३० असार २०८३, मंगलबार

अनलाइन ठगी र क्रिप्टो कारोबार गरेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ

असार २९, २०८३
काठमाडौं
अनलाइन ठगी र क्रिप्टो कारोबार गरेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ
फाइल फोटो

आकर्षक विज्ञापनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक नेपाली र चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

फेसबूकमा आकर्षक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशित गरी ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताविना नै प्रत्यक्ष (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै प्रलोभनपूर्ण प्रचार गरिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

उक्त प्रचारबाट सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरिएको भन्ने निवेदन ब्यूरोमा प्राप्त भएको थियो।

उक्त घटनाको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा संलग्न देखिएका एक नेपाली र चार जना बंगलादेशी नागरिकलाई साइबर ब्यूरोको टोलीले असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीय सुभाषकुमार मण्डल, बंगलादेशका २५ वर्षीय एमडी जुबायर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल रहेका छन्।

ब्यूरोका अनुसार उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरू अनलाइन ठगीका साथै अवैध रूपमा बाइनान्समार्फत क्रिप्टो तथा यूएसडीटी कारोबारमा समेत संलग्न रहेको देखिएको ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्