अमेरिका-इजरायल-इरान युद्ध अस्थायी युद्धविराममा पुगेर तत्काललाई थामिएको छ । तर, त्यसअघि बितेका १२ घण्टा भने अत्यन्तै त्रासदीपूर्ण र अनिश्चितताले भरिएका थिए ।
वाशिङ्टन समयअनुसार साँझ ६:३२ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका र इरानबीच शान्ति सम्झौताको प्रयास अन्तिम चरणमा पुगेको घोषणा गरे । त्यससँगै उनले दुई साताको युद्धविराममा सहमति जनाए ।
तर, यो घोषणाभन्दा केही समयअघि ट्रम्पले निकै कडा चेतावनी दिएका थिए । उनले तोकेको समयभित्र सम्झौता नभए 'एउटा सभ्यता नै समाप्त हुने' भनेर धम्क्याएका थिए । सो अभिव्यक्तिले विश्वभर त्रास फैलियो । यसअघि पनि उनले इरानलाई 'ढुंगेयुगमा फर्काउने' चेतावनी दिँदै आएका थिए ।
ट्रम्पको अभिव्यक्तिलाई कतिपयले आणविक आक्रमणको संकेतका रूपमा व्याख्या गरे । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले एटम बम खसालेको घटनासँग तुलना समेत गरियो । यद्यपि, ट्रम्पको संकेत मुख्यतः इरानका ऊर्जा र यातायात संरचना ध्वस्त पार्ने दिशामा केन्द्रित थियो ।
यसबीच इरानभित्र भने फरक दृश्य देखियो । सम्भावित आक्रमणको त्रासका बीच सर्वसाधारण नागरिकहरू पुल र पावर प्लान्टहरूमा मानव साङ्ग्लो बनाएर उभिए । युद्धविरामको घोषणा नभएसम्म उनीहरू त्यहाँबाट टसमस भएनन् । देशको झण्डा बोकेर उभिएका नागरिकहरूको तस्वीरले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्यो ।
उता, पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच अनौपचारिक संवाद जारी रहेको थियो । अन्ततः दुवै पक्ष दुई साताका लागि युद्धविराम गर्न सहमत भए ।
यो सहमति ट्रम्पका लागि पनि एक प्रकारको ‘बच्ने बाटो’ बनेको विश्लेषण गरिएको छ ।
उनका अगाडि युद्धलाई थप चर्काउने वा पछि हटेर विश्वसनीयता गुमाउने दुई विकल्प थिए । अस्थायी युद्धविरामले उनलाई तत्कालका लागि दुवै जोखिमबाट जोगाएको देखिन्छ ।
युद्धविरामका लागि केही शर्तहरू पनि तय गरिएका छन् । इरानले हर्मुज जलमार्ग खुला राख्ने सहमति जनाएको छ, यद्यपि उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहने दाबी उसले गरेको छ ।
यस घोषणाको प्रभाव विश्व बजारमा तत्काल देखिएको छ । कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झरेको छ भने विश्व शेयर बजारमा सुधार आएको छ ।
यसले तत्कालका लागि ठूलो खतरा टरेको संकेत गरेको छ ।
तर, मुख्य प्रश्न भने अझै अनुत्तरित छन् । के ट्रम्पको कडा धम्कीले इरानलाई झुक्न बाध्य बनायो ? तर, तथ्यहरूले त्यता संकेत गर्दैनन् ।
तर, यति भने देखिएको छ कि अमेरिकी राष्ट्रपतिबाट आएको यस्तो आक्रामक अभिव्यक्ति असामान्य मानिएको छ र यसले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा असर पार्ने चिन्ता व्यक्त गरिएको छ ।
अमेरिकाभित्रै पनि ट्रम्पको अभिव्यक्तिको आलोचना भएको छ ।
डेमोक्र्याट नेताहरूले यसलाई अस्वीकार्य भनेका छन् भने केहीले उनलाई नेतृत्वका लागि अयोग्यसम्म ठहर गरेका छन् । ट्रम्पकै पार्टीभित्र पनि मतभेद देखिएको छ ।
अमेरिकाको दाबीअनुसार इरानको सैन्य क्षमता कमजोर भएको र उसका केही शीर्ष नेताहरू मारिएका छन् ।
यद्यपि, इरानको परमाणु कार्यक्रम र क्षेत्रीय प्रभावबारे अझै स्पष्टता छैन ।
इरानले आफ्ना शर्तहरू पनि अघि सारेको छ । उसले अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने, आर्थिक प्रतिबन्ध हटाउनुपर्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।
साथै, हर्मुज जलमार्गमा पूर्ण नियन्त्रण नछाड्ने तर आवतजावत सहज बनाउने जनाएको छ ।
यी शर्तहरू अमेरिकाले जस्ताको त्यस्तै स्वीकार गर्ने सम्भावना भने कम देखिएको छ ।
अबको दुई साता अमेरिका र इरानबीचको सम्बन्धका लागि निर्णायक हुने अपेक्षा गरिएको छ । कडा वार्ताको सम्भावना रहे पनि समाधानको बाटो सहज नदेखिएको विश्लेषण भइरहेको छ ।
हालका लागि युद्ध टरेको देखिए पनि यो स्थायी समाधान होइन । यो केवल अस्थायी विराम मात्र हो ।
दीर्घकालीन असर र विश्व राजनीतिमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा भने आगामी दिनहरूले नै स्पष्ट पार्नेछन् ।
हेर्नुहोस्, भिडियो :