
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा दाबी गर्ने जानकारी दिएको छ ।
प्रतिनिधिसभा बैठक सम्पन्न भएपश्चात् बाहिरिने क्रममा पार्टीका सांसद वर्षमान पुनले उपसभामुख पदमा आफ्नो दलको दाबी रहने बताए । यसका लागि अन्य दलसँग पनि संवाद भइरहेको पुनले बताए ।
‘उपसभामुखमा हाम्रो दाबी छ । हामी अरु दलमा कुरा गर्दैछौं‚’ उनले भने ।
यस्तै, उनले नेकपा अब सदनमा रचनात्मक प्रतिपक्षको भूमिकामा रहने पनि बताए ।
पुनले आलोचनाका लागि आलोचना मात्र नगर्ने उल्लेख गरे ।
यसअघि श्रम संस्कृति पार्टीले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने बताएको थियो ।
पार्टी अध्यक्ष हर्क साम्पाङले आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चाकर्मीसँग बोल्दै महिला उम्मेदवार बनाउने जानकारी दिएका हुन् ।
‘लोकतन्त्रमा उम्मेदवारी दिन पाइन्छ । हामी उम्मेदवारी दिन्छौं । महिला उम्मेदवार उठाउँछौं‚’ उनले भने ।