काठमाडौं उपत्यकामा प्रहरीले गुण्डा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।
गत शुक्रबार रातिदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा शुरू गरिएको अभियानअन्तर्गत काठमाडौं प्रहरीले मात्रै १८ जना कथित गुण्डा नाइकेलाई पक्राउ गरेको जनाएको छ ।
उता भक्तपुरले पनि ६० जना गुण्डा पुष्ठभूमिका व्यक्तिहरूलाई पक्राउ गरेर ‘स्क्रिनिङ’ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये अधिकांशले व्यवसायीलाई धम्क्याउने, जुवातास सञ्चालन गराउने, ‘केस मिलाइदिन्छु’ भन्दै बिचौलियाको भूमिका खेल्ने तथा स्थानीय क्षेत्रमा त्रास सिर्जना गर्ने काम गर्दै आएका थिए ।
पक्राउ परेकामध्ये प्रवीण तामाङ उर्फ ‘डिम्पल’ चर्चित हुन् । एसपी भट्टराईका अनुसार उनी श्याम लामा समूहसँग मिलेर बौद्ध क्षेत्रमा गुण्डागर्दीमा संलग्न थिए ।
त्यसैगरी, बौद्ध क्षेत्रबाट बिक्की लामा, उत्तम तामाङ, आशिष तामाङ र रवि थिङ पनि पक्राउ परेका छन् । प्रहरीको दाबीअनुसार उनीहरू स्थानीय व्यापारीलाई धम्क्याउने, लुटपाट गर्ने तथा त्रास फैलाउने गतिविधिमा सक्रिय थिए ।
कलंकी र बाफल क्षेत्रमा सक्रिय रहेको आरोप लागेका बिर्जु महर्जन, सुजन कार्की र सरु गुरागाईं पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूले बस टिकट काउन्टर, पेट्रोलपम्प तथा स्थानीय व्यापारिक क्षेत्रमा प्रभाव जमाउने प्रयास गर्दै आएका थिए ।
यस अभियानसँगै नेपालमा गुण्डागर्दी र राजनीतिक संरक्षणबीचको सम्बन्धबारे पुन: बहस शुरू भएको छ । नेपालमा एकपटक गुण्डाको आरोप लागेपछि त्यसको छवि लामो समयसम्म रहने गरेको देखिन्छ ।
अर्कोतर्फ, कतिपय व्यक्ति राजनीतिक संरक्षणमा बसेर धम्की, असुली र शक्ति प्रदर्शन गरिरहेको आरोप लाग्ने गरेको छ ।
पक्राउ परेकामध्ये युवराज गुरुङ उर्फ ‘सानुबाबु’ पनि छन् । उनी यसअघि सातपटकसम्म पक्राउ परिसकेका व्यक्ति हुन् । विगतमा उनी कुमार घैंटे समूहसँग नजिक मानिन्थे भने पछि सरिमानसिंह बस्न्यातसँग पनि जोडिएका थिए । २०७२ सालमा नुवाकोटमा हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेट लगाएको अवस्थामा भेटिएका थिए ।
यस घटनाले पुराना आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू कसरी पुन: समाजमा सक्रिय भइरहेका छन् भन्ने प्रश्न उठाएको छ ।
गृहमन्त्री सुधन गुरुङले अभियान शुरू भएपछि “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उनको भनाइले विगतमा राजनीतिक तहबाट गुण्डागर्दीलाई संरक्षण गरिएको संकेत गर्ने विश्लेषण भइरहेको छ ।
नेपालमा निर्वाचन, ठेक्कापट्टा, व्यावसायिक दबाब र राजनीतिक प्रभावका लागि गुण्डा प्रयोग हुने गरेको आरोप बारम्बार उठ्दै आएको छ ।
चुनावमा भीड जुटाउन, विरोधीलाई धम्क्याउन वा आर्थिक लाभका लागि यस्ता समूह प्रयोग हुने गरेको विश्लेषकहरूको भनाइ छ ।
यसै सन्दर्भमा चक्रे मिलनको नाम पनि चर्चामा आउने गरेको छ । उनी यसअघि पक्राउ परेका थिए । साउन महिनामा चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चक्रे मिलनले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट गोरखा–२ मा उम्मेदवारी दिएका थिए । यद्यपि उनी पराजित भएका थिए ।
प्रहरीको पछिल्लो अभियानले गुण्डागर्दी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्छ वा पुराना अनुहारलाई मात्रै लक्षित गरिएको हो भन्ने प्रश्न उठिरहेको छ ।
साथै, गुण्डागर्दीको समस्या केवल आपराधिक गतिविधिमा सीमित नभई त्यसमा राजनीति, आर्थिक स्वार्थ र संरक्षण प्रणालीको समेत भूमिका रहेको बहस पुन: सतहमा आएको छ ।