
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिनमा तानिएका छन् । अनियमित तरिकाले औषधिको मूल्यवृद्धि गरिएको विषयमा उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै छानबिन समिति बनाएर सात दिनभित्र पेश गर्न भनेको छ । 'औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी यस कार्यालयमा उजुरी प्राप्त भएकाले सो विषयमा के सो भएको हो ? औषधिको मूल्य निर्धारण प्रक्रिया के हो ? उक्त प्रकिया पूरा गरी काम भएको हो होइन ? औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नतामा भएको हो ? सो समेतका सम्पूर्ण विषय समेत खुलाउने गरी मन्त्रालयबाट विषयगत विज्ञको संलग्नतामा तीन सदस्यीय छानबिन समिति गठन गरी यस कार्यालयलाई साता ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशानुसार अनुरोध छ,' पत्रमा भनिएको छ ।
प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाएको भनि प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संसद्मै औषधिको अनधिकृत मूल्य वृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँ रुपैयाँको आर्थिक भार खेप्नुपरेको भन्दै यसमा संलग्नहरूमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका थिए ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्रान्डका औषधिको मूल्य बढाएको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका थिए ।