२३ असार २०८३, मंगलबार

स्थगित लिग–२ क्रिकेट शृंखलाको नयाँ मिति घोषणा, नेपालको पहिलो खेल यूएईसँग

चैत २५, २०८२
काठमाडौं
स्थगित लिग–२ क्रिकेट शृंखलाको नयाँ मिति घोषणा, नेपालको पहिलो खेल यूएईसँग

मध्य–पश्चिममा सृजित असहज परिस्थितिका कारण स्थगित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको आगामी शृंखला अप्रिल चौथो साता नेपालमा शुरू हुने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने उक्त शृंखलामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानको सहभागिता रहने छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृंखलाको पहिलो खेल नेपाल र यूएईबीच अप्रिल २५ तारिखमा खेलिने छ । शृंखलाको दोस्रो खेल अप्रिल २७ तारिखमा ओमान र यूएईबीच हुनेछ ।

यो शृंखला यसअघि नै आयोजना हुने तय भए पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेपछि शृजित असहज अवस्थाका कारण शृंखला स्थगित भएको थियो ।

लिग २ प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।

यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।

यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।

salt training

कमेन्ट गर्नुहोस्