१० असार २०८३, बुधबार
‘प्रोत्साहन भत्ता’ अझै कायम

प्रदेश सचिवको तलब मुख्यमन्त्रीभन्दा बढी, अझै लिँदैछन् खरिदार सरहको अतिरिक्त भत्ता

चैत २३, २०८२
विराटनगर
प्रदेश सचिवको तलब मुख्यमन्त्रीभन्दा बढी, अझै लिँदैछन् खरिदार सरहको अतिरिक्त भत्ता

नेपालमा संघीय शासन प्रणाली कार्यान्वयनमा आएको आठ वर्ष पूरा भइसक्दा पनि प्रशासनिक संघीयता भने अझैसम्म ‘खर्चालु र स्वार्थ समूह’को घेराबन्दीमा परेको छ । जनताले संघीयताको वास्तविक प्रतिफल र सेवा पाउन नसकिरहेको जनगुनासो व्याप्त भइरहँदा, प्रदेशमा खटिएका संघीय कर्मचारीहरूले भने राज्यकोषको दोहोरो दोहन गरिरहेका छन् ।

संघबाट प्रदेशमा काम गर्न तत्कालीन समयमा ‘प्रोत्साहन’ भन्दै शुरू गरिएको अतिरिक्त सुविधा अहिले कर्मचारीका लागि कमाउने वैधानिक बाटो बनेको छ । प्रदेशमा खटिएका सचिव र सहसचिवहरूले प्रदेशमा कार्यरत रहेकै आधारमा मात्रै मासिक रूपमा लिने अतिरिक्त भत्ता एकजना राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात् खरिदारको शुरूआती तलब बराबर हुने गरेको छ ।

कोशी प्रदेशको प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वबीचको तलब सुविधामै अहिले आकाश–जमिनको अन्तर देखिएको छ । प्रदेशको कार्यकारी प्रमुख अर्थात् मुख्यमन्त्रीको तुलनामा कर्मचारीको मासिक आम्दानी र सुविधा हेर्दा चकित पार्ने खालको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विवरणअनुसार कोशी प्रदेशका मुख्यमन्त्रीको मासिक पारिश्रमिक, अतिथि सत्कार र सञ्चार सुविधा जोडेर ९५ हजार ९४५ रुपैयाँ मात्र हुन आउँछ । तर, प्रदेशको प्रशासनिक बागडोर समालेका प्रमुख सचिवले भने मासिक १ लाख १६ हजार ९८४ रुपैयाँ बुझ्ने गरेका छन् । प्रमुख सचिव राजेन्द्रकुमार पौडेलको आधारभूत तलब ७२ हजार ८२ रुपैयाँ भए पनि उनले प्रदेशमा आएबापत खरिदारको तलब स्केल ३२ हजार ९०२ रुपैयाँ बुझ्ने गर्छन् ।

एकजना उच्च पदस्थ कर्मचारी प्रदेशमा आइदिए बापत मात्रै राज्यले उनलाई थप एकजना कर्मचारी पाल्ने बराबरको रकम बुझाउनुपरेको हो ।

कोशी प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याकंअनुसार सभामुखको मासिक पारिश्रमिक, अतिथि सत्कार र सञ्चार खर्च जोड्दा उनी मासिक ७३ हजार ५४० रुपैयाँ बुझ्छन् । सचिव सुदर्शन खडकाको तलब स्केल भने मासिक ७२ हजार ८२ हो । उनी नेपाल सरकारका पूर्वकर्मचारी हुन् । उनले ६० हजार ६१० रुपैया भने पेन्सन बुझ्छन् । पेन्सन कटाएर ११ हजार ४७२ रुपैया मासिक सुविधा, ५ हजार महँगी भत्ता, ५ हजार आतिथ्य सत्कार, सञ्चार २ हजार र थप भत्ता बापत ३२ हजार ९०२ रुपैया बुझ्दै आएका छन् । उनले पेन्सन कटाएर ५६ हजार ३७४ रुपैयाँ बुझिरहेका छन् ।

null

२०७६ साउन १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी प्रदेशमा खटिने सचिवहरूलाई थप प्रोत्साहन भत्ता दिने विवादास्पद निर्णय गरेको थियो । तत्कालीन सचिव यादवप्रसाद कोइरालाको हस्ताक्षरमा गरिएको निर्णयले संघबाट प्रदेशमा खटिने सचिव र प्रमुख सचिवहरूलाई खरिदार सरहको अतिरिक्त भत्ता दिने व्यवस्था गरेको थियो ।

कर्मचारीहरू प्रदेशमा जान नमानेपछि एक प्रकारको ‘प्रलोभन’ दिएर उनीहरूलाई त्यहाँ पठाइएको थियो । तर, संघीयता कार्यान्वयनको ८ वर्ष पुगिसक्दा र प्रदेशमा कर्मचारीहरूको संरचना व्यवस्थित भइसक्दा पनि कर्मचारीले पाएको सेवा सुविधा भने यथावत् छ ।

null

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो कार्यकालमा कर्मचारीलाई तह वृद्धि गर्नेबाहेक अन्य यस्तो कुनै निर्णय नभएको दाबी गरे ।  

शुसीला कार्की नेतृत्वको सरकारले प्रदेशका सांसदका स्वकीय सचिवहरूको सुविधा कटौती गर्ने र मन्त्रीहरूले सल्लाहकार नियुक्तिमा रोक लगाउनेजस्ता निर्णय गरेर सुशासनको एउटा सन्देश दिन खोजे पनि मासिक रूपमा अतिरिक्त सुविधा बुझ्ने सचिवहरूबारे भने केही निर्णय गरेन ।

null

एउटै तहका कर्मचारीहरूमध्ये संघबाट खटिएकाले थप सुविधा पाउने र प्रदेशमा समायोजन भएकाले नपाउने अवस्थाले कर्मचारीतन्त्रभित्र पनि गहिरो विभेद सिर्जना गरेको छ । प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरू आफूहरू दोस्रो दर्जाको कर्मचारी भएको महसुस गरिरहेका छन् । एउटै मन्त्रालयमासँगै काम गर्ने तर संघबाट आएकै आधारमा कसैले खरिदारको तलब बराबर थप भत्ता पाउने र कसैले नपाउने व्यवस्थाले कार्यक्षेत्रमा पनि असन्तुष्टि र विभाजन पैदा प्रदेशमा कार्यरत कर्मचारीहरू बताउँछन् ।

मुख्यमन्त्री कार्यालयमै प्रमुख सचिव एक जना र अन्य २ जना सचिवहरू छन् भने प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरूमा अन्य १२ जना सचिव कार्यरत छन् । यी सबैले राज्यकोषबाट मासिक रूपमा अतिरिक्त भत्ता लिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्