ललितपुरमा ‘रङ नम्बर’बाट शुरू भएको विवादले दुई युवाको ज्यान लिएको छ ।
बुधबार ललितपुर महानगरपालिका– १२ स्थित कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहारबाट दुई दाजुभाइको मृत्यु भएको हो ।
झापाको कमल गाउँपालिका–६ घर भई हाल महालक्ष्मी नगरपालिका इमाडोल बस्दै आएका सुमित नेम्वाङ आफ्ना भाइ सृजन र केही साथीसहित बुधबार साँझ मंगलबजार क्षेत्रमा पुगेका थिए ।
त्यतिबेला सुमितले एक साथीलाई फोन गर्ने क्रममा गलत नम्बर डायल गरेका थिए । फोन ललितपुर महानगरपालिका– ९ भोलढोका बस्ने सञ्जीव नेपालले उठाएका थिए ।
फोनमा दुवैबीच भनाभन भयो । त्यसपछि सञ्जीवले सुमितलाई ‘कहाँ छस् ?’ भनेर सोधेका थिए ।
सुमितले कृष्ण मन्दिरमा रहेको बताएपछि सञ्जीव ‘म त्यहीँ आउँदैछु’ भन्दै साथी गगन सुनारसँग स्कुटरमा कृष्ण मन्दिर परिसर पुगेका थिए ।
प्रहरीका अनुसार त्यहाँ पुगेपछि सुमित र सञ्जीवबीच सामान्य कुराकानी भइरहेका बेला विवाद बढ्दै हात हालाहालको अवस्था सिर्जना भएको थियो । त्यसक्रममा सञ्जीवले आफूले बोकेको चक्कुले सुमितको पेटमा प्रहार गरेका थिए ।
दाइलाई चक्कु प्रहार गरिएको देखेपछि भाइ सृजन उनलाई बचाउन पुगे । तर, सञ्जीवले सृजनमाथि पनि पेट र घाँटीमा चक्कु प्रहार गरेका थिए ।
त्यहाँ नजिकै भीड जम्मा भइसकेको थियो । तर, कसैले बचाउने हिम्मत गरेनन् । बरु भिडियो खिचेर बसे ।
गम्भीर घाइते भएका दुवैलाई तत्काल ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएको थियो । चिकित्सकले बेलुका साढे ८ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार भएका सञ्जीवलाई प्रहरीले खोजी तीव्र बनाएको थियो । सम्भावित नाकामा सुरक्षा कडा पारिएको थियो । एक होटलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बेला सञ्जीवसँगै रहेका गगन सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना क्षणिक आवेग र उत्तेजनाका कारण भएको देखिएको छ । उनका अनुसार रङ नम्बरबाट शुरू भएको विवादले हत्या जस्तो गम्भीर रूप लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका सञ्जीव यसअघि पनि झैझगडामा संलग्न हुने गरेको देखिएको छ ।
मृतक सुमित स्नातक तह उत्तीर्ण गरिसकेका थिए भने सृजनले प्लस टु पूरा गरेका थिए । उनीहरूका बुवा देव बिहीबार जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए । परिवारका अनुसार सुमित केही दिनमै बेलायतमा रहेकी आमालाई भेट्न जाने तयारीमा थिए ।
प्रहरीले मृतकका बुवा देवको जाहेरीका आधारमा सञ्जीव नेपाल र गगन सुनारविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
हेर्नुहोस्, भिडियो: