
भारत भ्रमण सकेर फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ ।
समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूसँग संवाद गर्न लामिछानेले बैठक बोलाएका हुन् । तर, बैठकमा सबै दलका शीर्ष नेताहरू भने सहभागी भएका छैनन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जनालाई आमन्त्रण गरिएको थियो ।
बैठकमा शीर्ष मानिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् । नेकपा संयोजक प्रचण्ड बैठकमा गएनन् । नेता वर्षमान पुन भने बैठकमा सहभागी छन् ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी छन् । कांग्रेस सभापति गगन थापा बैठकमा गएनन् ।
नेकपा एमालेका तर्फबाट शीर्ष नेताहरू सहभागी भएनन् । पार्टीका प्रमुख सचेतक ऐनबहादुर महर बैठकमा सहभागी छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने रास्वपाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
