को समस्या निर्मूल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

न्यायाधीश र उच्च अधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक जानकारीमा नरहेको तथा  स्वतन्त्र छानबिनको दायरामा नआएकाले वित्तीय जवाफदेहिता कमजोर हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

न्यायाधीशहरूको स्वार्थ बाझिने मुद्दाहरूमा अलग हुनुपर्ने स्पष्ट कानूनी कार्यविधिको अभाव हुनुलाई पनि समस्याको रूपमा लिइएको छ ।

अदालतको आन्तरिक बजेट खर्च, भौतिक पूर्वाधारका ठेक्कापट्टा र सूचना प्रविधि खरिदमा हुने खर्चहरूको सार्वजनिक लेखापरीक्षणमा पहुँचको कमी हुनुलाई पनि प्रतिवेदनमा समस्याको रूपमा लिइएको छ ।

न्याय सम्पादनमा हुने ढिलासुस्ती र अनियमिततालाई प्रणालीमार्फत 'ट्रयाकिङ' गरी जिम्मेवारलाई उत्तरदायी बनाउने स्वचालित संयन्त्र नहुनुलाई अर्को समस्याको रूपमा लिइएको छ ।

गोलाप्रथालाई विस्थापन गरी 'अल्गोरिदम' मा आधारित स्वचालित पेशी व्यवस्थापन प्रणाली लागूगरी बिचौलिया र 'बेन्च सपिङ' को सम्भावना पूर्ण रूपमा अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ ।

न्यायाधीश र उच्च पदाधिकारीहरूको सम्पत्ति विवरणको स्वतन्त्र निकायबाट नियमित छानबिन गर्ने र शंकास्पद देखिएमा सार्वजनिक सुनुवाइ वा कारबाहीको दायरामा ल्याउनुपर्ने भनिएको छ ।

न्यायाधीश र कर्मचारीको आचरण अनुगमन गर्न 'निरीक्षण महाशाखा' लाई शक्तिशाली र स्रोतसम्पन्न बनाई न्यायिक सुशासनमा शून्य सहनशीलताको नीति अपनाउनुपर्ने भनिएको छ ।

'कोर्ट-युजर ग्रीभेन्स सिस्टम' लागू गर्न र वार्षिक प्रतिवेदनलाई केवल विवरणात्मक नभई सुधारका सूचकहरू मापन गर्ने 'रिफर्म स्कोरकार्ड' का रूपमा विकास गर्न समेत सुझाव दिइएको छ । त्यसबाहेक प्रतिवेदनमा कानून व्यवसायीहरूको विषयमा समेत धेरै सुझाव दिइएको छ ।

अधिवक्ता अनुमतिपत्र (लाइसेन्सिङ) परीक्षालाई थप प्रतिस्पर्धी र प्रविधिको प्रयोगसहित व्यावसायिक दक्षता सुनिश्चित गर्ने गरी परिमार्जन गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।

अधिवक्ताहरूको लाइसेन्स नवीकरणका लागि निश्चित अवधिमा 'निरन्तर कानूनी शिक्षा'सम्बन्धी तालिम वा प्रशिक्षण लिनुपर्ने कानूनी व्यवस्था गर्न सुझाव दिइएको छ ।

त्यसबाहेक वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा बहस गरेको मुद्दाको संख्या, सार्वजनिक योगदान र निष्ठाको वस्तुनिष्ठ मापदण्डका आधारमा मात्र दिने प्रणाली बसाल्न सुझाव दिइएको छ ।

सर्वसाधारणका लागि वकिलको शुल्कलाई पारदर्शी र न्यायोचित बनाउन 'न्यूनतम् र अधिकतम शुल्कको मार्गदर्शन' (फी गाइडलाइन) जारी गरी लागू गर्न सुझाव दिइएको छ ।

व्यावसायिक आचरणविपरीत कार्य गर्ने वा पक्षको हितविरुद्ध काम गर्ने अधिवक्ताहरूलाई 'कानून व्यवसायी परिषद्' मार्फत कडा कारबाही र अनुमतिपत्र खारेजी प्रक्रिया प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ ।

प्रत्येक वरिष्ठ अधिवक्ता र अधिवक्ताले वर्षमा निश्चित संख्यामा असहाय र विपन्न पक्षहरूलाई निःशुल्क कानूनी सेवा (प्रो -बोनो ) प्रदान गर्नुपर्ने पद्धतिलाई अनिवार्य गर्न सुझाव दिइएको छ ।

यसरी कार्की नेतृत्वको समितिले बुझाएको सुशान मार्गचित्र २०८२ मा दिइएको सुझाव अनुसार बालेन सरकारले सुधार गर्न खोजेको हो ।

ती सबै सुधार गर्नका लागि कतिपय ऐन, कानून संशोधन गर्नुपर्ने हुन्छ भने कतिपय कुराका सुधारका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । यी सबै कुराहरू पूरा समय भने लाग्ने देखिन्छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्