
कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।
यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधा प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
कुमारी बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुरलगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न 'परम्परागत भेषभुषा' पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको छ ।
विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले 'सबैका लागि सधैंका लागि' भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।
यसका साथै बैंकले आफ्ना सम्पूर्ण शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशै भरि वर्षै भरि गर्न 'समुदायका लागि कुमारी बैंक' कार्यक्रमको थालनी गरेको छ ।
यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्ग : बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटीएम, ४१ एक्स्टेन्सन काउण्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाईमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।